प्रधानमन्त्रीको आलोचना गर्दै बोल्ने सांसदको माइकको लाइन सभामुखले काटे

काठमाडौँ : प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरिरहेका प्रमुख प्रतिपक्षी माओवादीका एक सांसदको माइकको लाइन सभामुख देवराज घिमिरेले काटेका छन् । प्रमुख प्रतिपक्षी माओवादीकी सांसद छिरिङ ल्हामु लामा तामाङले प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्नका लागि समय पाएका थिए । सभामुखलाई आफू के विषयमा बोल्न लागेको हो भनेर सांसदले समय र विषय टिपाएका थिए ।
तर, बोल्ने क्रममा प्रधानमन्त्री ओलीको आलोचना गर्न थालेपछि सभामुख घिमिरेले पटकपटक विषयमा बोल्न निर्देशन दिए र बोलि नसक्दै लाइन काटिदिए ।
सांसद तामाङले कर्णाली प्रदेशको विकासमा प्रधानमन्त्री ओलीसँग जानकारी नरहेको र केन्द्र सरकारले आवश्यक बजेट र स्रोत साधन उपलब्ध नगराएको आरोप लगाएकी थिइन् । त्यस क्रममा सभामुखले पटकपटक बोल्न अवरोध पुर्याएका थिए ।
यस्तो थियो सांसद तामाङ र सभामुख घिमिरेबीचको दोहोरी -
सांसद तामाङ : सरकारले कर्णाली क्षेत्रका सडकमा बजेट र साधन स्रोत उपलब्ध गराउँदैन । बजेट विनियोजन गर्दा झापालाई नेपाल देख्छ तर सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो सदनबाट हामी कर्णालीबाट प्रतिनिधित्व गर्ने माननीयहरूले नेपाल भनेको कर्णालीसहितको भूगोल हो, कर्णालीको विकास नगरी समृद्ध नेपाल बन्दैन भनेर पटक-पटक भनिराखेका छौं । तर प्रधानमन्त्रीज्यूले अधुरो तथ्यको सहारा लिँदै, कार्यकर्ताको मगन्ते कुरा सुन्दै कर्णालीको विकासका बारेमा धारणा बनाएर गलत व्याख्या गर्नुहुन्छ । केही दिनअघि सिस्नोपानी नेपालले आयोजना गरेको जुरुक्क कर्णाली कार्यक्रममा...
सभामुख : माननीय सदस्य यहाँको आकस्मिक समयलाई ध्यानमा राखेर बोल्नुहोला...
सांसद : म बोल्दैछु सभामुखज्यू
सभामुख : तपाईंको जे विषयमा माग गर्नुभएको छ त्यै विषयषमा जानका लागि म तपाईंलाई निर्देशन गर्दछु ।
सांसद : म विषयमा आउँदैछु सभामुख महोदय । अब सदनको हरेक बैठकमा प्रधानमन्त्रीको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरियोस् । सभामुखज्यू स्वयंले सुन्नुभयो हाम्रा प्रधानमन्त्रीले कर्णालीका मुद्दा सदनमा उठेको देख्नुभयो । मेरो विषय आउँदैछ सभामुख महोदय, मलाई बोल्न दिनुस् । सम्माननीय प्रधानमन्त्रीज्यूले जुरुक्क कर्णालीको कार्यक्रमले उजागर गरेको विषय...
सभामुखदले बोलिरहेको माइकको लाइन काट्दै भन्छन् : माननीय सदस्य तपाईं बस्नुस् । मलाई लिएको समय र विषय मिलेन, त्यसकारण बस्नुस् ।
बोलिरहेको माइकको लाइन आफूलाई प्राप्त समय नसकिँदै सभामुखले काटेपछि सांसद तामाङ बस्न बाध्य हुन्छिन् । सांसदले आफूले टिपाएको विषय आउन लागेको भन्दा पनि सभामुखले लाइन काटेका थिए । सभामुखले सांसद तामाङलाई दुई मिनेटमा आफ्ना धारणा राख्नका लागि समय उपलब्ध गराएका थिए ।
प्रतिनिधिसभा बैठकको सुरुमा सांसदहरूले आकस्मिक समय माग गरेर बोल्ने गर्छन् । पछिल्लो बैठकयता भए गरेका घटनाबारे आकस्मिक घटनाबारे सदनलाई जानकारी दिनका लागि प्रतिनिधिसभा नियमावलीमा आकस्मिक समयको व्यवस्था गरिएको छ । तर, यो समय विवादास्पद बन्दै गएको छ ।
सभामुखले आकस्मिक समयलाई दलीय आधारमा सांसदहरूलाई उपलब्ध गराउँदै आएका छन् । आधा घण्टासम्म पनि सांसदहरूलाई आकस्मिक समय उपलब्ध गराउँदै आएका छन् । बुधबारको बैठकमा भने आकस्मिक समयमा प्रधानमन्त्रीको आलोचना गर्ने सांसदको माइकको लाइन सभामुखले काटेका हुन् । सभामुखले यसअघि आकस्मिक समयका सम्बन्धमा रास्वपाका सांसदहरू सोबिता गौतम र सुमना श्रेष्ठसँग विवाद भइसकेको छ ।
आकस्मिक समयमा बोल्नका लागि सभामुखसँग सांसदले समय माग्छन् । त्यतिबेला सभामुखले विषयवस्तुबारे पनि जानकारी लिन्छन् । तर, कतिपय अवस्थामा यो समयबारे विवाद उत्पन्न हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया