Close This

चण्डीगढको नक्सानुसार बनेको सुन्दर महेन्द्रनगर

शुक्रबार असार ६, २०७६/ Friday 06-21-19
Paschim Today

महादेव अवस्थी ।
महेन्द्रनगर, ६ असार ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर सुन्दर छ । ऐतिहासिक बजार सुदूरपश्चिमको एक मुख्य व्यापारिक केन्द्र हो । महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली छन् । हरेक गल्लीको आफ्नै विशेषता छ ।
गल्ली नम्बर १ बजारको पहिलो गल्ली हो । यस गल्लीमा मेडिकल, हार्डवेयरका पसलहरू बढी छन् भने गल्ली नम्बर २ मा बैंक, छापाखाना, इलेक्ट्रोनिक पसल र किराना पसलहरू छन् । गल्ली नम्बर ३ मा अधिकांश मेडिकल छन् भने केही होटल पनि छन् । त्यस्तै गल्ली नम्बर ४ मा होटलहरू बढी छन् भने गल्ली नम्बर ५ मा पुस्तक पसल तथा बंैकहरू बढी छन् । यहाँको मदन चोक देखि बसपार्क मञ्चलाईनमा होटल तथा फेन्सी पसलहरू रहेका छन् । 
महेन्द्रनगरको गल्ली न. ५ सबै भन्दा बढी भिडभाड हुने गल्ली हो क्याम्पस रोड नाम समेत दिएको यस गल्लीमा व्यापारको हिसाबले पनि राम्रो मानिन्नछ । गल्ली नम्बर १ पनि भिडभाड हुने गल्ली हो । अन्य गल्लीको तुलनामा व्यापारीक हिसाबले १ र ५ नम्बर गल्ली महत्वपूर्ण मानिने यहाँका व्यवसायीहरु बताउँछन् । राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार गुरुयोजना बनाएर महेन्द्रनगर बजार बनाएको यहाँका जानकार बलदेव अवस्थीले बताए । उनले भने–‘यो नेपाल अधिराज्यकै प्लानिङ सहर हो, यो सहर गुरुयोजना बनाएर बनाएको हो ।’
विपद्को बेला पनि यहाँ सहज हुने गल्लीहरूको निर्माण गरिएको छ । गल्लीहरूमा बनेको कुनै घर ढलिहाले पनि अर्को घरमा कुनै असर गर्दैन । पछिल्लो समय पार्किङ अभावले यहाँको बजार अस्त व्यस्त देखिन्छ । ठूला सवारी साधनहरु बजार प्रवेश गर्नुले पनि यहाँ समस्या हुने गरेको व्यवसायीहरुको गुनासो छ । बसपार्कदेखी मदन चोकसम्म र मदन चोकदेखी पूर्वतर्फको बजारलाई स्पेशल लाईनको रुपमा हेरिन्छ । यो लाईनमा अधिकांश फैन्सी पसलहरु रहेका छन् । स्पेशल लाईनलाई व्यापारिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । 
प्रमुख राजमार्गसंग भने यहाँको बजार विस्तार हुन सकेको छैन । महाकालीमा पक्की पुल बने महेन्द्रनगरदेखी कैलालीको अत्तरिया बजारसम्म बजार विस्तार गर्न सके यहाँको समृद्धि हुने अग्रज व्यवसायीहरुको भनाई छ । व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिने महेन्द्रनगर शहर भारतका ठूला औद्योगीक शहरहरुको छोटो दूरीमा रहेकाले पनि महाकाली नदीमा बन्ने पुलले समृद्धिको केही आशा पलाएको छ । 
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले महेन्द्रनगर बजार पुरानो बजार भएको बताउँदै महेन्द्र सरकारले त्यति बेला सीमाक्षेत्रमा इन्डियन सैनिक बसाएको र बजार विस्तार गरेको बताए । उनले यो बजारको प्रत्येक हिस्साले पछाडिको हिस्सा जोडेको बताए । उनले भने, ‘महेन्द्रले बनाएको व्यवस्थित बजार हेर्नुपर्छ भनेर आन्तरिक पर्यटकहरू पनि यहाँ आउँछन, यससँगसँगै महाकालीमा पक्की पुल बनेपछि प्रत्येक गल्लीमा बजार विस्तार हुन्छ ।’ बजार विस्तार भएपछि यहाँ आउने ग्राहकको पनि घुइँचो हुने अध्यक्ष मल्लले बताए । उनले यो बजारकोसौन्दर्यता हेर्न आउने पर्यटकको पनि घुइँचो हुने बताए । हाल हरेक गल्लीमा बजार विस्तार भइरहेको पाईन्छ ।
२०१४ सालमा राजा महेन्द्रले देश दर्शनका क्रममा पूर्वको झापा, ताप्लेजुङ, पश्चिमको दार्चुला हुँदै बैतडी पैदल भ्रमण गर्ने क्रममा बाटोमा भेटिने व्यक्तिहरूलाई सोधपुछ गर्दा त्यहाँको नाजुक स्थिति गरिबी, खान नपुग्ने कमाइ खान जमिन पनि नभएको अवस्था थाहा पाएपछि राजा महेन्द्रले त्यहाँका जनतालाई तराई झर्न आग्रह गरेको यहाँका जानकारहरुको भनाइ छ । 
२०१८ सालदेखि पहाडबाट तराई बसाइँ सर्न सुरु भएकोे जानकार बलदेव अवस्थी बताए । उनका अनुसार त्यति बेला महेन्द्रननगर बजार गौचरण, खेत र जंगल थियो भने थारुहरूको बस्ती पनि त्यो बेला यहाँ रहेको पाइन्छ । २०१८ सालमा राजा महेन्द्रले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएका थिए । 
यहाँ बस्ती बस्न थालेपछि २०२५ सालमा प्रशासनिक भवन निर्माण हुन थाले । सुरुमा यहाँ प्रशासकीय भवन, कारागार, जिल्ला हुलाक, स्वास्थ्य केन्द्र र कर्मचारीहरूको आवास निर्माण सुरु भएको जानकार अवस्थीले बताए । यहाँ प्रशासकीय भवन निर्माण सुरु भएसँगै त्यतिबेलाको बेलौरी सदरमुकाम पनि महेन्द्रनगर स¥यो । अवस्थीले भने, ‘सरकारी कार्यालय स्थापना गर्दा पनि हेभी गाडी सञ्चालन हुने कार्यालय राजमार्गसँग जोडेर बनाएको र प्रशासनिक भवन महेन्द्रनगर बजारको एकातर्फ बनाएको हो ।’ त्यतिबेला नै यसमा घडेरी बिक्री हुन्थ्यो । २०२७ सालमा राजा महेन्द्र अवलोकनका लागि वनबासा पुलमा जाँदा यहाँ सिँचाइको समस्या रहेको थाहा पाएपछि महाकाली सिँचाइ नहरको सुरुवात गरेका हुन् । उक्त नहरको डीपीआर इंग्ल्यान्डको कम्पनीले तयार पारेको थियो । 
हाल महाकाली सिँचाइ नहरबाटै महेन्द्रनगरमा सिँचाइ सुविधा उपलब्ध छ । त्यति बेला बर्माबाट नेपाल फर्कन बाध्य नेपालीहरूलाई राजा स्वयं बर्मा गई त्यहाँबाट नेपाल आउने सबैका लागि महेन्द्रनगर, भैरहवा, बुटवलमा प्रवासी नेपालीहरूको बसोबास गराएका हुन । महेन्द्रनगर बजारको स्थापना पश्चात् पञ्चायतको रजत जयन्तीका बेला महेन्द्रननगर बजारमा राजा महेन्द्रस्मारक स्थापना गरिएको हो । महेन्द्रनगर स्थापनापछि त्यति बेला यहाँको प्रहरीले बाटो बनाएको थियो । 
सुदूरपश्चिमकै उत्कृष्ट शहरका रूपमा रहेको महेन्द्रनगर पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमणले बजारको शोभा बिग्रिने भन्दै यहाँका स्थानीयहरूले चिन्ता प्रकट गरेका छन् । जुन गुरुयोजना अनुसार बजार बनेको हो, त्यसै गुरुयोजनाअनुसार यो बजार व्यवस्थित हुनुपर्ने यहाँका व्यवसायीहरूको भनाइ छ । पार्किङ्को व्यवस्था नहुँदा बजार अस्तव्यस्त भएको भन्दै यहाँका व्यवसायीहरुले यसतर्फ ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने बताए । दिनको समयमा बजारमा अत्यधिक भिडभाड हुने भएकाले ठुला सवारी साधनलाई दिनमा बजार प्रवेशमा रोक लगाए बजार व्यवस्थापनमा केही टेवा पुग्ने छ ।