जलविद्युत् बन्दै छ विदेशी मुद्रा कमाउने नेपालको भरोसायोग्य क्षेत्र

आइतबार श्रावण २४, २०८३/ Sunday 08-09-26
Paschim Today

काठमाडौं । निर्यात खस्कँदै गएको अर्थतन्त्रलाई बलियो टेको बन्दै छ, बिजुली । गत आर्थिक वर्षमा बिजुली निर्यातबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ विदेशी मुद्रा भित्रिएसँगै आशा जगाएको हो ।

२०७८ कात्तिकमा सुरु भएको विद्युत् बिक्री हरेक वर्ष बढ्दै छ । पहिलो वर्ष नै तीन अर्ब ८८ करोडको बिजुली बिक्री गरेको थियो । जुन प्रत्येक वर्ष बढ्दो छ । 

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा झण्डै ४५ अर्ब रुपैयाँको निर्यात लक्ष्य राखेको छ ।

भारत र बंगलादेशको बजारमा निर्यातको दायरा विस्तार, भारतीय बजारका लागि थप जलविद्युत् आयोजना स्वीकृत हुने अपेक्षा प्राधिकरणको छ । 

अन्तरदेशीय प्रसारण पूर्वाधारको अधिकतम उपयोगसँगै प्राधिकरणले यस वर्ष करिब ४५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य अघि सारेको जानकारी कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले दिए ।

नेपालले भारतको इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स), मध्यकालीन द्विपक्षीय सम्झौता तथा बंगलादेशसँगको त्रिपक्षीय व्यवस्थामार्फत विद्युत् बिक्री गरिरहेको छ । निर्यातसँगै  भारतीय बजारमा प्रवेश पाएका आयोजनाको संख्या पनि क्रमशः बढ्दै गएको छ । विद्युत् निर्यात नेपालको विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोतका रूपमा स्थापित हुँदै गएको प्राधिकरणको बुझाइ छ ।

कामु कार्यकारी निर्देशक श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा समयमै मनसुन सुरु भएकाले जलाशय तथा नदीमा पर्याप्त बहाव कायम रह्यो । त्यसले आन्तरिक बजारमा आयात घटाउन र निर्यात समयमै सुरु गर्न सहयोग पुगेको थियो ।

“गत आर्थिक वर्षमा हामीले २९ अर्ब ३२ करोड रुपैयाँ बराबरको विद्युत् बिक्री गर्न सफल भयौं । यो वर्ष करिब ४५ अर्ब रुपैयाँको विद्युत् बिक्री गर्ने लक्ष्य लिएका छौं,” श्रेष्ठले बाह्रखरीसँग भने ।

उनका अनुसार, हाल भारत र बंगलादेश गरी ४५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने योजना छ । बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । थप २० मेगावाट निर्यातका लागि भारतसँग प्रस्ताव पठाइए पनि प्राविधिक कारणले स्वीकृति आउन बाँकी छ ।

यस्तै ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ९७५ मेगावाट मात्रै विद्युत् निर्यात भइरहेको छ, जबकि यसको क्षमता एक हजार मेगावाट छ । थप तीनवटा आयोजना भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा स्वीकृतिका लागि पठाएको र ती स्वीकृत भए निर्यात थप विस्तार हुने श्रेष्ठको भनाइ छ । 

उनका अनुसार, बंगलादेशमा प्रतियुनिट ६.४ अमेरिकी सेन्टमा तथा भारतमा मध्यकालीन सम्झौताअन्तर्गत ५ रुपैयाँ २५ पैसा र ५ रुपैयाँ ४५ पैसा (भारतीय रुपैयाँ) मा विद्युत् बिक्री भइरहेको छ ।

हाल नेपालले भारत र बंगलादेशमा गरी ३७ वटा आयोजनाबाट स्वीकृत एक हजार २ सय मेगावाट विद्युत् निर्यात गरिरहेको छ । तीमध्ये ११ वटा आयोजना भारतको इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मार्फत विद्युत् बिक्री गर्न स्वीकृत छन् ।

आईईएक्स बिक्री भइरहेको आयोजनामा अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीको सोलु खोला (२२.८ मेगावाट), नेपाल विद्युत् प्राधिकरणका मस्र्याङ्दी (६७ मेगावाट), कालीगण्डकी–ए (१४० मेगावाट) र मिडिल मस्र्याङ्दी (६८ मेगावाट), ग्रीन भेन्चर्सको लिखु–४ (५१ मेगावाट), लिबर्टी हाइड्रोपावरको अपर दोर्दी–ए (२४.३ मेगावाट), अरुण काबेली पावरको काबेली बी–१ (२४.३ मेगावाट) छन् । 

मनाङ ट्रेड लिंकको लोअर मोदी (१९.४ मेगावाट), बलेफी हाइड्रोपावरको अपर बलेफी–ए (३४.९ मेगावाट), भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेती नदी जलविद्युत् आयोजना (२४.२५ मेगावाट) तथा सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिकको अपर तादी खोला (१०.७ मेगावाट) छन् । यी आयोजना ढल्केवर मुजफ्फरपुर प्रसारण लाइनमाफर्त निर्यात भइरहेका छन् ।

सानिगाड हाइड्रोको अपर कलङ्गगाड (३२.७ मेगावाट) र एपीआई पावरको अपर चमेलिया (३७.३ मेगावाट) भने टनकपुर–महेन्द्रनगर (टीएम) प्रसारण लाइन हुँदै भारत निर्यात भइरहेका आयोजना हुन् ।

त्यसैगरी मध्यकालीन द्विपक्षीय व्यवस्थाअन्तर्गत २२ वटा आयोजना भारतमा विद्युत् बिक्री गरिरहेका छन् । यो समूहमा हिमालयन पावर पार्टनरको दोर्दी खोला (२६.२ मेगावाट), साहस ऊर्जाको सोलु खोला (दूधकोशी) (८३.४ मेगावाट), पान हिमालयन इनर्जीको लिखु–१ (७५ मेगावाट), नेपाल विद्युत् प्राधिकरणको देवीघाट (१४.६ मेगावाट), ग्लोबल हाइड्रोपावर एसोसिएट्सको लिखु–२ (५०.९ मेगावाट), नुम्बुर हिमालय हाइड्रोपावरको लिखु खोला–ए (२८.२ मेगावाट) छन् । 

सोलु हाइड्रोपावरको लोअर सोलु (८० मेगावाट), संयुक्त ऊर्जाको ठूलो खोला (२०.७ मेगावाट), स्नो रिभर्सको सुपर काबेली खोला–ए (१३.१ मेगावाट) तथा हिल्टन हाइड्रो इनर्जीको सुपर काबेली (६.८ मेगावाट) छन् । यी आयोजना ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै निर्यात भइरहेका छन् ।

माया खोला (१४.५ मेगावाट), दोर्दी–१ खोला (११.६ मेगावाट), डाउन पिलुवा (१० मेगावाट), लोअर खारे (१०.७ मेगावाट), अपर खिम्ती (११.६), अपर खिम्ती–२ (६.८), मोदी (१४.४ मेगावाट), गण्डक (१४.६ मेगावाट), दूधकुण्ड खोला (११.६ मेगावाट), अपर सोलु (१९.२ मेगावाट), मेवा खोला (४८.५ मेगावाट) र करुवा सेती जलविद्युत् आयोजना (३१ मेगावाट) समावेश छन् । यी आयोजना भने बिहारतर्फको प्रसारण मार्ग हुँदै भारत निर्यात भइरहेका छन् ।

बंगलादेशतर्फ भने नेपालले त्रिपक्षीय मध्यकालीन सम्झौताअन्तर्गत दुई आयोजनाबाट विद्युत् बिक्री गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली (१८.६ मेगावाट) र चिलिमे जलविद्युत् कम्पनीको चिलिमे (२१.४ मेगावाट) गरी स्वीकृत ४० मेगावाट विद्युत् हाल बंगलादेश निर्यात भइरहेको छ ।

यी दुई आयोजना बंगलादेशमा निर्यातका लागि स्वीकृति पाउने नेपालको पहिलो व्यावसायिक विद्युत् निर्यात आयोजना हुन् । 

यसरी भारत र बंगलादेश गरी १२५१.६ मेगावाटका आयोजनाका प्रसारण लाइन लस समेत कटाएर १२ सय मेगावाट स्वीकृति पाएको छ । यीमध्ये केही आयोजनाको अनुमति सकिएको आउने चरणमा रहेको प्राधिकरणले जनाएको छ ।