आरजु र जयवीर देखाएर ओलीले कांग्रेस तर्साइरहेको वर्षमानको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध बोल्न खोज्ने जो कोहीलाई पनि फाइल तयार पारेर तर्साउने काम गरिरहेको आरोप लगाएका छन् । शनिबार पार्टीको गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा पुनले यस्तो आरोप लगाएका हुन् ।
ओलीको चरित्रबारे लामो चर्चा गर्दै पुनले सत्तारुढ मुख्य घटक कांग्रेस पनि केही चलमलाउन खोजेको वा नेतृत्व परिवर्तनको कुरा गर्न थाल्नासाथ ओली तर्साउन खोजेको बताए । परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेता आरजु राणा देउवालाई पनि तर्साउने काम भएको उनको भनाइ छ ।
‘हेर्दै जानुस् कांग्रेस गठबन्धनबाट अलिकति चल्मलाउन थाल्यो, नेतृत्व आफैँले लिने कि भन्ने भएपछि अब आरजुका आमा छोरा (जयवीर) को पालो हो भनेर कांग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ । यो ओलीजीको तरिका हो,’ पुनले भने ।
उनले नेकपाकालमा पनि माओवादीका पुराना नेता रामबहादुर थापा बादलका छोराको फाइल तयार पारेर तर्साएरै एमाले भित्र्याएको आरोप पनि लगाए । ‘नेकपा हुँदा पनि बादलजीको छोराको फाइल तयार गरेर राख्नुभयो । लास्टमा उहाँलाई नै एमालेमा लैजानुभयो,’ पुनले भने ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक र टेरामक्स खरिदमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई तानेर ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको पुनले दाबी गरे ।
तपाईको प्रतिक्रिया