ऊर्जा क्षेत्रका सरोकारवालाबीच लिटमसको ‘पावर पार्टनर्स मिट’

मंगलबार असोज १३, २०८३/ Tuesday 09-29-26
Paschim Today

काठमाडौं । ऊर्जा क्षेत्रका सरोकारवालाबीच सहकार्य, प्रविधि र पूर्वाधार विकासका विषयमा छलफल गर्न लिटमस इन्डस्ट्रिज लिमिटेडले ‘लिटमस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ।

असोज १२ गते काठमाडौंमा आयोजित कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) र परामर्श क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।

‘साथ, सम्बन्ध र विश्वास’ भन्ने नारासहित आयोजित कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रको पछिल्लो विकासक्रम, चुनौती र आगामी अवसरबारे छलफल गरिएको थियो। सहभागीहरूले ऊर्जा पूर्वाधारको विकाससँगै उत्पादनको गुणस्तर, प्रविधिको प्रयोग र प्रसारण तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा आयोजना विकासकर्ता, जलविद्युत् तथा सौर्य ऊर्जा कम्पनी, ईपीसी कम्पनी, परामर्शदाता र उद्योग क्षेत्रका प्रतिनिधिहरूले ऊर्जा क्षेत्रको सम्पूर्ण मूल्य शृंखलामा सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। इन्डिपेन्डेन्ट पावर प्रोड्युसर्स एसोसिएसन नेपाल (आईपीपीएएन) लगायत संस्थाका प्रतिनिधिको समेत सहभागिता थियो।

कार्यक्रममा लिटमसले नेपाली बजारमा नयाँ दुई कन्डक्टर प्रविधि सार्वजनिक गरेको छ। कम्पनीले उच्च तापक्रममा समेत प्रयोग गर्न सकिने एचटीएलएस (हाई टेम्परेचर लो स्याग) कन्डक्टर र एएल–५९ कन्डक्टर सार्वजनिक गरेको हो।

नयाँ कन्डक्टर प्रविधिले प्रसारण तथा वितरण पूर्वाधारमा बढ्दै गएको आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ। यसबाट आफ्नो उत्पादन पोर्टफोलियो विस्तारसँगै ऊर्जा क्षेत्रका लागि आवश्यक प्राविधिक समाधान उपलब्ध गराउन सहयोग पुग्ने कम्पनीको भनाइ छ।

लिटमसका प्रबन्ध निर्देशक रोहित गुप्ताले ऊर्जा क्षेत्रको निरन्तर विकासका लागि उत्पादक, आयोजना विकासकर्ता, ईपीसी कम्पनी, परामर्शदाता र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।

लिटमस इन्डस्ट्रिजले तार, केबल, कन्डक्टर तथा एल्युमिनियम र विभिन्न मिश्रधातुका रड उत्पादन गर्दै आएको छ। कम्पनीका उत्पादन विद्युत् प्रसारण, वितरण तथा विभिन्न पूर्वाधार क्षेत्रमा प्रयोग हुँदै आएका छन्।