Close This

धार्मिक पर्यटनको केन्द्र बन्दै शिवपुरी धाम

शुक्रबार फागुन ९, २०७६/ Friday 02-21-20
Paschim Today

धनगढी मुख्य बजार क्षेत्रबाट साढे दुई किलोमिटरको दुरीमा रहेको शिवपुरी धाम यहाँको प्रमुख धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास हुन थालेको छ । शिवपुरी धाममा पुग्ने धार्मिक पर्यटकको संख्या पनि बढ्दै गएको छ ।

पुजाआजासँगै धाम अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकहरु शिवपुरीमा पुग्ने गरेका छन् । धनगढी बजारबाट नजिक भएकाले धनगढी पुगेर यहाँका पर्यटकीय क्षेत्रको भ्रमण गर्न चाहनेहरुको पहिलो रोजाइ बन्न थालेको छ–शिवपुरी धाम । 

धनगढी उपमहानगरपालिका–३, उत्तरबेहडीमा अवस्थित शिवपुरी धाम धार्मिक दृष्टिले महत्वपूर्ण छ नै भौतिक रुपमा पनि सुन्दर र रमणीय छ । पछिल्लो पटक आन्तरिकसँगै भारतीय पर्यटकहरु पनि धाममा आउन थालेका धाम व्यवस्थापन समितिले जनाएको छ ।

वनगावा, पलियालगायत सिमावर्ती भारतीय सहरबाट भारतीय पर्यटकहरु शिवपुरी धाम घुम्न आउने गरेका धाम व्यवस्थापन समितिका कार्यालय प्रमुख बिनोद केसीले बताए ।

धाममा घुमफिर र पुजाआजाका लागि पर्यटकको घुँइचो लाग्न थालेको हो । आन्तरिक र बाह्य गरी दैनक औषतमा एक सय जति पर्यटक र भक्तजनहरु धाममा पुग्ने गरेका कार्यालय प्रमुख केसीले जानकारी दिए । धाममा आउनेमध्ये सीमावर्ती क्षेत्रबाट आउने भारतीय पर्यटकहरु बढी हुने गरेको उनले बताए ।

शिवपुरी धाममा पछिल्ला केही वर्षयता धार्मिक संरचनाहरु निर्माण हुने क्रम पनि बढेको छ । धाममा एक सय आठ फिट अग्लो शिवलिङ्ग निर्माण गरिएको छ । यस्तै एक सय आठ वटा बहुमुखी धारा र एक सय आठ तुलसीका मठ निर्माण गरिएका छन् ।

धाममा विवाह, ब्रतबन्धजस्ता कार्यहरु पनि हुने गरेका छन् । धार्मिक कार्यहरुका लागि पाँच वटा मण्डप बनाइएका छन् ।

शिव मन्दिरसँगै अन्य मन्दिरमा पनि भक्तजनले पुजाआजा गर्ने गरेका केसीले बताए । गणेश मन्दिर, मुक्तिनाथ मन्दिर, सूर्यनारायणको मन्दिर, दुर्गा मन्दिर र उग्रतारा मन्दिर पनि धामभित्र अवस्थित छन् । भिक्षु, भिक्षुणी बस्नका लागि कुटिहरु पनि निर्माण गरिएका छन् । बहुउद्देश्यीय सभा हल र भवन निर्माण भइरहेको केसीले जानकारी दिए । 

शिवपुरी वनसँगै जोडिएको आठ विधा क्षेत्रमा फैलिएको धाम सुन्दर र रमणीय रहेको त्यहाँ पुग्नेहरु बताउँछन् । ‘अत्यन्तै रमणीय स्थल छ । बजारबाट नजिक पनि भएकाले यसको प्रचारप्रसारमा ध्यान दिए थुपै्र पर्यटक भित्र्याउन सकिन्छ ।’ स्थानीयले कविन्द्र ऐरले भने, ‘बजारबाट नजिक पर्ने भएकाले पनि शिवपुरी धाम पर्यटन विकासको ठूलो संभावना बोकेको क्षेत्र हो ।’

शिवपुरी धाम, जाखोर ताल, बेहडाबाबालगायत बजार नजिक पर्ने पर्यटकीय क्षेत्रलाई जोडेर नगरको पर्यटन करिडोर निर्माण गर्न सकिने पर्यटन व्यवसायीहरु बताउँछन् । यी क्षेत्रलाई नगरका प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा धनगढी उपमहानगरपालिका र प्रदेश सरकारले ध्यान दिनुपर्ने नगरबासीको माग छ ।

धामको धार्मिक पर्यटन विकास र पूर्वाधार निर्माणका लागि आर्थिक सहयोग संकलन गर्न हरेक वर्ष महायज्ञ हुँदै आएको छ । यस वर्ष गत २ गतेबाट सुरु भएको महायज्ञमा भक्तजनको भीड लागेको स्थानीयले बताएका छन् ।

महायज्ञमा बालब्यास धर्मराज आत्रेयले पुराण वाचन गरिरहेका छन् । महायज्ञको अवसरमा हरेक साँझ महाआरती पनि हुने गरेको कार्यालय प्रमुख केसीले बताए । भारतको बनारसबाट आएका तीन जना पण्डितले बनारसमा जस्तै महाआरती गर्ने गरेका हुन् । आरती हेर्नेको धाममा भीड लाग्ने गरेको छ ।