राजेन्द्र लिङ्देनको प्रश्न- प्रधानमन्त्रीको सुशासन आयोग कहाँ हरायो ?

सोमबार असार ३०, २०८२/ Monday 07-14-25
Paschim Today

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (रााप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले अघि सारेको सुशासनको नारा ‘छट्टु स्यालको कथा’ बनेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको सुशासन आयोगको अवस्था के भएको हो भन्ने प्रश्न उठाउँदै सरकारमाथि गम्भीर प्रश्न खडा गरे । ‘कता छ प्रधानमन्त्रीको सुशासन आयोग ? आज जनता र देशले त्यसलाई खोजिरहेको छ,’ उनले भने ।

लिङ्देनले पछिल्ला दिनमा मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएको विवरण सार्वजनिक भइरहे पनि कुनै नैतिक जबाफदेहिता नदेखिएको भन्दै असन्तुष्टि जनाए ।

‘यदि नैतिकता छ भने, यदि सुशासनप्रति अलिकति पनि प्रतिबद्धता छ भने मन्त्रीहरूको राजीनामा आउनुपर्ने हो कि होइन ?’ उनले प्रश्न गरे । 

सरकारको प्रवृत्तिप्रति आक्रोश पोख्दै उनले भने, ‘राजावादीलाई तह लगायौँ, गणतन्त्र विरोधीलाई तह लगायौँ भनेर डंका पिटेर जनतालाई भ्रममा पारिएको त ‘छट्टु स्यालको कथा’ पो रहेछ । चिल आयो, चिल आयो भन्ने अनि तल चल्ला टिप्नेजस्तो भयो ।’

लिङ्देनले सत्ता गठबन्धनका दुई ठूला दलले मिलेर मन्त्रिपरिषद् बसेर देश लुटिरहेको आरोप लगाए ।

‘जनताको ध्यान एकातिर लगाएर, सरकार मन्त्रिपरिषद्मा बसेर दुई ठूला ठूला पार्टीहरू मिलेर देश लुटिरहेछन्, जनताले टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ, जुन कदापि सह्य छैन,’ उनले भने ।

उनले संसदमा मात्रै होइन, आवश्यकता परे सडकबाट पनि कडा प्रतिवाद गरिने चेतावनी दिए । ‘हामी संसदबाट पनि विरोध गरिरहेका छौँ, र आवश्यक परे सडकबाट पनि यसको प्रतिवाद गरिन्छ,’ उनले भने ।