दशरथचन्द राजमार्ग पहिरो खस्दा अवरुद्ध
मंगलबार श्रावण १४, २०८२/ Tuesday 07-29-25
Paschim Today

बैतडी । बैतडीको पाटन नगरपालिका-४ जेउडेमा पहिरो खस्दा दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।
सोमबारदेखि लगातार भइरहेको बर्षाका कारण जेउडे मोडमा सडकमाथिबाट पहिरो खसेको र सडक अवरुद्ध भएको भुमेश्वर स्वास्थ्यचौकीका प्रमुख जगदीश विकले बताए ।
आज बिहान साढे ६ बजेतिर सडकमाथिबाट पहिरो खसेपछि सवारी साधनहरु बीचबाटोमै रोकिएका छन् । जेउडे मोडमा सडक अवरुद्ध भएपछि अहिले सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । अवरुद्ध सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको उनले बताए ।
मोड सुधारका क्रममा सडक खनेपछि जेउडेमा बेला–बेलामा पहिरो खस्ने गरेको छ । पहिरोका कारण विद्युतको पोल समेत जोखिममा रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया