प्रधानमन्त्री कार्कीको घोषणा : ६ महिनाभन्दा बढी बस्दिनँ

सोमबार भदौ ३०, २०८२/ Monday 09-15-25
Paschim Today

काठमाडौं ३० भाद्र । अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएको दुई दिनपछि आइतबार पदभार ग्रहण गरेकी सुशीला कार्कीले आफू सत्ता र पदको रसास्वादन गर्न नआएको बताएकी छिन् । आन्दोलनको आवश्यकताले प्रधानमन्त्री बनाएको भन्दै उनले प्राप्त जिम्मेवारी तोकिएको समयमै पूरा गर्ने र ६ महिनाभन्दा बढी पदमा नबस्ने घोषणासमेत गरेकी छिन् । 

‘जुन परिस्थितिमा म आएँ, कुनै रहरले आएकी होइन । सडकबाट, जताततैबाट सुशीला कार्कीलाई जिम्मा देऊ भनेर आवाज उठ्यो । मैले पनि विवश हुनुपर्‍यो,’ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यभार सम्हाल्दै उनले भनिन्, ‘हामी सत्ताको, पदको रसास्वादन गर्न आएको होइन । त्यो मेरो उमेर पनि होइन । ६ महिनाभन्दा बढी अवधि कुनै पनि हालतमा बस्दैनौँ । आफ्नो काम गरेर नयाँ आउने संसद् र मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौँ ।

यसमा यहाँहरूको साथ आवश्यक छ ।’ जेन–जीले गरेजस्तो आन्दोलन संसारमा अन्त कतै नदेखिएको भन्दै कार्कीले आफूलाई पनि अचम्म लागेको बताइन् । ‘२७ घन्टाको आन्दोलनले कायापलट गरेको मलाई थाहा छैन,’ उनले भनिन्, ‘आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, आर्थिक समानताको माग गरेको र युवाको सोचबमोजिम नै काम गर्नुपर्ने चुनौती छ ।’

प्रधानमन्त्री कार्कीले आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने निर्णयमा हस्ताक्षर गरेकी छिन् । मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ दिने निर्णय पनि गरेकी छिन् । आन्दोलनमा घाइतेलाई उपचार र राहत दिनेबारे पनि उनले निर्णय गरेकी छिन् । मृतकका परिवारको काठमाडौंमा बस्दाको खर्च व्यहोर्ने र शवलाई सम्बन्धित ठेगानामा पु¥याउन व्यवस्था मिलाउने घोषणा पनि प्रधानमन्त्रीले गरेकी छिन् । आन्दोलनबाट घाइते भएर कोही अपांगताको परिभाषामा पर्न आए उनीहरूलाई उपचारको व्यवस्था घोषणा गर्ने निर्णयसमेत भएको छ ।