सरकारले स्वीकार्‍यो स्पेन गएकाहरू उतै लुकेको घटना, प्रवक्ता भन्छन् – अनुसन्धान हुँदै छ

बुधबार श्रावण १, २०८२/ Wednesday 07-16-25
Paschim Today

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी ओली सहभागी स्पेनको कार्यक्रममा गएर नफर्किएकाहरूको विषयमा सरकारले अनुसन्धान गरिरहेको बताएका छन् ।

सिंहदरबारमा बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गुरुङले संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन स्पेन गएका केही व्यक्ति सरकारी सूचीबाहिरबाट गएको र उनीहरू नफर्किएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका केही व्यक्तिहरू उतै बस्न लागेको भन्ने आरोपलाई असत्य ठहराउँदै उनले भने, 'प्रधानमन्त्रीसँग गएको र मान्छे छोडेर आएको कुरा बत्तिसै आना गलत हो ।' यसबारे संसदमा उठेको प्रश्नको सन्दर्भमा उनले थपे, 'स्पेन भ्रमणबारे संसदमा प्रश्न उठेको थियो । प्रश्न उठाउने माननीयले आफैँ त्यसो भनेको होइन भन्ने आत्मस्वीकृति गर्नुभएको छ ।'

मन्त्री गुरुङका अनुसार प्रधानमन्त्री, राष्ट्रपति वा उपराष्ट्रपति विदेश जाँदा उनीहरूका लागि तोकिएको संख्याभन्दा बढी प्रतिनिधिमण्डल लैजान पाइँदैन । उनले भने, '२१ जनाभन्दा बढी प्रतिनिधि लैजान नपाइने व्यवस्था छ ।'