डडेल्धुरा प्रहरीमा मुद्दा संख्या बढ्दो, यौनजन्य हिंसाका घटनामा वृद्धि

सोमबार श्रावण ६, २०८२/ Monday 07-21-25
Paschim Today

डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष मुद्दा दर्ताको संख्या बढेको छ । २०७९/८० मा ९९ मुद्दा दर्ता भएकामा २०८१/८२ मा १९० वटा मुद्दा दर्ता भएका छन् । ०८०/८१ मा १२० वटा मात्र मुद्दा थिए ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार दर्ता भएका १९० मुद्दामध्ये १११ वटा मुद्दा फर्छ्यौट भइसकेका छन् । उनका अनुसार आत्महत्या र भवितव्यज्यान लगायतका मुद्दामा २ वर्ष कुर्नुपर्ने कानुनी प्रक्रिया हुन्छ ।

दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी घरेलुहिंसा, बैंकिङ कसुर, अभद्र व्यवहार, लागुऔषध कारोबार, आत्महत्या, जबर्जस्ती करणी र बाल यौनदुरुपयोग जस्ता मुद्दा देखिन्छन् ।

एक वर्षको अवधिमा घरेलु हिंसाका ४२ उजुरी आएकामा ३३ उजुरी प्रहरीबाटै फर्छ्यौट भएका छन्, बाँकी अदालती प्रक्रियामा लगिएको छ । महिला हिंसाका १४ वटा उजुरी परेकामा सबैको मिलापत्र गरिएको प्रहरीले जनाएको छ ।

 

बैंकिङ कसुरका ३२ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये २० वटा फर्छ्यौट भइसकेका छन् भने बाँकी विचाराधीन छन् । चेक बाउन्स, ऋण असुलीका केसहरू बैंकिङ कसुरमा पर्छन् । त्यस्तै, अभद्र व्यवहारसम्बन्धी २७ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये २५ मुद्दा फर्छ्यौट भइसकेका छन् । सामान्य झगडा, गालीगलौज, हातपात र सार्वजनिक स्थानमा उच्छृंखल गतिविधि गर्ने व्यक्तिहरूविरुद्ध यस्ता मुद्दा दर्ता गरिन्छन् ।

प्रहरी तथ्यांकमा देखिएअनुसार गत वर्ष मात्रै डडेल्धुरामा झुन्डिएर आत्महत्या गरेका २६ घटना दर्ता भएका छन् । सामाजिक, मानसिक, आर्थिक र पारिवारिक कारण आत्महत्याको कारक हुने गरेको प्रहरीको अनुसन्धानले देखाउने गरेको छ । यस्तै, आत्महत्यामा दुरुत्साहनसम्बन्धी ४ वटा मुद्दा दर्ता भएका छन् । मनोपरामर्श र मानसिक स्वास्थ्य सेवा नपुग्दा धेरै मानिस समस्यालाई मौनतामा गुमाउने र अन्ततः आत्मघाती कदम चाल्ने अवस्था पछिल्लो समय बढ्दो छ ।

 

 

यौनजन्य हिंसाका घटनामा पनि वृद्धि भएको देखिन्छ। जबरजस्ती करणीका ८ मुद्दा दर्ता भएका छन् । तीमध्ये ७ वटा मुद्दा फर्छ्यौट भइसकेका छन् भने १ मुद्दा अदालतको प्रक्रियामा रहेको छ । बाल यौन दुरुपयोगका ४ वटा मुद्दा गत वर्ष दर्ता भएका छन् । ‘यी संख्या केवल उजुरी परेका घटना हुन्। ग्रामीण क्षेत्रमा यौनजन्य हिंसाका घटना लुकाइने सम्भावना धेरै हुन्छ,’ प्रहरी निरीक्षक विष्ट भन्छन्, ‘पीडित बोल्न सक्ने अवस्था सिर्जना गर्न समुदायमै चेतना फैलाउनु आवश्यक छ।’

प्रहरीका अनुसार जिल्लाको भित्रीमधेश क्षेत्र आलिताल र परशुराम तथा सदरमुकामको बजारक्षेत्र अमरगढीमा बढी अपराधिक क्रियाकलाप हुने गरेका छन् । प्रहरीले पछिल्ला वर्षमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताएको छ । प्रहरी विद्यालयमा पुग्ने, टोल र समूहमा छलफल आयोजना गर्ने, महिला समूहसाग सहकार्य गर्ने, स्थानियतहसाग समन्वय गरेर सुरक्षामूलक प्रशिक्षण सञ्चालनजस्ता कार्यक्रम गरिएको प्रहरीको दाबी छ । तर, व्यवहारमा भने यी कार्यक्रमको प्रभावकारिता निकै सीमित देखिएको छ ।

जिल्लामा मानसिक स्वास्थ्य समस्या, बेरोजगारी, आपसी वैमनस्य, गरिबी र आधुनिक प्रविधिको गलत प्रयोग अपराध बढ्ने कारण बनेका छन् । स्थानीय तहमा सञ्चालित शिक्षा, स्वास्थ्य र सामाजिक कार्यक्रमहरूमा अपराध विरोधी अभिमुखिकरण अनिवार्य गरिनु आवश्यक देखिन्छ । मानसिक स्वास्थ्य, साइबर अपराध र यौनजन्य हिंसाका विषयमा विद्यालय स्तरमै पाठ्यक्रम समावेश गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।