धनगढी उप-महानगरले प्रति क्वीन्टल भुसामा लगायो ५० रुपैया कर

मंगलबार असोज १६, २०८०/ Tuesday 10-03-23
Paschim Today

धनगढी, १६ असोज । धनगढी उपमहानगरपालिकाले भुसा लगायत बस्तुमा अचाक्ली कर लगाएको छ ।धनगढी उप-महानगरपालिकाले कर लगाएपछि कतिपय वस्तुको व्यापार ठप्प भएको छ । प्रति क्वीन्टल दुई सय रुपैयामा बिक्री हुने भुसामा ५० रुपैया कर लगाएको छ । कर लगाएयता भुसाको बिक्री बन्द भएको खाद्य उद्योगीहरुले गुनासो गरेका छन् ।

बिगतमा सुदूर पश्चिमका ईटा उद्योगमा खपत हुदै आएको भुसा ईटा भट्टाहरु बन्द भएपछि पूर्वी नेपालमा बिक्री हुने गरेको थियो । उप-महानगरले अचाक्ली कर लगाएपछि भुसा बिक्री गर्न सकिने अवस्था नभएको व्यवसायीहरुले बताएका छन् ।  व्यवसायीहरुका अनुसार अन्य प्रदेश र पालिकामा भुसामा प्रति क्वीन्टल ४ देखि ५ रुपैया कर छ । यति अचाक्ली कर नेपालको कुनै पालिका र प्रदेशमा छैन, एक खाद्य उद्योगीले भने, अचाक्ली कर लगाएपछि भुसा बिक्री हुन छाड्यो ।

अहिले मिल क्षेत्र भुसाले ढाकिने अवस्था छ । धनगढी उपमहानरपालिकाले कनिका र पिनामा पनि सोही हाराहारीमा कर लगाएकोले कनिका र पिनाको व्यापार समेत ठप्प भएको व्यवसायीहरुले गुनासो गरेका छन् ।