आईसीसी पुरुष टी–२० विश्वकप छनोट : प्रारम्भिक चरणको बन्द प्रशिक्षणका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष टी–२० विश्वकपको एसिया–प्यासिफिक क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताका लागि तयारी क्याम्प शुरू गर्न आइतबार ३२ सदस्यीय टोलीको घोषणा गरेको छ ।
टोलीमा अनुभवीसँगै युवा खेलाडीलाई पनि स्थान दिइएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार, घोषित टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, अनिल साह र आसिफ शेख रहेका छन् ।
यसैगरी, टोलीमा लोकेश बम, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, सन्दीप लामिछाने, प्रतीस जीसी, ललितनारायण राजवंशी र गुलशनकुमार झालाई पनि समावेश गरिएको छ ।
यसैगरी, टोलीमा रूपेशकुमार सिंह, बसिर अहमद, साहब आलम, युवराज खत्री, किरण ठगुन्ना, सागर ढकाल, आकाश चन्द, विवेककुमार यादव, आदिल अन्सारी, पवन सर्राफ, सन्दीप जोरा, शेर मल्ल, शुभ कंसकार, अर्जुन घर्ती र कमलसिंह ऐरीले पनि स्थान पाएका छन् ।
आईसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ । छनोट प्रतियोगिता आगामी अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।
समूह ‘बी’मा नेपालसँगै कुवेत र जापान पनि परेका छन् । प्रतियोगितामा सहभागी नौ वटा टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । समूह ‘सी’मा ओमान, पपुवा न्यू गिनी र सामोआ छन् ।
समूहगत चरणमा सहभागी सबै टोलीले एक–अर्कासँग एक/एक खेल खेल्नेछन् । अन्तिम चरणको छनोट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल अक्टोबर ८ तारिखमा कुवेतसँग खेल्नेछ । नेपाली टोलीले आफ्नो दोस्रो खेल अक्टोबर १० तारिखमा जापानसँग खेल्नेछ ।
प्रारम्भिक चरणको खेलपछि प्रत्येक समूहबाट दुई टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर–६’ चरणका ६ टोलीलाई एउटै समूहमा राखेर प्रतिस्पर्धा गराइने छ । त्यसपछि अंक तालिकाको माथिल्लो तीन स्थानमा रहने टोली आगामी विश्वकपमा छनोट हुनेछन् ।
आईसीसी टी–२० विश्वकपको १०औं सँस्करण सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । उक्त विश्वकपमा २० वटा टोलीले सहभागिता जनाउने छन् । त्यसमध्ये १५ टोलीको टुंगो लागिसकेको छ ।
भारत र श्रीलंकाले आयोजकका रुपमा सन् २०२६ को टी–२० विश्वकप खेल्नेछन् । अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज भने अघिल्लो सँस्करणमा गरेको प्रदर्शनका आधारमा सन् २०२६ को विश्वकपमा छानिएका हुन् ।
आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान सन् २०२४ जुन ३० सम्मको आईसीसी वरीयताका आधारमा आगामी विश्वकपमा स्थान बनाउन सफल भएको हो । क्यानडा अमेरिकी क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा छनोट भएको हो ।
युरोपबाट इटाली र नेदरल्यान्ड्स छनोट भइसकेका छन् । अब एसिया तथा प्रशान्त क्षेत्रबाट तीन र अफ्रिका क्षेत्रबाट दुई टोली विश्वकपमा छनोट हुन बाँकी छ । नेपालले हालसम्म दुईपटक टी–२० विश्वकप खेलिसकेको छ ।
तपाईको प्रतिक्रिया