चर्चा जेन–जीको

सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today

यतिबेला नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जाल जेन–जीमय भएको छ । जेन–जीले आज काठमाण्डौंको माईतीघरबाट एभरेष्ट होटलसम्म मार्चपास आयोजना गर्दैछ । यो उद्घोषले सत्ताको सातो गएको छ ।

जेन–जी के हो ?

सन १९९१ मा प्रकाशित क्यानडाली लेखक डग्लस कोपल्याण्डको उपन्यास, जेनरेसन एक्स ः टेल्स फर एक्सलरेटेड कल्चरमा १९६५ देखि १९८० को बीचमा जन्मिएको पुस्ता, जसलाई जेनरेशन एक्सका रुपमा परिभाषित गरिएको छ, त्यसमा त्यही पुस्ताका तीन वटा साथीको मनोविज्ञान, बैकिल्पक जीवनशैली, असन्तुष्टि र परिवर्तकारी सोचको चर्चा छ । त्यही उपन्यासपछि विभिन्न समयमा जन्मिएका पुस्तालाई एक्स, वाई र जेड बर्गमा राख्न थालिएको हो ।

सन् १९४६ देखि १९६४ सम्मको पुस्तालाई बेबी वुमर्स भनिन्थ्यो । १९६५ देखि ८० को पुस्तालाई जेनरेसन एक्स भनिन थालियो । १९८१ देखि १९९६ सम्मको पुस्तालाई मिलिनियल्स तथा जेनरेशन वाई भनियो । र, १९९७ देखि २०१३ सम्मको पुस्तालाई जेनरेशन जेड । जसलाई छोटकरीमा जेएन–जी भनिन्छ । १९९७ मा जन्मिएको शिशु अहिले २८ वर्षको भयो । २०१३ भन्दा पहिले तर १९९७ पछि जन्मिएको पुस्तालाई जेन जी भनिएकोले यो समूहमा १६ देखि २८ वर्षका युवाहरु पर्छन् । नेपालमा जेन–जीको संख्या कुल जनसंख्याको ३३ प्रतिशत रहेको छ ।

अल्फावेटका आधारमा एकपछि अर्को पुस्तालाई क्रमश : एक्स, वाई र जेड भनिएको हो । यद्यपि जेड पछिको पुस्तालाई अंग्रेजी वर्णमालाको पहिलो अल्फावेट ए ले सम्बोधन गरेर जेनरेशन अल्फा भनिएको छ । जुन २०१३ पछि जन्मिएका बच्चाहरूलाई जनाउँछ ।

सानो उमेरदेखि नै इन्टरनेट, स्मार्टफोन, र सामाजिक सञ्जालमा हुर्किएको जेन–जी डिजिटल पुस्ता हो । जो प्रविधिमा पोख्त छ ।

ग्याजेटसंगै हुर्किएको यो पुस्ताको राजनीतिमा त्यतिबिधि चासो थिएन । बस्, उसलाई कसैले डिष्टर्व नगरोस, उ यत्ति चाहन्थ्यो । एन्ड्रोईड हुदै आईफोन मोवाईलसम्म जेन–जीको सहज पहूँच भयो । यस कारण यो पुस्ता कही मोवाईल र ग्याजेटको अम्मलले कामै नलाग्ने त हुदैन, यस्तो आशंका र चिन्ता नगरिएको होईन ।

पछिल्लो दुई दशकमा विश्वमा दु्रततर गतिमा सूचना प्रविधिको विकास भयो । जेन–जीको हुर्काई र विकास नोकियादेखि आईफोन जस्तै दु्रत गतिमा भयो ।

पुरानो पुस्ताको भन्दा उसको सोच त्यस कारण पनि फरक छ । र, सोच्ने शैली आईफोनको सिरिज जस्तै । त्रिभुवन विमानस्थलमा हरेक दिन विदेशिनेको भीड । भ्रष्ट व्यवस्था । कामचोर कर्मचारी । मैमत्त शासक । अदालत र अख्तियार । तिनका निर्णय । यी सबै जेन–जीले चनाखो भएर हेरिरहेको थियो । भ्रष्टाचार, विभेद, असमानताले उसलाई घोचिरहेको थियो । तर उ चुप थियो । यतिबेला उ जागेको छ ।

दमन अति भयो भने बन्द ओठ बोल्न थाल्छन् । सामाजिक सञ्जालका प्लेटफर्ममाथि बन्देज लगाउने सरकारको निर्णयले उसलाई आहत बनायो । उ जाग्यो । उठ्यो । अव कुर्लिनेछ, शासकका विरुद्ध ।

जेन–जी पुस्ता अधैर्य छ । यो पुस्ता परिवर्तन होस वा उपलब्धी, त्यसका लागि पर्खिने पक्षमा छैन् । न त यो पुस्ता बिगतबाट जे जे हुदै आयो, त्यसलाई चुपचाप सहने पक्षमा त झन छदै छैनन् । यो पुस्ताभित्र असिमित जिज्ञासा छन् । त्यतिकै कौतुहलता पनि । र छ, सरकारप्रति आक्रोश ।

भई हाल्ला । ठिकै त छ नि । विस्तारै हुने कुरा हो । एकै पटक सबै कुरा कहाँ सम्भव छ ? के को हतार ? सुधार हुदै गएको त छ नि । जेन–जी पुस्ता यस्ता तर्कमा चुप लाग्ने पक्षमा छैन् ।

सत्तामा बसेकाहरु भन्छन्, राजाको पालामा भन्दा गणतन्त्रमा कति धेरै विकास भएको छ । जेन–जीलाई परिवर्तन तत्काल चाहिएको छ । सुधार तत्काल चाहिएको छ ।

जेन–जीले राजतन्त्र भोगेन् । त्यसैले उसलाई राजतन्त्र कस्तो थियो, थाह छैन् । तर उसलाई यो गणतन्त्र र सरकारको कार्यशैली पटक्कै मन परेको छैन् ।
उसले घरमै बसेर ग्याजेटमा अमेरिका देखेको छ । दुबई र सांघाईको विकास हेरेको छ । र, संसारभरी भएका आन्दोलनहरु, जसले शासक र व्यवस्था दुबै फाले, त्यो सबै देखेको छ ।

श्रीलंका, बंगलादेश देखेको उसले ईण्डोनेशिया देख्दैछ । जेन–जी जागेका देशमा शासकहरुले भाग्ने मौकासम्म पाएका छैनन्, विरासत र बैभव जोगाउने त परको कुरा हो ।

के चाहन्छ, जेन–जी ?

शासनमा सुधार चाहन्छ । त्यो भोलि होईन आजै । भ्रष्टाचारको अन्त्य चाहन्छ, आजै । भ्रष्टाचार निवारणका लागि गठन भएको त्यो संयन्त्र, जो सत्ताको निर्देशनमा चल्छ, त्यो संयन्त्र, जो आफ्नालाई छुदैन्, त्यस्ता संयन्त्रमा उलटपुलट चाहन्छ । त्यो पनि आजै । हो, उ भोलिवादमा विश्वास गर्दैन् ।
के के हतार ? जातीय छुवाछुत विस्तारै अन्त्य हुदैछ । भ्रष्टाचार पनि ढिलोचाँडो अन्त्य होला । विकास पनि भईरहेकै छ । यस्ता तर्कहरुसंग उसलाई घृणा छ ।

नेताका छोराछोरीको भडकिलो जीवन । विलासी दिनचर्या । त्यसलाई सुदूर गाउँको अभावमा बाँचेको युवाको जीवन दाँज्न थालिसक्यो, जेन–जी । सडकबाट सत्तामा पुगेका नेताहरुको जीवनमा तीन दशकयता भएको कायापलट र त्यसको स्रोतको खोजी गरिरहेको छ, जेन–जी । र त, शासकहरुको मात्र होईन, तिनका सन्तानहरुको पनि लवाईखवाई र जीवन शैली यतिबेला जेन–जीको निशानामा परेको छ ।

जनतालाई रेलका सपना देखाएर बयलगाडाको गतिमा विकास गरिरहेका नेताहरुलाई अव उ छुट दिने पक्षमा छैन । र, आलोपालो सत्ता चलाएर राज्यको ढुकुटीको दोहन गर्न पल्केका नेताहरुलाई जेन–जी छुट दिने पक्षमा छैन् ।

सच्चिने कि सक्किने, त्यो शासकको हातमा छ । आगे शासकको मर्जी । जेन–जीको आँधीले कसलाई कहाँ पु¥याउने हो, थाह छैन् ।