राष्ट्रिय भेलामार्फत पार्टीको विधान संशोधन गर्ने देउवा समूहको तयारी
काठमाडौं ३० साउन। कांग्रेसको देउवा समूहले राष्ट्रिय भेलामार्फत पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ । विधान संशोधनको प्रस्तावका लागि वरिष्ठ अधिवक्तासमेत रहेका नेता रमेश लेखकको संयोजकत्वमा कानुन तथा विधान समिति गठन गरिएको छ ।
समितिले पार्टीको सांगठनिक संरचना, सदस्यता प्रणाली, नेतृत्व विकास, समावेशिता, उम्मेदवार छनोट तथा महाधिवेशनसम्बन्धी व्यवस्थालाई समयसापेक्ष बनाउने उद्देश्यसहित विधान संशोधनका लागि विभिन्न प्रस्तावहरू तयार गरेको छ ।
स्रोतका अनुसार समितिले तयार पारेको प्रस्तावमा विधानको प्रस्तावनालाई समसामयिक विषयसमेत समेट्ने गरी परिमार्जन गर्ने तथा ‘आदर्श र उद्देश्य’ अघि ‘मूल्य र मान्यता’ थप गर्ने उल्लेख गरिएको छ ।
समितिका एक सदस्यका अनुसार पार्टीको साधारण तथा क्रियाशील सदस्यतासम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्दै सदस्यको योग्यता पनि आवश्यकताअनुसार परिमार्जन गर्ने पनि प्रस्ताव गरिएको छ ।
‘योग्यता पुगेका व्यक्तिले स्वघोषणामार्फत कांग्रेसका मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्धता जनाएपछि जुनसुकै समयमा पार्टी सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था गर्ने प्रस्ताव छ,’ ती सदस्यले भने, ‘सदस्यता वितरण, नवीकरण र खारेजीलाई डिजिटल प्रविधिमार्फत स्वचालित बनाउने तथा वडा तहमा सदस्यता सूचीकृत र केन्द्रीय तहमा अभिलेख राख्ने व्यवस्था गर्न खोजिएको छ ।’
ती सदस्यका अनुसार विदेशस्थित नेपाली जनसम्पर्क समितिका सदस्यको सदस्यता सम्बन्धित देशको जनसम्पर्क समितिमा सूचीकृत गर्ने तथा सदस्यता नवीकरणलगायतका विवरण केन्द्रीय कार्यालयमा अभिलेख राख्ने प्रस्ताव गरिएको छ ।
जनसम्पर्क समितिको विधान, कार्यसमिति, कार्यकाल, अध्यक्ष, महाधिवेशनमा हुने प्रतिनिधित्व, योग्यता, सहभागिता, समावेशिता तथा पर्यवेक्षकसम्बन्धी व्यवस्थासमेत समयानुकूल संशोधन गर्ने प्रस्ताव छ ।



-1200x5602026-08-16-03-37-38.jpeg)



तपाईको प्रतिक्रिया