मानव बेचबिखनसम्बन्धी कसुरमा दण्ड सजायको दायरा फराकिलो बनाउने तयारी
काठमाडौं : महिला,बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दण्ड सजायको दायरालाई फराकिलो बनाउने उदेश्यका साथ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)(पहिलो संशोधन) विधेयक,२०८३ ल्याएको जनाएको छ ।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले स्वदेश वा विदेशमा कसूरको आरोप लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याउने र दण्ड सजायको दायरालाई फराकिलो बनाउने उदेश्यका साथ उक्त विधेयक ल्याएको बताएका हुन्।
उनले उच्च जोखिममा रहेका तथा ओसारपसारमा परेका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्ने गरि विधेयकको मस्यौदा तयार पारिएको बताए । मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सिमाना,अन्तर्राष्ट्रिय विमानस्थल र सम्भावित स्थलमा निगरानीको व्यवस्था गर्ने प्रस्ताव समेत गरिएको उनले बताए।
सचिव राउतले जबर्जस्ती श्रममा लगाउने कार्यलाई कसुर कायम गर्ने,बालबालिकालाई आफ्नो नियन्त्रणमा लिने कार्यलाई पनि ओसारपसारको कसुरको रूपमा कायम गर्नुपर्ने प्रस्ताव गरिएको उल्लेख गरे । विदेशी पीडित नागरिकलाई सम्बन्धित मुलुकसँग कूटनीतिक माध्यममार्फत समन्वय गरेर फिर्ता पठाउने व्यवस्था गरिएको उनको भनाइ छ ।
उनले संगठित अपराधसँग सम्बन्धित ऐन र वैदेशिक रोजगारसँग सम्बन्धित ऐनहरूसँग विरोधाभास नआउने गरी मानव बेचबिखन तथा ओसारपसार हुने सम्मका विषयहरूलाई समायोजन गरी संशोधन प्रस्तावलाई अझ परिष्कृत गर्नुपर्ने बताए । समिति सदस्यहरूले साइबर हिंसा,अपराध र बालबालिकामाथि हुने यौन हिंसा तथा श्रम शोषण रोकथामलाई रोक्न कडा रुपमा कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।




2026-11-17-03-44-09.jpeg)


तपाईको प्रतिक्रिया