Close This

बलात्कारमा संलग्नलाई कारबाहीको माग : बलात्कृत १३ वर्षीया बालिकाको पेटमा चार महिनाको गर्भ  

आइतबार चैत १, २०७७/ Sunday 03-14-21
Paschim Today

धनगढी, १ चैत । १३ वर्षीया बालिका बलात्कारमा संलग्नलाई कारबाहीको माग गर्दै गोदावरी नगरपालिका–५, गेटाका स्थानीयबासिन्दा आन्दोलनमा उत्रिएका छन् । बलात्कृत बालिकाका आफन्त र स्थानीयले संलग्नलाई कारबाहीका लागि दवाव दिन भन्दै शनिबार बिहान धनगढी–अत्तरिया सडक खण्ड केहीबेर अवरुद्ध गरे ।

बाजे नाता पर्ने व्यक्तिबाट ती बालिका बलात्कृत भएकी हुन् । उनको पेटमा अहिले चार महिनाको बच्चा छ । बलात्कारको अभियोगमा स्थानीय ५५ वषीय कल्लु थारुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरी जबरजस्ती करणी विरुद्धको मुद्दा चलाएको थियो । जिल्ला अदालत कैलालीको आदेशमा थारु अहिले पुरपक्षका लागि थुनामा छन् । उनी बलात्कृत बालिकाका हजुरवुवा नाता पर्छन् ।

पीडक पक्षबाट आर्थिक प्रलोभन देखाएर घटना मिलाउने प्रयास भइरहेको भन्दै स्थानीयबासिन्दाले सडक बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । बालिकाका बुवाले पीडक पक्षबाट पैसा लिएर मुद्दा मिलाउन प्रलोभन आइरहेको बताए । २०–२२ लाख रुपैयाँ दिने भन्दै मुद्दा मिलाउन आफूलाई पटक–पटक प्रलोभन आएको उनले बताएका छन् ।

आफूहरुलाई पैसा नभइ न्याय चाहिएकोले आन्दोलन गर्नु परेको बालिकाका आफन्तले बताए । बालिकाका बुवाले प्रहरी र अदालतलाई पनि आर्थिक प्रलोभनमा पारेर मुद्दा प्रभावित पार्न सक्ने भएकाले दवाव दिन आन्दोलन गर्नु परेको बताए । 

गत मंसिरमा ती बालिकामाथि बलात्कार भएको आफन्तले बताएका छन् । दुई महिनासम्म महिनावारी नभएपछि आफन्तले अस्पताल लगेर चेकजाँच गर्दा बलात्कृत भएको खुलेको हो । महिनावारी नभएपछि ती बालिकाका आफन्तले चेकजाँचका लागि गत माघ ९ गते गेटा स्वास्थ्य चौकीमा लगेका थिए । विश्वास नलागेपछि सोही ११ गते सेती प्रादेशिक अस्पतालमा पनि गर्भ परिक्षण गराएको आफन्तले बताएका छन् ।

 ‘महिनावारी नभएपछि अस्पताल लगेर चेक गर्दा गर्भवती भएको पत्ता लागेको हो । कसैलाई भनेपछि मारिदिन्छु भनेकाले छोरीले घटना लुकाएर राखेकी रहिछ ।’ बालिकाकी आमाले भनिन्, ‘दोषीलाई कारबाही गरिनुपर्छ ।’ 

 बालिकालाई अश्लिल भिडियो देखाएर गत मंसिरमा शारीरिक सम्बन्ध राखेको बताइएको छ । मंसिर ५ गते बिहान घरमा कोही नभएको बेला बालिकालाई घरमै बोलाएर अभियुक्तले शारीरिक सम्बन्ध राखेको पीडित पक्षका आफन्तले बताएका छन् । बालबालिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखेको भए पनि कानुनले बलात्कार मान्छ । 

 बालिकाको बयानका आधारमा उनका आफन्तले माघ ९ गते नै थारु विरुद्ध जिल्ला प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले सोही दिन उनलाई पक्राउ गरेको थियो । थारु अहिले पुरपक्षका लागि जिल्ला कारागार कैलालीमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतीक बिष्टले बताए । 

बालिकाको गर्भपतन पनि गराइएको छैन । गर्भपतन गराउँदा प्रणाम नष्ट हुनसक्ने भएकाले नगराएको उनको बुवाले बताएका छन् । ‘अदालतले डीएनए परिक्षण गर्न भनेपछि समस्या हुने र दोषी उम्कने भएकाले गर्भपतन नराएका हौँ ।’ उनले भने । ती बालिका कक्षा ५ मा अध्ययनरत छिन् । आफन्तका अनुसार अहिले उनी विद्यालय जाँदिनन् ।