मन्त्री खड्काद्वारा कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजनाको नहर निरीक्षण

मंगलबार श्रावण १४, २०८२/ Tuesday 07-29-25
Paschim Today

कञ्चनपुर ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन तेस्रो मूल नहरको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री खड्काले आज कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको निर्माणाधीन नहरको अनुगमन तथा निरीक्षण गर्दै आयोजना समयमै सम्पन्न गर्न सरकार गम्भीर रहेको बताए ।

उनले आयोजनाको वर्तमान कार्यप्रगति सराहनीय रहेकाले तोकिएको लक्ष्य हासिल गर्न अझ प्रभावकारी रूपमा काम अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिए । निरीक्षणका क्रममा उनले महाकाली सिँचाइ आयोजना सुदूरपश्चिमको समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको आयोजना भएको बताए । “किसानको खेतमा पानी पु¥याउन सरकार पूर्ण प्रतिबद्ध छ, कुनै कमजोरी हुन दिइने छैन”, उनले भने । राष्ट्रिय गौरवको आयोजनालाई समयमा सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

टनकपुर ब्यारेजमार्फत प्राप्त पानी प्रयोग गरी सञ्चालनमा ल्याइएको उक्त आयोजनाले कञ्चनपुरको ब्रह्मदेव, मालाखेती, दोधारा–चाँदनी र त्रिभुवनवस्ती क्षेत्रका ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ ।

हालसम्म ३० किलोमिटर मूल नहर र करिब १२ किलोमिटर शाखा नहर निर्माण भइसकेको छभने करिब ६५० हेक्टर जमिनमा सिँचाइ संरचना तयार भइसकेको छ । आयोजनाको समग्र भौतिक प्रगति हाल २४.२२ प्रतिशत पुगेको छभने चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ८३.९७ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको बताइएको छ ।

निरीक्षणमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराललगायत मन्त्रालयका उच्च पदस्थ कर्मचारी र स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो ।