हायू परिवार सिन्धुली फर्किन तयार, वडाध्यक्ष भन्छन्- कतै घर बनाएर स्थानान्तरण गर्छौं

सोमबार श्रावण २०, २०८२/ Monday 08-04-25
Paschim Today

पोखरा । पोखरा आएका हायू परिवार सिन्धुली फर्किने भएका छन् । साउन ११ गते सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट बेपत्ता भएका हायू परिवारका १९ जना सदस्य पोखरा आएका थिए ।

सबै परिवार पोखरा आएर सिन्धुली नफर्किने अडान लिएका थिए । उनीहरूलाई आज सिन्धुली फर्काउन लागिएको गोलन्जोर गाउँपालिका-६ वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । सिन्धुली फर्किए पनि उनीहरूले आफ्नो पुरानो घरमा भने फर्किने छैनन् ।

‘उहाँले आज सिन्धुली फर्किँदै हुनुहुन्छ । अहिले सामान प्याकिङ गर्दै हुनुहुन्छ । एकछिनमा पोखराबाट त्यतातर्फ लाग्छौँ,’ वडाध्यक्ष श्रेष्ठले भने ।

सिन्धुली फर्किएका उनीहरूलाई केही समय आफ्नो घरमै राख्ने वडाध्यक्ष श्रेष्ठले बताए । उनले अन्त कतै आवास बनाइदिएर स्थानान्तरण गर्ने उल्लेख गरे । उनले भने, ‘केही समय हाम्रै घरमा बस्नुहुन्छ । अन्त कतै आवास बनाएपछि त्यतै सर्नुहुन्छ ।’

सिन्धुलीबाट निर्वाचित सांसद श्यामकुमार घिमिरेले परिवारका २ जनालाई रोजगार दिलाइदिने प्रतिबद्धता जनाएको वडाध्यक्ष श्रेष्ठले बताए । यस्तै ऋण तिर्ने कुरामा पनि वडाले सहजीकरण गर्ने उनको भनाइ छ ।

हायू परिवार घरमा बच्चाबच्ची धेरै बिरामी भएको भन्दै घर नफर्किने अडानसहित पोखरा आएका थिए ।