धनगढी र जोशी टाकिजका ती आँखा

कतिलाई याद छ, जोशी टाकिजका आँखा ? बडेमानको च्यानल गेट । च्यानल गेट छेक्ने पोष्टरको भित्ता । त्यसका दुबैतिर ठूला आँखा । आँखाको मध्यभागमा फलामका माछा । पहिलो नजर फिल्मका पोष्टरमा । त्यसपछि आँखामा ।
धनगढी शहर । मध्यभागमा गुल्जार जोशी टाकिज । जोशी टाकिजको त्यो युग ।
३ रुपैया २५ पैसाको सस्तो टिकट । पर्दा अघि हिरोलाई छुन मिल्ने बसाई । पाँच र सात रुपैयामा बाल्कोनी । डेस्कको बसाई । अर्धकट्टी टिकट । भित्रबाट साथीले पठायो । त्यही देखाएर भित्र पस्यो, अर्को साथी ।
कच्ची जोशी टाकिज । बेञ्चको बसाई । मिथुनको फाईट हेर्न गएकाहरु । हावाले हलको टिन खसाएर, भए घाईते ।
मनिषा कोईरालाको युगको आरम्भ । सौदागर विदाई गरेको कच्चि त्यो टाकिज । नयाँ हल । मैने प्यार किया । त्यो समय, दुई वटा मोटरसाईकलमाथि खुट्टा राखेर मधुलाई पछ्याउदै गरेका अजय देवगन । युवाको जिब्रोमा, मैने प्यार तुम्ही से किया है । कलेज पढ्ने विद्यार्थीहरुमा अजय देवगनको नशा ।
सरस्वती पूजा । मूर्तिमा भन्दा बूँदियामा ध्यान । बूँदियाको लाईन । पूजाभन्दा प्रसादको पर्खाई । बूँदियाका हरेक दाना । गजवको स्वाद ।
फोटो खिच्न जहाँ मान्छे पालो पर्खन्थे । नाम झै स्टार, त्यो फोटो स्टुडियो । सृजना नजिकै च्वाईस फोटो स्टुडियो । कहाँ त्यो यासिकाको युग । कहाँ यो मोवाईल । अनि सेल्फीको जमाना । जहाँ क्यामेरा सेल्फी भए । मान्छे सेल्फिस ।
कैलाली पुल पारी बाल मन्दिर । अगाडि खत्री स्वीट हाउस । पार्कमोडमा जिल्ला विकास समिति । त्यही अगाडि कमल मिष्ठान भण्डार । हुलाक छेउमा, गोरे गोठानीको स्वीट हाउस । नजिकै सुनसरी होटल ।
एक सरो सडक । नयाँ, पुराना सबै अनुहार पढ्ने मान्छेहरु । त्रिनगर, पञ्चोदय, धनगढी मावि, ऐश्वर्य र कैलाली बहुमुखी क्याम्पस । गुरुको डर । साईकलमा केटी । जस्ले बोक्यो । भयो हल्ला । त्यो साईकलको युग ।
पिकनिक जानु प¥यो । बुढीतोला । बान्द्रेखाल । र, गोदावरी । बेलीबटन पाईन्ट । डिंगो जुत्ता । कालो चश्मा । आफूलाई हिरो सम्झिने केटाहरु । केटीहरुका नखरै बढि । बसमा कसको छेउमा को बस्ने ? हानथाप बेग्लै ।
चाकु, चटपट । रामबाबुको चाट । पानीपुरी । खत्री स्वीट हाउस । सुनसरी होटल । गोरे गोठानी । कमल मिष्ठान । त्यही गुलाव, त्यही संगम । एक रुपैया प्लेट समोसा । एक रुपैयामा धीत मर्ने जिलेवी । टप ईन टाउनको मःम । को बिर्सिएला ?
नयाँ वर्ष । दशैं । पोष्ट कार्ड । शायरी । जुही चावला । गोविन्दा । अमिर खान । र, सलमान खानले जोडिने ती सम्बन्धहरु ।
भन्सारमा रश्मी मेडिकल । चौराहामा सरोज मेडिकल हल । पार्कमोडमा जोशी मेडिकल । नर्भिक र ग्राण्डी तिनै । सेतीका एक्ला डाक्टर । गणेश बहादुर सिंह । हात प्लाष्टर गर्ने उनै । बच्चा जन्माउने उनै । पलियामा कपुर र सक्सेनाको जगजगी ।
कामना जनरल चौराहामा । नैनादेवीमा राजभण्डार । विवाह होस वा ब्रतबन्ध । धनगढीका लागि यिनै थिए, भाट भटेनी ।
चर्चामा रातो पुल । सेतो पुल । गेटा । रातोपुलको फुच्चे पनि दादा । रातो पुलको त्यो रवाफ । न रातो पुल रह्यो । न दादा । समय र विकासले कहाँ छोड्यो । सबै निल्यो ।
युथ स्पोर्टस क्लव । बनदेवी क्लव । लाल बहादुर खड्का । ईश्वर चौधरी । तेजेन्द्र थापा । प्रकाश बिष्ट । ओहो ! फुटवलको त्यो क्रेज । न त्यो क्रेज रह्यो । न खेलाडी । खेलसंगै खेलाडी पिटिने त्यो समय ।
कम्प्लेक्समा बदलिएको । वीरेन्द्र–ऐश्वर्य पार्क । कहाँ त्यो भावना र प्रेमको युग । ईतिहास मेटेर राजा बन्ने भूत सवार भएका शासकहरु ।
कुलतमा फसेका युवा । फेन्सिडिलले बद्नाम, त्यो धनगढी । रिक्साले पनि चलेकै थियो । गाडीका पछि दौडिएका यी मान्छेहरु ।
विवाह । जन्ती । बयलगाडाको लस्कर । गाउँ थर्काउने माईक । मिथुनको जमाना । अटरिया पे लोटन कबुतर रे ।
भाइरसको डर । दुलही झै छोपिएका कम्प्युटर । फ्लपीमा अडेको त्यो युग । टेराबाईटमा पनि नअटेको यो समय ।
थारु वस्तीमा माघी । भिडिओ हेर्नेको भीड । रातभरी अनिदा वस्तीहरु । ओहो ! त्यो समय । अनि यो समय । मेसेञ्जर र ह्वाट्स एपमा घरभित्रै हराएका मान्छेहरु ।
जसको घरमा टीभी । त्यहाँ महाभारत हेर्नेको भीड । त्यो धुन । त्यो डायलग । यदा यदाही धर्मस्य । झिर झिर हुने तस्वीर । एन्टेना घुमाएर बितेको त्यो समय ।
न कसैलाई उछिन्ने दौड । न ईष्र्या । न रीस । न प्रतिस्पर्धा । को कहाँबाट आएको हो ? कसलाई मतलव । न कपट । न उछिन्ने होडवाजी । आगो पैचो मागेर बाँचेको त्यो समाज । समय ।
अचेल वाद र आस्थामा बाडिन छोडे, मान्छेहरु । अचेल धनगढीमा चुनाव आउन हुदैन् । को कहाँबाट आएको हो ? उसको भूगोलको सोधीखोजी हुन थाल्छ । गर्खा र ईलाकामा बाडिन थाल्छन्, मान्छेहरु । भेग र भूगोलको पर्खाल खडा गरिदिन्छन्, सम्बन्धमा ।
जहाँ गएपनि । जहाँ पुगे पनि । धनगढी हाम्रो पहिचान हो । धनगढीयन हुनमा गर्व गरौं । नविर्सौ । चुनावपछि पनि सम्बन्ध र जीवन छ ।
धनगढीको सडक फराकिलो भयो । तर मान्छेहरु साँघुरा भए । जातीय छुवाछुत कम हुदै गयो । भेगीय छुवाछुतमा जकडिन थाले मान्छेहरु । वर्चस्वका लागि सर्वस्व दाउमा लगाउने कस्तो नशा पलायो ।
यो सबै विर्सिएर कसलाई फर्किन मन छ, बालापनमा । कस कसलाई जान मन छ, मैन प्यार किया हेर्न ? कन्यादानको भीडमा हराउन मन छ, कस कसलाई ? भीडको टाउकोमाथि चढेर कस कसलाई हेर्न मन छ, युगदेखि युगसम्म ? कस कसलाई हेर्न मन छ, जोशी टाकिजका आँखा ?
तपाईको प्रतिक्रिया