Close This

फाप्ला मार्फत सुवाशले देखेको समृद्ध सुदूरपश्चिमको परिकल्पना

आइतबार मङ्सिर १०, २०८०/ Sunday 11-26-23
दीर्घराज उपाध्याय ।

कछिन कल्पना गरौं न । भर्खरै भारतमा सम्पन्न आइसीसी क्रिकेट विश्वकपको सह–आयोजकका रुपमा कम्तीमा एउटा खेलहरु आयोजनाको जिम्मा नेपालले पाएको छ । ५० हजार दर्शक क्षमताको उक्त खेल धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुँदैछ ।

विश्व क्रिकेटका दुई शक्तिशाली राष्ट्रहरु भारत र पाकिस्तान एक–अर्काको देशमा खेल्दैनन । तटस्थ भूमिकाका रुपमा उक्त खेल आइसीसीले नेपालमा खेलाउँने र त्यसको भेन्यूका रुपमा फाप्लामा रोजेको छ ।

अहो, भारत र पाकिस्तानबीचको त्यो हाइभोल्टेज म्याच हेर्न विश्वभरका क्रिकेट दर्शकले छिनभरमै टिकट सोल्डआउट गरेको दृश्य । स्तरोउन्नती गरि बनेको धनगढी अन्तर्राष्ट्रिय विमानस्थलमा आउने सबै विमानहरुको सिटहरु अग्रिम बुकिङ । तारे होटलहरुका कोठा बुक ।

यो सपना हो, आम सुदूरपश्चिमबासीले देखेको । जसको परिकल्पनाकार हुन्, सुवाश शाही । जो विगत १० वर्षदेखि ड्रीम फाप्लाको सपना बोकेर हिडेका छन् ।

अब यथार्थमा फर्किऔं, सपना देखेरमात्रै त अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुने होइन । त्यसको धरातलीय अवस्था के छ त? त्यसका लागि फर्किनुपर्ने हुन्छ, १५ वर्षअघि अर्थात २०६६ सालतिर ।

काठमाडौंमा अध्ययन सकेर गृहनगर धनगढी फर्किएका क्रिकेट प्रेमीले सुवास शाहीले आफ्नै कलेजको नामबाट २०६६ सालदेखि एसपिए कप क्रिकेटको सुरुवात गरे । जहाँबाट सुस्ताएको धनगढी क्रिकेट जुर्मुराएको हो । प्रतियोगिता त सुरू भयो तर यसले पहिलो संस्करणबाट नै क्रिकेट मैदान अभावको मुख्य चुनौती शाही र उनको टिम अघि आइलाग्यो ।

पहिलो र दोस्रो संस्करण धनगढीमा रंगशालामा जसोतसो गरियो । आधा मैदानमा फुटबल हुन्थ्यो भने आधा मैदानमा क्रिकेट प्रतियोगिता हुन्थ्यो ।

तेस्रो संस्करणदेखि एसपिए कपलाई देशकै सर्वाधिक धनराशी क्रिकेट प्रतियोगिता बन्यो । राष्ट्रिय तथा विदेशी खेलाडीहरु प्रतियोगितामा आइरिए । प्रतियोगिता देशकै ठूलो प्रतियोगिता बन्यो। तर, २०६८ मा धनगढीमा भएको छैठौं राष्ट्रिय खेलकुदले धनगढी रंगशालालाई पूर्णतः फुटबल मैदानका रुपमा विस्तार गरियो। मैदान बाहिर ट्र्याक निर्माण भयो। त्यसको प्रत्यक्ष मार क्रिकेटलाई पर्याे। फुटबलका लागि मैदान विस्तार भएपछि रंगशालाबाट क्रिकेट विस्थापित बन्यो।

विकल्पमा एसपिए कपको तेस्रो संस्करण तत्कालिन सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा  आयोजना गरियो । सानो मैदानमा दर्शक बस्ने ठाउँ पनि हुँदैनथ्यो । प्रहरी परिसरभित्र भएकाले अनुमति पाउन पनि अप्ठारो थियो । त्यसमाथि उक्त मैदानमा प्रहरीका तालिम, महोत्सव, विभिन्न सांस्कृतिक लगायत थुप्रै कार्यक्रम हुन्थे। जसकारण मैदान क्रिकेटका उपर्युक्त छदैँ थिएन ।

‘तर पनि अन्य विकल्पको अभावमा त्यही मैदानलाई खेल्न योग्य बनाइयो र एसपिए कपका तेस्रो र चौथो संस्करण त्यहीँ आयोजना भए,’ शाहीले सम्झन्छन्, ‘सन् २०१५ मा एसपिए कपको चौथो संस्करणअघि नै हामीले धनगढीमा क्रिकेटका लागि छुट्टै मैदान आवश्यक रहेकोबारे बहस सुरू गरिसकेका थियौ । खोज्दै जाँदा धनगढी नगरपालिका वडा नम्बर–४ स्थित मोहना नदिको छेउमा गौचरणका रुपमा रहेको फाप्ला मैदान भेटियो ।’

मैदानमा गाई–भैंसी चरिरहेका थिए । मैदानका बीच–बीचमा भैंसी आहाल बस्ने खाल्डा थिए । मैदानको एक भाग उच्च थियो, एक भाग होचो थियो । नदी किनार र खुला मैदान भएकाले जताजतै मलमुन्त्रको गन्ध आउँथ्यो । दुई छेऊमा फुटबलका पोल पनि गाडिएका थिए । नियाल्दा गाउँका स्थानीय युवाहरू कहिलेकाहीँ मैदानमा फुटबल खेल्नका लागि प्रयोग गर्ने गरेको देखिन्थ्यो ।

शाहीले त्यसैबेला फाप्लामा अन्तर्राष्ट्रिय रंगशालाको स्वरुप देखिसकेका थिए र त्यसको रोडम्याप सुरु गरे, स्थानीय लिगबाट । धनगढी क्रिकेट लिग (डिसीएल) को पहिलो संस्करण २०७० मा फाप्ला मैदानमा आयोजना गरे । खेलाडीहरूलाई बढीभन्दा बढी म्याच एक्सोजर दिने उद्देश्यले सुरू गरिएको डिसिएल छ महिना चल्थ्यो । फाप्लामा नियमित डिसिएलका खेल हुँदा फाप्लाले क्रिकेट मैदानको नाम पायो ।

‘डिसिएलको भाग एक र दुईको आयोजनापश्चात फाप्लाले स्थानीय स्तरमा क्रिकेट मैदानको परिचय बनाइसकेको थियो । अब राष्ट्रियस्तरमा क्रिकेट मैदानको परिचय फराकिलो बनाउने सोचिरहेको थिए शाही सम्झन्छन्, ‘हामीले फाप्लालाई राष्ट्रिय परिचय दिँदा सरकार र देशविदेशका नेपालीहरूलाई हाम्रो अभियानमा समेट्न सजिलो हुन्थ्यो । ड्रिम फाप्ला अभियानको उद्देश्य नै सबै नेपालीहरूको सहकार्यमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने हो ।’

वि.सं. २०७० मा काठमाडौंमा जोहरा स्पोर्टस म्यानेजमेन्टले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट आयोजना गर्ने घोषणा गर्यो । प्रतियोगितामा छ वटा टिमबाट सबै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडीहरूले सहभागिता जनाउँदै थिए । नेपाली क्रिकेटमा निजी क्षेत्रबाट गरिएको यो पहिलो ठूलो प्रयास हो । यसै प्रतियोगिताको वान डे संस्करण धनगढीमा गरिने निधो भयो ।

‘त्यतिबेला एनपिएल बहुप्रतिक्षित प्रतियोगिता थियो,’ शाहीले भने, ‘धनगढीले क्रिकेटको सहरको परिचय बनाइसकेकाले आयोजक जोहराले वान डे संस्करण धनगढीमा गर्ने निर्णय लिएको हो ।’

एनपिएललाई धनगढी बजारको बीचमा अवस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा आयोजना गर्न सकिने विकल्प थियो तर एनपिएलका स्थानीय आयोजक शाहीले प्रतियोगिता फाप्लामै गर्ने निर्णय लिए ।

त्यसको एउटै कारण थियो, बहुप्रतिक्षित एपिएलमार्फत फाप्लालाई देश तथा विदेशमा चिनाउँने ।

‘सुवास दाइको त्यो निर्णयले हामीलाई अचम्मित पार्याे,’ धनगढीमा एपिएल आयोजनाका अर्का स्थानीय व्यवस्थापक सौरभ ओझा सम्झन्छन्, ‘हामीसँग अञ्चल प्रहरी कार्यालयको मैदानमा सजिलोसँग प्रतियोगिता आयोजना गर्ने विकल्प उपलब्ध थियो । त्यहाँ आयोजना गरिँदा हाम्रो मेहनत र खर्च दुबै बचत हुन्थ्यो। बजारको बीचमा भएकाले खेलमा दर्शकहरू पनि धेरै आउने सम्भावना रहन्थ्यो । तर, सुवास दाइले फाप्लामा नै प्रतियोगिता गर्ने सोचिसकेपछि हामी फाप्लामा होमियौं ।’

फाप्लामा एनपिएल आयोजना निर्णय लिँदा त्यहाँ डिपिएल भाग–२ सञ्चालन भइरहेको थियो । एनपिएलका लागि मैदानको स्तरोन्नति गर्नुपर्ने भएकाले डिपिएल–२ तत्कालका लागि स्थगन गर्नुपर्यो। फाप्लामा एनपिएल गर्ने ठानिसकेका शाहीले फाप्लाको उच्च भाग सम्याउने, काटेको भागमा चपरी विछ्याउने, पिच निर्माण गर्ने, फाप्लामा पुग्ने बाटो निर्माण गर्ने, मैदानसम्म विद्युत लाइन पुर्याउने काम गरे।

‘प्रतियोगिता सञ्चालनअघि हामीले तीन महिना रात दिन फाप्लामा काम गर्याैं,’ ओझा सम्झन्छन्, ‘प्रतियोगिता सुरू हुनु एक हप्ता अगाडि हामीले मैदानलाई आवश्यक सम्पूर्ण मापदण्ड पूरा गरिसकेका थियौं ।’

एनपिएल सुरू भयो । देशभरिका खेलाडीहरू धनगढी पुगे । पत्रकारहरूले धनगढी भरियो । दर्शक मैदानमा खचाखच भए । फाप्ला वरिपरि बढेको चहलपहलले स्थानीयको आर्थिक क्रियाकलाप पनि बढ्यो ।स्थानीयले प्रतियोगिताका दौरान थापेका पसलबाट राम्रै आम्दानी गरे ।

‘एउटै प्रतियोगिताबाट मात्रै त्यसबेला सयौंले रोजगारी पाए,’ शाही स्मरण गर्छन्, ‘मैदानमा काम गर्ने कामदार, होटल व्यवसायी, व्यापारी, यातायात क्षेत्र तथा पर्यटक क्षेत्रको प्रवद्र्धनमा प्रतियोगिताको भूमिका महत्वपूर्ण रह्यो ।’

प्रतियोगिताले धनगढीको आर्थिक चहलपहल बढेपछि फाप्लामा रंगशाला बन्नुपर्ने कुरामा सबै एक ठाउँमा उभिए । शाही टिमले चाहेको पनि त्यही थियो । ‘एपिएलमा व्यक्तिगत खर्चमा मैदान स्तरोन्नति गर्नु, फाप्लालाई राष्ट्रव्यापी परिचय दिनु, दिनरात फाप्लामा खटिनु पछाडिको उद्देश्य फाप्लामार्फत समृद्ध सुदूरपश्चिमको परिकल्पना गरिनु थियो,’ शाही भन्छन् ।

त्यही माहोल समाएर शाहीले सन् २०१५ को फेब्रअरीमा ‘ड्रीम फाप्ला’े औपचारिक घोषणा गरे । जसको उद्देश्य देश विदेशमा रहेका नेपालीहरू, क्रिकेट प्रेमी, सरकार, निजी क्षेत्र, स्थानीयलाई समेटेर सबैले आफ्नो स्वामित्व महसुस गर्ने गरी क्रिकेट रंगशाला निर्माण गर्नु र सरकारले त्यहाँ क्रिकेट रंगशाला निर्माणका लागि दबाब दिनु थियो ।

शाही टिमले फाप्लामा गरेको कामलाई विश्वास गरेका क्रिकेट प्रेमीहरु सहयोग गर्न जुटे । रंगशाला निर्माणका लागि सहयोग क्रमशः जुट्ने जुट्यो । एसपिए कपको चौथो संस्करणमा प्रति टिकट पाँच रुपैयाँ छुट्याई एक लाख रुपैयाँभन्दा बढी रकम ड्रिम फाप्लाको खाता ‘सिड मनी’ का रुपमा शाही आफैले जम्मा गरे ।

लगत्तै स्थानीय रेडियो धनगढी ९०.५ मेगाहर्जले आफ्ना कर्मचारीको एक दिनको तलब तथा पाँच वर्षसम्म प्रति विज्ञापन पाँच रुपैयाँ यस अभियानका लागि छुट्याउने निर्णय गर्यो । शाहीकै स्वामित्वमा रहेको धनगढी यूनाइटेड क्लबले काठमाडौं क्रिकेट लिगको उपाधि जित्दाको रकममध्ये झन्डै ५० प्रतिशत रकम अभियानलाई हस्तान्तरण गर्यो । न्यू सिर्जनशील युवा क्लब अत्तरियाले ड्रिम फाप्ला अभियानलाई साथ दिँदै धनगढी क्रिकेट लिग–२ मा उपबिजेता भएमार्फत पाएको पुरस्कार राशीको झन्डै ४० प्रतिशत रकम दियो । सुदूरपश्चिम महोत्सवबाट कैलाली उद्योग वाणिज्य महासंघले प्रतिटिकट एक रुपैयाँ छुट्टायो । धनगढी प्रिमियर लिग (डिपिएल)को टिकट बिक्री भएको रकमको १५ प्रतिशत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान ‘ड्रीम फाप्ला’ मा जम्मा गरियो ।

त्यसपछि देशविदेशबाट सहयोग गर्ने कार्यक्रम जारी रह्यो । ‘ड्रीम फाप्ला’ अभियानका क्रममा आशातित भन्दा निकै कम अर्थात साढे आठ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमध्ये २ लाख ७७ हजार रुपैयाँ थ्रीडी निर्माण, मास्टरप्लान निर्माण, वेवसाइट निर्माण तथा प्रचारप्रसारमा खर्च भएको छ भने ५ लाख ६६ हजार रुपैयाँ अझै ड्रीम फाप्लाको खातामा बचत नै छ ।

‘रकम भन्दा पनि हाम्रा लागि यो अभियान थियो । कालान्तरमा हामीले सुरु गरेको यही अभियानमार्फत सरकारले नै विकास समिति बनाएर फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्राम निर्माण गर्ने निर्णय ग¥र्यो । जुन हाम्रो ‘ड्रीम फाप्ला’ अभियानको ठूलो उपलब्धि हो,’ शाहीले भने ।

सरकारले नै विकास समितिमार्फत फाप्ला रंगशाला बनाउँने निर्णय लिएपछि ‘ड्रीम फाप्ला’ अभियानको उद्देश्य पुर्ति भएको निष्कर्षमा ‘ड्रीम फाप्ला’को टोली पुगेको छ । विकास समिति सञ्चालन गठन आदेशमा सहयोग रकम लिने प्रावधान रहेकाले ‘ड्रीम फाप्ला’ मा वचत रकम विकास समितिलाई हस्तान्तरण गर्ने तयारी ड्रीम फाप्लाको छ ।

‘ड्रीम फाप्ला’ अभियानको दबाब स्वरुप सरकारले आर्थिक वर्ष २०७२/०७३ को बजेटमा फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने कुरा बजेट वक्तव्यमै उल्लेख गर्यो । त्यो पहिलोपटक थियो, जसबेला कुनै सरकारी कागजमा फाप्ला शब्द उल्लेख भएको थियो । सरकारको रेडबुकमा फाप्ला शब्द उल्लेख हुनु ड्रिम फाप्ला अभियानको ठूलो सफलता भएको शाही मान्छन् ।

सरकारले फाप्लालाई त चिन्न थाल्यो तर फाप्लामा रहेको सरकारी जग्गाका कारण त्यहाँ निर्माणको काम अघि बढाउँन जग्गा प्राप्ति गर्नुपर्ने मुख्य चुनौती थियो ।

साढे ३८ विघा जग्गा फाप्लाका लागि प्राप्त गर्न शाहीले १० वर्षदेखि निरन्तर संघर्ष गरेका छन् । त्यस संघर्षका साक्षीहरुमध्येका एक हुन्, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा ।

‘सुवाशले धेरै पहल गरेर फाप्लामा अन्तर्राष्ट्रिय रंगशाला चाहिन्छ । त्यसका लागि जग्गापनि छ भनेर जग्गा प्राप्तिको फाइल अघिल्लो सरकारको क्याबिनेटसम्म पु¥याएको थियो,’ मन्त्री देउवा भन्छन्, ‘ क्याबिनेटमा त्यत्रो जग्गा त्यहाँ किन चाहिन्छ भन्ने सोच भएका मानिसहरुले वर्षौ फाइल पेन्डिङ राखेका थिए । फाइल पूरानो भएर पूरै धुलो भइसकेको अवस्था थियो । पछि शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला त्यो फाइल खोजेर ल्याएर आउनुभयो र क्याबिनेटबाट पास गरियो ।’

उनी थप्छन्, ‘हिजो पनि रंगशालाको सपना देखाउने उहाँ(सुवाश) नै हो । अहिले सपना देखेपछि पूरा पनि गर्न सकिन्छ है भनेर देखाउँने र धनगढी धनगढी चिनाउँन व्यक्तिगत रुपमा लागेको मान्छे हो । कोशिश गर्ने मानिस भेट्न धेरै गाह्रो छ । त्यसकारण पनि म उहाँलाई सम्मान गर्छु ।’

अन्ततः शाहीको लामो प्रयासपछि २०७८ माघमा मन्त्रिपरिषद वैठकले फाप्ला अन्तर्राष्ट्रिय रंगशाला तथा खेलग्राम पूर्वाधार विकास समितिलाई साढे ३८ विघा जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

२०७९ बैशाखमा सरकारले ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश–२०७९’ राजपत्रमा प्रकाशित भएपछि सरकारले अपनत्व ग्रहण गर्दै फाप्लामा रंगशाला निर्माणको काम अघि बढाएको हो ।

राजपत्रमा उल्लेखित क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागि ९ सदस्यीय विकास समिति गठन गरिने व्यवस्थाअनुसार अघिल्लो वर्ष जेठ अन्त्यमा मन्त्रीपरिषद्मा विकास समितिको अध्यक्षमा शाही मनोनित गरेको थियो ।

नौ सदस्यीय विकास समितिमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख, सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख, उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष सदस्य रहने व्यवस्था छ ।

विकास समितिलाई क्रिकेट मैदान तथा खेलग्राम निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्वीकृत गर्ने, संरचना निर्माण गर्दा प्रचलित कानून बमोजिम गर्नु पर्ने प्रारम्भिक वातावरणिय परिक्षण वा वातावरणिय प्रभधाव मूल्यांकन गराउने, संरचना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने, क्रिकेट मैदान तथा खेलग्रामको पूर्वाधार निर्माण सम्पन्न गर्ने, पूर्वाधार निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापनको खाकासहित नेपाल सरकारलाई हस्तानतरण गर्ने लगायतका जिम्मेवारी दिइएको छ ।

विकास समितिको बैठकले हाल डीपीआर अघि बढाउँने निर्णय गरिसकेको छ । जसका लागि सरकारले बजेटको व्यवस्था पनि गरेको शाही भन्छन् ।

गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भने ठूलो ब्रेक थ्रु भएको छ । दुई प्रधानमन्त्रीबीचको भेटमा भारत सरकारले डीपीएरपश्चात फाप्ला निर्माणका लागि आवश्यक पर्ने बजेटको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । जुन हुन सकेँ सच्चाकै फाप्लामार्फत समृद्ध सुदूरपश्चिमको परिकल्पना साकार हुने दिन धेरै पर छैन ।

‘असम्भव केही पनि छैन । लिड गर्ने मान्छेले हिम्मत हार्नु हुँदैन,’ शाही विगतका संघर्ष सम्झँदै भन्छन्, ‘फाप्लाको जग्गा खोज्दै जादा त्यो भेटियो । उबडखाबड युक्त थियो । मैले सम्याउन डोजर छिराई दिए । स्थानीय आएर लखेट्न थाले । डोजर जलाई दिन्छौं भने । रातभर छलफलमा बस्यौं । कन्भिन्स गरौं । सानो गेमबाट सुरु गर्यो । त्यसपछि स्थानीयहरु नै पानी चाउचाउ ल्याएर बेच्न थाले । आम्दानी हुन थाल्यो । सकरात्मक प्रभाव पर्न थाल्यो । अहिले हेर्नुस त्यहाँ वरपर जग्गाको पनि करोडौं रुपैया भन्छन् । सोच ठूलो कुरो हो, चुनौती आउँछ । चुनौती आउँदा हामीले आफ्नो रणनीति बदलियौं । सपना कहिले बदलिएनौं । एक चोटीको जीवन हो । आफ्नो सपना पूरा नगरेर जादा मज्जा आउँदैन ।’

सुवाशको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सपनाको अन्तर्य

उनी भन्छन्, ‘खेल खेलाउँनका लागिमात्रै होइन । खेल खेलाउँन त मैदानमात्रै भए हुन्छ । धनगढीलाई अन्तर्राष्ट्रिय सिटी बनाउँन यो अभियान थालेका हौं । अन्तर्राष्ट्रिय रंगशाला बनाउँदा धनगढी आफैँ आफै ग्लोबल सिटीको रुपमा विकास हुन्छ । एउटै अन्तर्राष्ट्रिय गेम हुँदा हजारौं मानिस आउँछन् । अन्तर्राष्ट्रिय खेल हुने वित्तिकै धनगढी गर्मी छ त्यहाँ नजाऔं भन्दैनन कोही । फोर्सफुल्ली मान्छेहरु आकर्षित हुने हुन् । गेम लाइभ हुँदा विश्वभर धनगढीबाट लाइभ छ भन्ने देखिने हो । स्पोर्टसबाहेक अन्य जे सुँकै काम गरेपछि त्यति छिटो हामी ग्लोबल एरिनामा पुग्न सक्दैनौं ।’