पाँच दिनदेखि सम्पर्कविहीन इन्जिनियर जोशीसहितको उद्धार गर्न परिवारको आग्रह : ‘बहाना होइन, परिणाम चाहिएको छ’

आइतबार भदौ १४, २०८३/ Sunday 08-30-26
Paschim Today

रसुवा : रसुवास्थित अपर त्रिशूली–३ बी  आयोजना स्थलबाट इन्जिनियर हेमन्तराज जोशीसहित सम्पर्कविहीन रहेका व्यक्तिहरूको अवस्था पाँच दिन बितिसक्दा पनि स्पष्ट हुन नसकेको भन्दै परिवारले खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

सम्पर्कविहीन आफ्ना आफन्तको अवस्था थाहा पाउन परिवारहरू पाँच दिनदेखि निरन्तर प्रतीक्षामा छन्। हरेक फोन बज्दा सकुशल भेटिएको खबर आउने आशा हुने, तर पुनः निराश हुनुपर्ने अवस्था रहेको परिवारजनको भनाइ छ।

परिवारले आफूहरू सरकारसँग कुनै बहाना वा कसैलाई दोष लगाउने उद्देश्यले प्रश्न गरिरहेको नभई सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर आफ्ना मान्छेको खोजी, उद्धार र वास्तविक अवस्थाबारे स्पष्ट जानकारी दिनुपर्ने माग गरेको बताएका छन्।

परिवारका अनुसार अहिले सबैभन्दा महत्वपूर्ण प्रश्न भनेको सम्पर्कविहीन व्यक्तिहरू कहाँ र कुन अवस्थामा छन् भन्ने हो। उनीहरू टनेलभित्रै छन् वा अन्यत्र पुगेका थिएरु अन्तिमपटक उनीहरूलाई कहाँ र कस्तो अवस्थामा देखिएको थियोरु हालसम्म कति जनाको उद्धार भएको छ र कति जना अझै सम्पर्कविहीन छन्रु खोजी तथा उद्धार टोली कुन स्थानसम्म पुगेको छरु यस्ता प्रश्नको आधिकारिक र स्पष्ट जवाफ परिवारले खोजिरहेका छन्।

विशेषगरी सुरुङ वा दुर्घटनास्थलभित्र मानिसहरू रहेका भए उनीहरूको अवस्था कस्तो छ भन्ने विषयले परिवारलाई थप चिन्तित बनाएको छ। उनीहरूलाई पर्याप्त अक्सिजन उपलब्ध छ कि छैन, पानी तथा अन्य आधारभूत सुविधा छन् कि छैनन्, सुरुङभित्रको हावाको अवस्था र तापक्रम कस्तो छ, लेदो तथा भग्नावशेषले जोखिम कति बढाएको छ र कोही घाइते छन् कि सकुशल छन् भन्ने विषयमा परिवारलाई नियमित जानकारी उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

परिवारको भनाइमा हरेक घण्टा महत्वपूर्ण छ। उद्धार कार्य कठिन रहेको कुरा आफूहरूले बुझे पनि कठिनाइका कारण उद्धार प्रयास सुस्त हुन नहुने उनीहरूको आग्रह छ। “उद्धार कठिन छ भने कठिनाइ के हो र त्यसलाई पार गर्न के–के भइरहेको छ भन्ने स्पष्ट रूपमा बताउनुपर्छ,” परिवारको माग छ, “नेपालमा उपलब्ध स्रोत, साधन, जनशक्ति, प्रविधि वा उपकरण पर्याप्त छैन भने आवश्यक सहयोग बाहिरबाट ल्याउनुपर्छ।”

परिवारले आवश्यक परे विदेशी सुरुङ उद्धार विज्ञ, प्राविधिक जनशक्ति तथा अत्याधुनिक उपकरणसमेत तत्काल परिचालन गर्न सरकारलाई आग्रह गरेको छ। मानव जीवन बचाउने सवालमा ‘सम्भव छ कि छैन’ भन्ने प्रश्नभन्दा ‘कसरी सम्भव बनाउन सकिन्छ’ भन्ने सोच आवश्यक रहेको उनीहरूको भनाइ छ।

विपद् व्यवस्थापन, राहत तथा पुनर्निर्माणका विभिन्न काममा अन्तर्राष्ट्रिय सहयोग लिन सकिने अवस्थामा मानव जीवन बचाउन आवश्यक विशेषज्ञता, उपकरण र प्रविधिका लागि पनि आवश्यक सहयोग लिन हिचकिचाउन नहुने परिवारको तर्क छ।

“स्रोत छैन भने स्रोत जुटाउनुपर्छ, प्रविधि छैन भने प्रविधि ल्याउनुपर्छ, विज्ञ छैनन् भने विज्ञ बोलाउनुपर्छ,” परिवारको आग्रह छ, “एउटा बाटो बन्द छ भने अर्को बाटो खोजिनुपर्छ। एउटा उपकरणले काम गर्दैन भने अर्को विकल्प प्रयोग गर्नुपर्छ। तर समय बित्न दिनु हुँदैन।”

परिवारले मौसम तथा भौगोलिक अवस्थालाई समेत ध्यानमा राख्दै सम्भव भएसम्म तत्काल गर्न सकिने सबै खोजी तथा उद्धारका काम अघि बढाउन आग्रह गरेको छ। मौसम अनुकूल रहेको समयमा गर्न सकिने काम अर्को दिनका लागि सार्दा मौसम प्रतिकूल हुन सक्ने र त्यसले उद्धारको सम्भावनामा थप चुनौती ल्याउन सक्ने उनीहरूको चिन्ता छ।

“समयलाई पर्खिने होइन, समयसँग प्रतिस्पर्धा गरेर खोजी तथा उद्धार गर्नुपर्ने अवस्था हो,” परिवारको भनाइ छ।

परिवारले टनेल तथा पावरहाउस क्षेत्रसँगै पहुँचमार्ग, नदी आसपास तथा सम्पर्कविहीन व्यक्तिहरू पुग्न सक्ने अन्य सम्भावित स्थानमा समेत तत्काल र प्रभावकारी खोजी गर्न आग्रह गरेको छ।

उनीहरूले इन्जिनियर हेमन्तराज जोशी मात्र नभई  सम्पर्कविहीन रहेका प्रत्येक व्यक्तिको जीवन उत्तिकै महत्वपूर्ण रहेको भन्दै सबैको सकुशल उद्धारलाई सर्वोच्च प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

यस घटनालाई राजनीतिक विषय वा कुनै निकायविरुद्धको आरोपका रूपमा नलिई मानवीय संवेदनासँग जोडेर हेर्नुपर्ने परिवारको भनाइ छ। उनीहरूलाई आरोप–प्रत्यारोपभन्दा पनि सत्य तथ्य र आधिकारिक सूचना आवश्यक रहेको बताएका छन्।

परिवारले सरकारसँग चार मुख्य माग अघि सारेको छ—खोजी तथा उद्धारलाई तीव्र बनाउने, आवश्यक परे देश–विदेशबाट विशेषज्ञता तथा उपकरण ल्याउने, सम्भावित सबै स्थानमा खोजी गर्ने र परिवारलाई नियमित तथा आधिकारिक सूचना उपलब्ध गराउने।

“हामीलाई ‘उद्धार हुँदैछ’ भन्ने आश्वासन मात्र होइन, उद्धार कहाँसम्म पुग्यो भन्ने तथ्य चाहिएको छ। हामीलाई अनुमान होइन, आधिकारिक सूचना चाहिएको छ,” परिवारको आग्रह छ।

पाँच दिनदेखि आफ्ना आफन्तको खबर पर्खिरहेका परिवारका लागि यो समय केवल पाँच दिन नभई हरेक मिनेट आशा र भयबीच बितिरहेको समय हो। फोन बज्दा सकुशल भेटिएको खबर आउने आशा र हरेक नयाँ सूचनामा सकारात्मक समाचारको प्रतीक्षा उनीहरूको दैनिक जीवन बनेको छ।

त्यसैले परिवारले सरकार तथा सम्बन्धित निकायसँग अन्तिम सम्भावनासम्म पुगेर उद्धार प्रयास गर्न आग्रह गरेको छ।

“हामीलाई बहाना होइन, हाम्रा मान्छे चाहिएका छन्। हामीलाई भाषण होइन, परिणाम चाहिएको छ। आश्वासन होइन, सकुशल उद्धारको खबर चाहिएको छ।”

(लेखक साबित्रा जोशी हुन् । उनी धनगढीमा रहेर पत्रकारिता गर्छिन् । )