‘स्पाइडर म्यान’ले तोड्यो ‘अवतार’को कीर्तिमान, १२ दिनमै नेपालमा कमायो १४ करोड
काठमाडौं । हलिउड फिल्म ‘स्पाइडर म्यान: ब्रान्ड न्यु डे’ ले नेपालमा १४ करोड बढीको व्यापार गरेको छ। चलचित्र विकास बोर्डका अनुसार यस फिल्मले १२ दिनसम्म १४ करोड २४ लाख १९ हजार ८५० ग्रस कलेक्सन गरेको हो।
नेपालमा ‘स्पाइडर: म्यान’ शृंखला बहुप्रतीक्षित भएकाले हलमा दर्शकहरूको उपस्थिति उत्साहजनक छ। जसकारण नै छोटो समयमै यस फिल्मले नेपालमा लोभलाग्दो व्यापार गर्न सफल भएको हो। साथै ‘स्पाइडर म्यान: ब्रान्ड न्यु डे’ नेपालमा धेरै कमाउने हलिउड फिल्म समेत बनेको छ। यसअघि यो रेकर्ड सन् २०२२ मा रिलिज भएको ‘अवतार: द वे अफ वाटर’ को नाममा थियो। नेपालमा यस फिल्मको लाइफटाइम कलेक्सन १२ करोड थियो।
यतिमात्रै होइन् यो नेपालमा धेरै ओपनिङ गर्ने हलिउड फिल्म समेत हो। पहिलो दिन ‘स्पाइडर म्यान-ब्रान्ड न्यु डे’ ले नेपालमा एक करोड ९९ लाख ६९ हजार ९४५ रुपैयाँ कमाएको थियो। केहीअघि मात्रै चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार धेरै कमाउने १० विदेशी फिल्ममा सबै भारतीय मात्रै परेका थिए। अब यो कमाइसँगै ‘स्पाइडर म्यान-ब्रान्ड न्यु डे’ सातौँ स्थानमा उक्लिएको छ।
यस फिल्ममा टम हल्यान्ड, जेन्डाया, सेडी सिंक, ज्याकोब बाटालोन, जोन बर्नथल, ट्रामेल टिलम्यान, माइकल म्यान्डो र मार्क रफालो लगायतको अभिनय छ। स्टान ली र स्टिभ डिट्कोको कमिक बुकमा आधारित फिल्मको पटकथा क्रिस म्याककेना र एरिक सोमर्सले लेखेका हुन्।
त्यस्तै, डेस्टिन ड्यानियल क्रेटन निर्देशित यस फिल्मले विश्वभर नयाँ नयाँ रेकर्ड समेत बनाइरहेको छ। भारतमा मात्रै १० दिनमै भारतमा ३८४.८० करोड भारतीय कलेक्सन गर्दै ‘अवतार: द वे अफ वाटर’ लाई उछिन्दै धेरै कमाउने हलिउड फिल्म बनेको छ। सन् २०२२ मा रिलिज भएको ‘अवतार: द वे अफ वाटर’ ३७८.२२ करोड भारु कमाएको छ।
यो फिल्म इतिहासकै धेरै ओपनिङ गर्ने दोस्रो फिल्म समेत हो। ९२७ मिलियन अमेरिकी डलर कमाउँदै इतिहासकै दोस्रो ठूलो ओपनिङ सप्ताहन्त हासिल गर्न सफल भयो। यद्धपी, विश्वव्यापी ओपनिङका आधारमा ‘एभेन्जर्सः इन्डगेम’ पहिलो स्थानमा छ।
त्यस्तै, ‘ब्रान्ड न्यु डे’ ले उत्तर अमेरिकी बजारमा ३३५ मिलियन डलर कमाउँदै दोस्रो ठूलो ओपनिङको कीर्तिमान पनि बनायो। त्यस्तै, यो सबैभन्दा छिटो १ अर्ब अमेरिकी डलर कमाउने दोस्रो फिल्म हो।
प्रदर्शनको छ दिनमै यस फिल्मले यो आकंडा पार गरेको छ। पहिलो नम्बरमा रहेको ‘एभेन्जर्सः इन्डगेम’ ले भने पाँच दिनमै यो उपलब्धि हासिल गरेको थियो।
अमेरिकाको घरेलु बक्सअफिसमा ‘ब्रान्ड न्यु डे’ सन् २०२६ मा सर्वाधिक कमाइ गर्ने फिल्म बनिसकेको छ। विश्वभर प्रदर्शनको १२ औं दिनमा यस फिल्मले १ अर्ब ६७ करोड डलर अमेरिकी डलर कमाइसकेको छ।



-1200x5602026-08-16-03-37-38.jpeg)



तपाईको प्रतिक्रिया