फेरि भत्काइए १९ छाउगोठ
2025-09-01-12-07-27.jpeg)
अछाम : पञ्चदेवल विनायक नगरपालिकामा गत वर्ष असारमा छाउगोठमा सुतेका बेला मामा नाता पर्नेबाट एक किशोरी बलात्कृत भइन् । १६ वर्षीया किशोरी छाउगोठमा बलात्कार भएको घटनाले सबैलाई झट्का लाग्यो । उक्त घटना बाहिरिएपछि तातेका जनप्रतिनिधि, प्रहरी प्रशासनले छाउगोठ भत्काउन थाल्यो । केही छाउगोठ भत्काइसकेपछि फेरि उक्त अभियान सेलायो । सुनसान जस्तै भयो ।
यो वर्ष पनि छाउ बार्न घरभन्दा बाहिर त्रिपालमा बसेका एक महिला र एक बालिकाको मृत्युको घटना दोहोरियो । छाउ बार्न त्रिपाल टाँगेर बसेकी तीन जनामध्ये दुई जनाको ज्यानै गयो । पञ्चदेवल विनायक नगरपालिका— ८ बारलाको सेलापानीस्थित चुरखोली टोलमा शुक्रबार छाउ बार्न त्रिपाल टाँगेर बसेका ३९ वर्षीया नीमदेवी खनाल र ७ वर्षीया कविता भण्डारीको माथिको भिरबाट खसेको ढुंगा लागेर ज्यान गयो । ३६ वर्षीया रत्ना भण्डारी गम्भीर घाइते भएकी छिन् । उनको सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । कविता आमा रत्नासँगै सुत्न गएकी थिइन् । उक्त घटनापछि पुनः छाउगोठ भत्काउने अभियान सुरु गरिएको छ ।
घटनापछि तातेका जनप्रतिनिधि, स्थानीय, प्रहरी प्रशासन सबै मिलेर शनिबार बारलामा १९ वटा छाउगोठ भत्काइएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बारलाको तिखापातलमा ५, कुमालीकोटमा ४, सर्पामा ३, आमरुखमा २, गैरीगाउँमा २, ढुंगेबजारमा २ र नावलीमा १ गरी १९ वटा छाउगोठ भत्काइएको छ । बारलाका वडाध्यक्ष छत्रबहादुर शाहीले छाउगोठ भत्काउने कार्यमा जुटेको बताए । जनप्रतिनिधि, राजनीतिक दल, प्रहरी र स्थानीय सबैको साथमा आइतबार बिहानमात्रै ५ वटा छाउगोठ भत्काएको शाहीले बताए । उनले भने, ‘अहिले घटना भएको टोलमा पुगेका छौं । छाउगोठ भत्काएर बढीजस्तो त्रिपालमा बस्ने गरेको देखियो । कोही शौचालयमा बस्ने यस्तो स्थिति छ ।’
अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारूले छाउगोठ भत्काउन निर्देशन दिएको र नभत्काइएको पाइएमा लगत संकलन गरी मुद्दा दर्ता गरिने बताए । उनले भने, ‘छाउगोठ भत्काउन सुरु भएको छ । फेरि छाउगोठ बनाउने, छाउगोठमा बस्न बाध्य पार्नेलाई प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढ्छ । यस्ता गतिविधि गर्ने सबैलाई मुद्दा चलाइन्छ । सबैलाई मुद्दा चलाएर थुन्नै पर्छ भन्ने छैन । मुद्दाको रेकर्ड रहन्छ । राज्यबाट पाइने सेवासुविधा कटौती हुन्छ ।’ छाउगोठ भत्काउने कार्य र महिनावारी विभेदसम्बन्धी सचेतनाका कार्यक्रमहरू निरन्तर चलिरहनुपर्ने प्रजिअ सारु बताउँछन् । २०७६ मंसिर १६ गते साँफेबगर नगरपालिका–३ की पार्वती बुढा रावतको छाउगोठमा निस्सासिएर मृत्यु भएपछि छाउगोठ भत्काउने अभियानले तीव्रता पाएको थियो । सोही क्रममा जनप्रतिनिधि, प्रहरी, महिला अधिकारकर्मीलगायतले जिल्लाको १० हजारभन्दा बढी छाउगोठ भत्काएका थिए ।
महिला अधिकारकर्मी पशुपति कुँवर छाउपडि कुप्रथाविरुद्ध सार्वजनिक चेतना जगाउन जनप्रतिनिधिहरूको भूमिका सशक्त हुनुपर्ने बताउँछिन् । कुँवरले सामाजिक अभियानहरू चलाउन र यसलाई निरन्तरता दिन ठूलै दुर्घटना कुर्नुपर्ने दुर्भाग्यपूर्ण स्थिति रहेको बताइन् । उनले भनिन, ‘म हरेक पटक सबै पालिका पुगेर सचेतनाका कार्यक्रमहरू गर्नुप¥यो, छाउगोठ भत्काउने कार्य जारी राख्नुप¥यो भन्छु । केही पालिकाबाहेक कसैले पनि सुनुवाइ गरेनन् । कतिपयले पशुपतिले जहिले छाउपडीका मात्र कुरा गर्छे भनेर टार्ने गर्छन् । अभियान सञ्चालन गर्न ठूलै दुर्घटना कुर्नुपर्छ । यो ठूलो विडम्बना हो ।’
तपाईको प्रतिक्रिया