रन्जिता श्रेष्ठलाई २४ घण्टे 'अल्टिमेटम',बैठक नबोलाए थप निर्णय गर्ने चेतावनी

शुक्रबार श्रावण १०, २०८२/ Friday 07-25-25
Paschim Today

भानुभक्त आचार्य,

नागरिक उन्मुक्ति पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्ष रन्जिता श्रेष्ठलाई केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । अध्यक्ष श्रेष्ठसहितका २१ जना केन्द्रीय सदस्यमध्ये १२ जना केन्द्रीय सदस्यहरूले आज संयुक्त रूपमा बैठक बोलाउन माग गरेका हुन् ।

दिउसो १ बजे नाउपा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकले पार्टीको केन्द्रीय सदस्य बोलाउने निर्णय गरेको थियो । अध्यक्ष रन्जिता श्रेष्ठलाई पटक पटक बैठक बेलाउन आग्रह गरे पनि अध्यक्ष श्रेष्ठले बैठक बोलाउन आनाकानी गरेको बहुमत केन्द्रीय सदस्यहरूको आरोप छ । बैठक नबोलाएर ११ गते २ बजे काठमाडौँमा केन्द्रीय समितिको बैठकले थप निर्णय गर्ने उनीहरूको भनाइ छ ।

‘आजको मितिले २४ घण्टा भित्र समय स्थान तोकी केन्द्रीय समितिको बैठक बोलाउनु भएमा सो बैठकमा उपस्थित भई केन्द्रीय समितिको बैठक बसी निर्णय गर्ने र यदि उहाँले केन्द्रीय समितिको बैठक तोकिए बमोजिम नबोलाउनु भएमा ११ गतेका दिन २ बजे काठमाडौँमा केन्द्रीय समितिको बैठक बसी थप निर्णय गर्ने’ बहुमत सदस्यहरूले गरेको निर्णयमा उल्लेख गरिएको छ ।

बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई लिखित रूपमा बैठक आह्वान गर्न माग गर्ने निर्णय गरेसँगै उनलाई एउटा पत्र पनि पठाएका छन् ।