सोलुमा हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउन सरकारद्वारा अनुसन्धान सुरू
काठमाडौं । सोलुखुम्बुको फेरिचे क्षेत्रमा आज बिहान भएको हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउन सरकारले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाबारे विस्तृत अध्ययन तथा अनुसन्धान सुरु भइसकेको जानकारी दिएको हो ।
मंगलबार बिहान करिब ८:१२ बजे फेरिचेमा अवतरण गर्ने क्रममा एयर डाइनेस्टीको ‘९एन–एओडी’ र फिस्टेल एयरको ‘९एन–एजेआर’ हेलिकप्टर एकापसमा ठोक्किएको थियो ।
दुर्घटनामा परी फिस्टेल एयरको हेलिकप्टरमा सवार भारतको तमिलनाडु राज्य, चेन्नई निवासी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको छ । मृतक बलरामुडुको शव व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ भने घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं ल्याई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
नेपाली आकाशलाई सुरक्षित बनाउन हवाई सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन तथा नियमनलाई सरकारले उच्च प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ । दुर्घटनाको यथार्थ परिस्थिति र प्राविधिक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको र प्राप्त निष्कर्ष तथा सिफारिसका आधारमा आवश्यक सुधारात्मक कदम चालिने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।







तपाईको प्रतिक्रिया