सुमना श्रेष्ठलाई लक्षित अभिव्यक्तिमा रास्वपा नेता हरि ढकालले मागे माफी, भने- ‘भावावेशमा बोलेँ’

बुधबार असोज १, २०८२/ Wednesday 09-17-25
Paschim Today

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले पूर्व नेतृ सुमना श्रेष्ठलाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन्। बुधबार बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकमा उनले आफ्नो गल्ती स्वीकार्दै आत्मालोचना गरेका हुन्। केही दिनअघिको भर्चुअल बैठकमा सभापति रवि लामिछानेको रिहाइको विषयलाई लिएर श्रेष्ठ, ढकाल र गणेश कार्कीबीच चर्काचर्की परेको थियो।

उक्त बैठकमा श्रेष्ठले सभापति लामिछानेको विषयमा प्रश्न उठाएपछि ढकाल उनीमाथि आक्रामक रूपमा प्रस्तुत भएका थिए। बैठकको क्रममा ढकालले श्रेष्ठलाई लक्षित गर्दै ‘बाघको छालामा स्यालको रजाईं’ भन्ने उखान प्रयोग गरेका थिए। साथै, उनले सभापतिको विरुद्ध लाग्नेहरूलाई पार्टी छोडेर जान समेत चुनौती दिएका थिए। ढकालको उक्त अभिव्यक्तिको केही दिनपछि नै श्रेष्ठले पार्टी परित्याग गरेकी थिइन्, जसकारण पार्टीभित्रका केही नेताहरू ढकालप्रति असन्तुष्ट बनेका थिए।

बुधबारको केन्द्रीय समिति बैठकमा ढकाल आफैँले यो विषय उठाएर दुःख व्यक्त गरेको स्रोतले जनाएको छ।‘मैले भावावेशमा आएर त्यस्तो बोल्न पुगेँ’ भन्दै उनले बैठकमा क्षमायाचना गरेको स्रोतको भनाइ छ। उनको आत्मालोचनापछि अन्य नेताहरूले यस विषयमा कुनै थप टिप्पणी गरेनन्।  यसैबीच, रास्वपाको बैठकले असोज २ गतेदेखि पार्टीका नियमित गतिविधिहरू सुचारु गर्ने निर्णय गरेको छ।

साथै, जेन-जी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाहरूको सरसफाइ र पुनर्निर्माणमा सघाउने निर्णय पनि गरेको छ।