भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

बुधबार श्रावण २०, २०८३/ Wednesday 08-05-26
Paschim Today

काठमाण्डौं, २० श्रावण ।
बसन्त लम्सालको निर्माणमा बनेको पारिवारिक नेपाली चलचित्र ‘बा एक योद्धा’ आगामी भदौ १९ गते (सेप्टेम्बर ४) देखि विश्वभर एकसाथ प्रदर्शनमा आउने भएको छ ।

आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रलाई कृष्ण जन्माष्टमीको अवसर पारेर प्रदर्शनमा ल्याउन लागिएको निर्माता बसन्त लम्सालले जानकारी दिए । उनका अनुसार चलचित्रले आफ्ना सन्तानको सुखद भविश्यका लागि  जीवनभर संघर्ष गर्ने एक बुवाको त्याग, माया, पीडा र समर्पणलाई भावुक ढंगले प्रस्तुत गरेको छ ।

‘हामीले सम्पूर्ण परिवारले सँगै बसेर हेर्न मिल्ने गुणस्तरीय चलचित्र बनाउने प्रयास गरेका छौं,’ निर्माता लम्सालले भने, ‘हलसम्म पुग्ने दर्शकलाई चलचित्रले निराश बनाउने छैन भन्ने हाम्रो विश्वास छ ।’

चलचित्रको निर्देशन हरि लम्सालले गरेका हुन्। कथा तथा पटकथासमेत उनैले तयार पारेका छन् । डा. कृष्णहरि बराल, डा. राजुबाबु श्रेष्ठ र सञ्जीव थापाका शब्दमा हरि लम्सालकै संगीत रहेको छ ।

शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रको सम्पादन मित्र डी. गुरुङले गरेका छन् । कार्यकारी निर्माताको जिम्मेवारी अनिल बुढाथोकीले सम्हालेका छन् भने लाइन प्रोड्युसर अर्जुन पौडेल र सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।

चलचित्रमा दिव्यदेव पन्तले ‘बा’को भूमिकामा जीवन्त अभिनय गरेका छन् । झरना थापा आमाको भूमिकामा देखिएकी छन् भने सुहाना थापाले छोरीको पात्रलाई प्रभावशाली रूपमा प्रस्तुत गरेकी छन् । त्यसैगरी सागर खनाल र सुप्रज्ञा शर्माले छोरा–बुहारीको भूमिकामा सशक्त अभिनय गर्दै कथालाई अन्तिम दृश्यसम्म रोचक बनाएका छन् ।

दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मासहित शिशिर शिवाकोटी, अनिल बुढाथोकी, माउत्से गुरुङ, सबी थापा, चन्द्र नेपाल, कृष्णप्रसाद ढुंगाना, अञ्जन ढकाल तथा करण शाहलगायतका कलाकारको अभिनय रहेको चलचित्रमा चर्चित अभिनेत्री केकी अधिकारको समेत विशेष उपस्थिति रहेको छ ।

करिब २ करोड ७५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको चलचित्रको छायांकन काठमाडौं तथा काभ्रेको ऐतिहासिक एवं पर्यटकीय नगर पनौतीका विभिन्न स्थानमा गरिएको हो ।

झन्डै दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका बसन्त लम्साल सफल व्यवसायीसँगै गीतकार, संगीतकार र गायकका रूपमा पनि परिचित छन् । समाजसेवामा समेत सक्रिय लम्सालको निर्माणमा बनेको ‘बा एक योद्धा’ दोस्रो चलचित्र हो ।

https://www.youtube.com/watch?v=f9wW4caWrgE