कैलाली जिल्ला भलिबल संघको अध्यक्षमा दान बहादुर मलासी निर्वाचित

मंगलबार असोज ६, २०८३/ Tuesday 09-22-26
Paschim Today

धनगढी ०६ असोज । कैलाली जिल्ला भलिबल संघको सर्वसम्मति रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ । 
सर्वसम्मति रुपमा संघको कार्यसमितिको अध्यक्षमा दान बहादुर मलासी, उपाध्यक्ष मान बहादुर पुन, महासचिव रमेश बहादुर थापा, कोषाध्यक्ष शारदा साउँद, सदस्यहरुमा बल्देव भट्टराई, मिन दर्लामी, प्रेम राज जोशी, श्याम लाल राना, टेक राज अवस्थी निर्वाचित भएका हुन् । 

कैलाली जिल्ला भलिबल संघ का उपाध्यक्ष श्री मानबहादुर पुनको अध्यक्षतामा प्रदेश खेलकुद परिषद्का सदस्य निता कुमारी खत्री, कैलाली जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख आश्रम के सि उपस्थितिमा कैलाली जिल्ला भलिवल संघको अधिवेशन सम्पन्न भएको जनाईएको छ । 


धनगढी रङ्गशाला स्थित कैलाली जिल्ला खेलकुद समितिको कार्यालयमा सम्पन्न कार्यक्रममा कैलाली जिल्ला भलिबल संघका बहुसङ्ख्यक पदाधिकारी तथा सदस्यहरु, कैलाली जिल्ला र सुदूरपश्चिम प्रदेशमा कार्यरत खेलकुद प्रशासकहरु, प्रशिक्षकहरु र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीहरूको व्यापक उपस्थिति रहेको थियो।
नेपाल भलिबल संघको निर्देशन अनुसार असोज ५ गते भित्र जिल्लाहरुले नयाँ नेतृत्व चयन गरिसक्नु पर्ने थियोभने  असोज १५ गते भित्र प्रदेश अधिवेशन सम्पन्न गरिसक्नु पर्ने छ।
आज नेपाल भलिबल संघको विधान बमोजिम कैलाली जिल्ला भलिबल संघका १३ मध्ये ८ जना प्रत्यक्ष निर्वाचित भए भने बाँकी ५ सदस्य मनोनित हुनेछन्। कार्य समितिको कार्यकाल ४ वर्षको हुनेछ।