बीपीको चिन्तन देशकै लागि मार्गदर्शन बनेको छ : देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको चिन्तन देशकै लागि मार्गदर्शन भएको बताएका छन् । बीपीको ४३औं स्मृति दिवसको अवसरमा मंगलबार बसुन्धारामा आयोजित कार्यक्रममा देउवाले बीपीको विचार र चिन्तन आज पनि उत्तिकै सान्दर्भिक भएको बताएका हुन् ।
‘बीपीको सिंगो जीवन आन्दोलन र मुलुकको निम्ति त्यागमा गुज्रियो । उहाँले विकास गर्नुभएको मान्यता कांग्रेसमात्रै होइन देशकै लागि ठूलो मार्गदर्शन हो,’ देउवाले भने, ‘राष्ट्रिय एकता, सामाजिक सद्भाव राजनीतिक स्वार्थभन्दा ठूलो हो भन्ने सन्देश उहाँले दिनुभएको छ । त्यो आज पनि उत्तिकै सान्दर्भिक छ ।’
तत्कालीन, निरंकुश पञ्चायतविरुद्ध संघर्ष गरेर बीपी नेपाल फर्किएको भन्दै देउवाले असहज परिस्थितिमा लोकतन्त्रप्रति निर्भिक उभिएका बिपीबाट सिक्नुपर्ने उनको भनाइ छ ।
‘पञ्चायतविरुद्ध संघर्ष चलिरहँदा उहाँ नेपाल फकिनुभयो । उहाँविरुद्ध ८ वटा ज्यान मुद्दा लगाइएको थियो । संगीन आरोपको पर्वाह नगरी ३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्किनभयो,’ देउवाले भने, ‘राजनीति अहिलेजस्तो सहज थिएन । कठिन दिन गुजार्दै नेपाल आजको दिनसम्म आइपुगेको हो । उहाँको बलियो कांग्रेस भए मात्रै देश बलियो हुन्छ भन्ने मार्गदर्शन आज पनि उत्तिकै सान्दर्भिक छ ।’
बीपीको राजनीतिक मात्रै नभएर साहित्यिक योगदान पनि उत्तिकै रहेको देउवाले बताए ।
तपाईको प्रतिक्रिया