बुबाको निधनमा भावुक मेसीको फुटबल त्याग्ने संकेत
काठमाडौं। लियोनेल मेसीले बुबाको निधनपछि भावुक श्रद्धाञ्जली व्यक्त गर्दै आफूले अब फुटबलमा कति समयसम्म निरन्तरता दिने भन्नेमा अनिश्चित रहेको बताएका छन्।
लामो समयदेखि बिरामी रहेका बुबा जर्जको गत साता ६८ वर्षको उमेरमा निधन भएपछि अहिले मेसी दु:खमा छन्। उनले बुधवार सामाजिक सञ्जालमा भावुक स्टाटस लेखे । “मलाई थाहा छैन, तपाईँविना म के गर्नेछु। कसरी अगाडि बढ्ने भन्ने पनि थाहा छैन। पहिले म केवल फुटबल खेल्थेँ, तर अब म अझै धेरै समय फुटबल खेलिरहन्छु की खेल्दिनँ भन्नेमा पनि साँच्चिकै निश्चित छैन,”
मेसीले सामाजिक सञ्जालमा लेखेका छन् ।
मेसी १४ वर्षको उमेर हुँदा देखि नै बुबा जर्ज उनका एजेन्ट थिए र उनले आफ्ना छोरालाई विश्व फुटबलका सर्वकालीन महान् खेलाडीमध्ये एक बनेको देखे। आठ पटकका 'बालोन डी’ओर विजेता मेसीले थपेका छन्, “तपाईं सुरुदेखि नै मेरो साथमा हुनुहुन्थ्यो। अन्तिम समयसम्म पनि हामी निकै नजिक थियौँ। हामीले यो यात्रा सँगै पूरा गर्न सकौँ भनेर तपाईंले अझ केही समय किन धैर्य गर्न सक्नुभएन ?”
जर्जको अर्जेन्टिनाको रोजारियोस्थित अस्पतालमा निधन भएपछि मेसी परिवारसहित स्वदेश फर्किएका थिए। आइतबार रोजारियोको बाहिरी क्षेत्रमा पर्ने पेरेज सहरको एक समाधिस्थलमा उनको निजी अन्त्येष्टि गरिएको थियो।
मेसीले आफ्नो श्रद्धाञ्जलीमा लेखेका छन्, “बुबा, तपाईं अब हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न सकिरहेको छैन। यो वास्तविकता मेरो मनमा बसेकै छैन, अथवा भनौँ, म यसलाई स्वीकार गर्न चाहन्नँ।” “तपाईंलाई फेरि कहिल्यै देख्न पाउँदिनँ, हामी फेरि कहिल्यै कुरा गर्न पाउँदैनौँ भन्ने कल्पना गर्न पनि मलाई निकै गाह्रो भइरहेको छ। तपाईं पीडामा हुनुहुन्थ्यो र यो नै तपाईंका लागि राम्रो हो भन्ने मलाई थाहा छ। तर तपाईंले हामीलाई धेरै चाँडै छोड्नुभयो। हामीसँग अझै धेरै कुरा सँगै रमाउन बाँकी थियो।”
विश्वकपका क्रममा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएको खेलमा मेसीले पहिलो गोल गरेपछि जर्ज भावुक भएर रोएका थिए। त्यतिबेला उनले त्यो भावुकताको कारण “फुटबलसँग पूर्ण रूपमा सम्बन्धित विषय नभएको बताएका थिए। पछि उनको परिवारले जर्ज स्वास्थ्यसम्बन्धी समस्यासँग जुधिरहेको जानकारी दिएको थियो।
मेसीले थपे, “तपाईंले मलाई अन्तिम पटक एउटा विश्वकप खेल्न आग्रह गरिरहनुभएको थियो। विश्वकप सुरु हुन केही दिन मात्रै बाँकी हुँदा तपाईंको स्वास्थ्य अचानक बिग्रियो।”
आफ्नो खेल हेर्न बुवा पहिलोपटक अनुपस्थित भएको भन्दै मेसीले लेखेका छन्,''“हरेक खेल सकिएपछि म तपाईंको सन्देशको प्रतीक्षा गर्थेँ र तपाईंको सन्देश नपाउँदा तपाईंलाई सम्झन्थेँ।त्यतिबेला मैले अवस्था कति गम्भीर भइसकेको रहेछ भन्ने महसुस गर्न थालेँ। त्यसका बाबजुद पनि, म सकेसम्म टाढासम्म पुग्ने र तपाईंलाई कम्तीमा एउटा खेल हेर्ने समय दिने बारे सोचिरहेँ। हामी फाइनलसम्म पुग्यौँ, तर तपाईं त्यहाँ हुन सक्नुभएन।”
बिरामी बुवालाई विश्वकपको ट्रफीसहित भेट्ने धोको पुरा नभएको मेसीले उल्लेख गरेका छन् । “म त्यो विश्वकप जितेर ट्रफी तपाईंलाई ल्याउन र नयाँ ट्रफी देखाउन चाहन्थेँ। तर म सफल हुन सकिनँ। मेरो खुट्टामा कुनै शक्ति बाँकी थिएन। यसपटक मैले आफ्नो शारीरिक सीमाभन्दा पनि माथि जाने प्रयास गरेँ, तर सकिनँ। मैले आफूलाई कहिल्यै पूर्ण रूपमा ठीक महसुस गर्न सकिनँ।”



-1200x5602026-08-16-03-37-38.jpeg)



तपाईको प्रतिक्रिया