कैलालीमा रहेका सिमसार क्षेत्र मासिँदै

बिहीबार श्रावण १६, २०८२/ Thursday 07-31-25
Paschim Today

धनगढी, साउन १५ गते । मानवसहित प्राणी जगतका लागि अति नै महत्त्वपूर्ण मानिने सिमसार क्षेत्र कैलालीमा मासिँदै गएको छ । सिमसारमा बढ्दो मानवीय गतिविधि र चरम दोहनले सिमसार क्षेत्र मासिँदै गएको हो । 

पछिल्लो समय धेरैजसो प्राकृतिक ताल तलैयामा डोजर लगाएर त्यसलाई आफूखुसी प्रयोग गर्ने काम भइरहेको छ । जसका कारण सिमसार संरक्षण र व्यवस्थापनमा चुनौती बढ्दै गएको छ । 

स्थानीय सरकारहरूले आफ्नो राजस्व वृद्धिका लागि ठेक्का दिएपछि वन क्षेत्रमा रहेका अधिकांश ताल तलैयामा समेत पोखरी बनाएर माछा पालनको कार्य भइरहेको छ । सवडिभिजन वन कार्यालय भजनीका वन अधिकृत लालबहादुर विकले सिमसार संरक्षण र व्यवस्थापनमा बढी नै चुनौती भइरहेको बताए । पछिल्लो समय सिमसार क्षेत्र घट्ने र सुक्खा हुनेक्रम बढ्दो रहेको उनको ठम्याइ छ । 

“सिमसार क्षेत्र व्यवस्थापन चुनौतीपूर्ण रहेकाले स्थानीय सरकार, वन कार्यालय र सरोकारवाला निकायले प्राथमिकताका साथ कार्यक्रम बनाएर अगाडि बढ्न जरुरी छ” वन अधिकृत विकले भने । 

जमिन नलुक्ने, पानी नसुक्ने सिमसिम पानी भएको दलदल क्षेत्र खोल्सा, नाला, तालतलैयालाई सिमसार भन्ने गरिन्छ । सिमसार क्षेत्रले पानीको सञ्चय गरेर जमिनभित्र पठाउने (रिचार्ज गर्ने) महत्वपूर्ण काम गर्दछ । सिमसारमा जलीय जीवदेखि लिएर विभिन्न प्रजातिका चराचुरुङ्गीको अस्तित्व निर्भर रहेको छ । 

सिमसार मानवसहित पृथ्वीका सबै प्राणीका लागि अति आवश्यक छ । तर, मान्छेबाटै चरम दोहनले सिमसारको प्राकृतिक स्वरूप र पारिस्थितिकीय प्रणाली दिनप्रति दिन बिग्रिरहेको छ ।  

चराचुरुङ्गी, जलीय जीव र रैथाने प्रजातिका लागि महत्त्वपूर्ण सिमसार क्षेत्रलाई पालिकाहरूले आम्दानीको महत्त्वपूर्ण स्रोतको रूपमा लिएका छन् । प्राकृतिक तालतलैया ठेक्का दिइएपछि ठेकेदारले आफ्नै हिसाबले पोखरी बनाएर विकासे माछा पालेर आम्दानी गरिरहेका छन् । 

सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष झुमादेवी चौधरीले सिमसार क्षेत्रहरू अब सिमसार भन्न लायक नरहेको जिकिर गरे । कैलाली लगायतका विभिन्न जिल्लामा रहेका सिमसारहरू सिमसारको परिभाषाभन्दा निकै फरक भइसकेका उनको भनाइ छ । “सिमसारबाट अब रैथाने प्रजाति हराइरहेका छन्” अध्यक्ष चौधरीले भने । 

स्थानीय सरकारले राजस्व वृद्धिका लागि प्राकृतिक ताल तलैयालाई ठेक्का दिने गरे पनि प्राप्त राजस्वलाई सिमसार संरक्षण र व्यवस्थापनमा खर्च नगरेको संरक्षणकर्मीहरूको बुझाइ छ । सामुदायिक वन समन्वय समिति भजनीका अध्यक्ष खोजराम चौधरीले सिमसार संरक्षणमा स्थानीय सरकारको लगानी शून्य रहेको जिकिर गरे । 

“पहिले सामुदायिक वन मातहतमा तालतलैया थियो । अब सबै तालतलैया स्थानीय तहले ठेक्का दिने गरेका छन्” उनले भने, “आम्दानीका लागि प्राकृतिक स्रोतलाई ठेक्का दिने गरे पनि त्यसको संरक्षणमा स्थानीय सरकारको चासो छैन ।” कतिपय तालतलैया ठेक्काको बक्यौता रकम नै पालिकाहरूले ठेकेदारबाट उठाउन नसकिरहेको चौधरीको भनाइ छ ।