‘काठमाण्डु गोर्खाज’को नयाँ लोगो सार्वजनिक

बिहीबार श्रावण ९, २०८२/ Thursday 07-24-25
Paschim Today

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि काठमाडौं गोर्खाज नयाँ रूप र रणनीतिसहित प्रस्तुत भएको छ। टोलीले नाम परिवर्तन गर्दै नयाँ लोगो सार्वजनिक गरेको छ ।

नयाँ लोगोले काठमाडौं उपत्यकाको संस्कृति र सम्पदालाई प्रतिनिधित्व गर्ने बताइएको छ। नयाँ लोगोमा काठमाडौं, भक्तपुर, ललितपुर र नुवाकोटको मिश्रणसहित डिजाइन राखिएको छ ।

गत सिजनसम्म काठमाण्डु गुर्खाज नाममा खेलेको टोलीले अब काठमाण्डु गोर्खाज (Kathmandu Gorkhas) नामले प्रतिस्पर्धा गर्नेछ। सामाजिक सञ्जालका सबै प्लाटफर्ममा पनि नयाँ नाम राखिएको छ।

काठमाडौं गत सिजन पाँचौं स्थानमा रहेर प्लेअफ खेल्नबाट वञ्चित भएको थियो । टोलीका सीइओ सुरज सिंह ठकुरीले पहिलो सिजनको प्रदर्शनका कारण भन्दा पनि परिवर्तन आवश्यक रहेकाले चेन्जेजहरू ल्याइएको बताए ।

टोलीले मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। नेपाली क्रिकेटमा नयाँ दृष्टिकोण ल्याइरहेका मोन्टीलाई साथ दिन प्रशिक्षक वसन्त शाही, टेक्निकल एनालिस्ट सुरज शाक्य र फिजियो पुरन तिरुवालाई निरन्तरता दिइएको छ। अन्य सहायक सदस्यहरू चाँडै घोषणा गरिनेछ।

टोलीका मार्की खेलाडी करण केसीले मोन्टीले नेपाली टोलीका लागि दिएको योगदान सम्झँदै यसपटक उनको प्रशिक्षणमा उपाधि जित्ने लक्ष्य रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम चाँडो सम्पन्न भए रातको समयमा खेल सञ्चालन गर्ने योजना रहेको बताए ।

गोर्खाजले हस्पिटालिटी पार्टनरको रूपमा ललितपुरको ग्वार्कोमा रहेको रोयल टुलिप काठमाडौंसँग सम्झौता गरेको छ। यो नयाँ पाँचतारे होटलले टोलीलाई सम्पूर्ण आवासीय सुविधा उपलब्ध गराउनेछ।

त्यस्तै, टोलीले वर्ल्डलिंकलाई मुख्य प्रायोजकका रूपमा अनुबन्ध गरेको छ। सम्झौताअनुसार काठमाडौं गोर्खाज एनपीएलमा खेल्दा टोलीको अग्रभागको जर्सीमा वर्ल्डलिंकको लोगो रहनेछ। टोलीका कार्यकारी निर्देशक अनुभव स्वर सिरोहिया र वल्ड लिंकका कार्यकारी निर्देशक मनोज अग्रवालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

एनपीएलको पहिलो सिजन मार्की रहेका करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई काठमाडौंले रिटेन गरेको छ।

टोलीको ट्रेनिङ पार्टनरको रूपमा थन्डर बोल्ट क्रिकेट एकेडेमी रहनेछ। जेम्स स्कुल परिसरमा रहेको यो एकेडेमीले फ्लडलाइट सुविधासहितको अत्याधुनिक पूर्वाधार विकास गरिरहेको छ, जहाँ गोर्खाजले आफ्नो तयारी गर्नेछ।