सुदूरपश्चिमको अपि हिमालमा पहिलो पटक आरोहण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको अपि नाम्पा संरक्षण क्षेत्रमा रहेको अपि हिमाल (७,१३२ मिटर) र ल्हायुल पिक (६,३९५ मिटर) मा पहिलो पटक ठुलो सङ्ख्यामा आरोहण हुने भएको छ । दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्ने अपि हिमाल सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल हो ।हजारौँ पर्यटक आरोहणको सम्भावना भएको अपि हिमालमा पर्यटकीय क्षेत्र प्रचारप्रसार, उपयुक्त मार्ग र आवश्यक पूर्वाधारको अभावका कारण ओझेलमा पर्दै आएको छ । हालै सङ्घीय सरकारले सुदूरपश्चिम र कर्णालीका ९७ हिमाल आगामी दुई वर्षका लागि शुल्क मुक्त गर्दै आरोहण खुला गर्ने निर्णय गरेको छ ।
यसै अन्तर्गत नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको सह लगानीमा सञ्चालन भइरहेको ‘दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत नेपाल पर्वतारोहण सङ्घको नेतृत्व र अपि हिमाल गाउँपालिकाको सहकार्यमा ‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स’ अन्तर्गत प्रशिक्षार्थी र प्रशिक्षकहरू आरोहणको तयारीमा गरिएको हो ।काठमाडौँमा दुई साता सैद्धान्तिक तालिमपछि अपि क्षेत्रमा दुई साता प्रयोगात्मक तालिम दिइनेछ । तालिम पूरा गरेका विद्यार्थीहरू आगामी दिनमा ट्रेकिङ पिक र अन्य हिमाल आरोहणमा माउन्टेन गाइड वा सहायक गाइडको रूपमा काम गर्नेछन् ।
तालिममा सहभागी टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँमा बिदाइ गरेका थिए । मन्त्री पाण्डेले यो अभियान सुदूरपश्चिमका लागि ऐतिहासिक भएको उल्लेख गर्दै यसले स्थानीय समन्वय र सहकार्य प्रवर्द्धन गर्ने र दुवै प्रदेशको पर्यटन विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
प्रशिक्षणका क्रममा अपि हिमाल नजिकैको ल्हायुल पिकमा १४ जना प्रशिक्षार्थीले आफैँ बाटो बनाएर आरोहण गर्ने तयारी गरिरहेका छन् । यस अभियानमा १४ जना विद्यार्थी र ६ जना प्रशिक्षक सहभागी छन् । ल्हायुल पिकको सफल आरोहणपछि प्रशिक्षकसहित ७ जनाले अपि हिमाल आरोहण गर्नेछन् । त्यसलगत्तै स्थानीय १५ जना ट्रेकिङ गाइडहरूलाई पनि माउन्टेन नेभिगेसन र क्याम्पिङको प्रशिक्षण दिइनेछ ।
यस कदमले अपि क्षेत्रजस्ता ‘भर्जिन टुरिजम डेस्टिनेसन’ को प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ । आरोही टोलीमा अपि गाउँपालिकाबाट पनि सदस्यहरू सहभागी छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस कार्यक्रमले पर्यटन सुविधा र सेवामा सुधार, सीपयुक्त पर्यटन जनशक्ति विकास र पर्यटकीय गन्तव्य प्रवर्द्धन मार्फत स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखेको जानकारी गराएका छन् ।
उनले भने– ‘यस कदमले ओझेलमा रहेको अपि हिमालको आरोहण प्रवर्द्धन र समग्र सुदूरपश्चिमको पर्यटन क्षेत्र चलायमान हुने विश्वास हामीले लिएका छौँ । यसका साथै दिगो पर्यटन विकास र स्थानीय समुदायमा पर्यटनमैत्री सेवा विस्तार र पूर्वाधार सुधारमा पनि टेवा पुग्नेछ ।
तपाईको प्रतिक्रिया