कर्मचारीको ल्यापटप र स्कुलको कम्प्युटरबाट कैलाली प्रशासनमा सेवा सुरु 

आइतबार भदौ २९, २०८२/ Sunday 09-14-25
Paschim Today

यशोदा शर्मा, धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले सेवा सुरु गरेको छ । कर्मचारीको ल्यापटप र धनगढीको एरिष्टो स्कुलले कम्प्युटर सहयोग गरेपछि आजबाट प्रशासनले सेवा सुरु गरेको हो । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशी अनुसार अहिले सम्म नयाँ नागरिकता सिफारिसका लागि दुई जना सेवाग्राही प्रशासन पुगेका छन् । 

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रशासनमा आगजनी भएको थियो । आगजनीबाट ३ वटा भवनमा क्षति पुगेको छ । प्रशासनको पुरानो भवन जलेर ध्वस्त भई भग्नावशेष मात्रै बाकि छ । आगजनीबाट विद्धुत प्रवाहमा पनि क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन । उनका अनुसार कम्प्युटर सञ्चालन गर्न अर्को भवनबाट विद्धुत तार ल्याइएको हो । 

बिस्तारै प्रशासनमा चहलपहल बढी रहेको छ । सरसफाइ पनि तीव्र रूपमा भइरहेको छ । सूचना अधिकारी जोशी अनुसार कर्मचारी, प्रहरी र जेनजी समूहको सहयोगमा सरसफाइ भइरहेको छ । उनले तत्काल सेवा सुचारु गर्न आफूहरू प्रयास गरिरहेको बताए । 
प्रशासनले स्थानीयहरूलाई सरसफाइमा जुट्न र तत्काल आवश्यक सामाग्री सहयोग गर्न समेत अपिल गरेको छ ।