Close This

भवन ६ वर्षसम्म अधुरै  सेती प्रादेशिक अस्पताल

मंगलबार फागुन १५, २०८०/ Tuesday 02-27-24
Paschim Today

धनगढी । सम्झौताअनुसार साढे दुई वर्षमा बन्नुपर्ने सेती प्रादेशिक अस्पतालको भवन ६ वर्षभन्दा समय बित्दासम्म अधुरै छ । निर्माण कम्पनीको लापरबाहीले लामो समयसम्म भवनको काम अलपत्र पर्दा अस्पताललाई भने भवन अभावले सेवा प्रवाहमा समस्या भइरहेको छ । भवन अभाव भएपछि अस्पतालले अधुरो भवनका केही कोठाबाट ओपिडी सेवा सुरु गरेपनि त्यो प्रर्याप्त छैन ।

१८ करोड ७४ लाख २८ हजारको लागतमा दुईतले भवन निर्माण गर्न रबिना–थेगिन जेभीसँग २८ कात्तिक ०७४ मा सम्झौता भएको थियो । सम्झौताअनुसार २७ वैशाख ०७७ मै भवन निर्माणको काम सम्पन्न हुनुपर्ने थियो । तर, भवन अझै अधुरो छ ।

अस्पताल भवन लामो समयसम्म नबन्दा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए । सेती अस्पतालमा भवनको अभावले सेवा विस्तारमा मात्रै होइन भएकै सेवा प्रभावकारी बनाउन समस्या भएको उनको भनाई छ ।

अस्पतालमा भवन अभावका कारण ओपिडी सेवा निर्माणाधिन भवनबाटै दिन थालिएको छ । पुरानो अस्पतालको आकस्मिक कक्ष सानो हुँदा बिरामीको उपचारमा समस्या हुने गरेको छ । अस्पतालको सेवा प्रभावकारी बनाउने योजना कार्यान्वयन गर्न अधुरो भवन बाधक रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाहले गुनासो गरे ।

२०७४ कात्तिक २७ गते दुई तले नवजात र मातृ शिशु विस्तारित भवन निर्माण गर्न काठमाडौँको रविना थेगिम जेभीले अस्पतालसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौतामा ३० महिनामा निर्माण सम्पन्न गरी भवन सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्ने उल्लेख छ । तर हालसम्म पनि ठेकेदार कम्पनीको लापर्वाहीका कारण भवन निर्माण अधुरै रहेको हो ।

निर्माण कम्पनीले हालसम्म ८५ प्रतिशतमात्र काम पूरा गरेको सहरी विकास सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका सुचना सूचना अधिकारी सौरभ कलौनीलले जानकारी दिए । ६ पटब भन्दा बढी थप भईसकेको भवनमा फेरि म्याद थप हुने कुनै सम्भावना नभए पनि काम भने अगाडि नबढेको उनले बताए । असार ११ गतेबाट दैनिक जरिवाना लाग्ने गरी काम भईरहेको उनले बताए ।

प्रदेशको ‘रिफरल’ अस्पतालका रूपमा रहेको सेतीमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । भवन अभावले सहजरुपमा उपचार प्रदान गर्न मात्रै नभई भवन अभावले सेवा विस्तार प्रभावकारी बनाउन समस्या छ ।

धनगढीको मुख्य सडक विस्तारका क्रममा अस्पतालको ‘ओेपिडी’ भवन भत्किएपछि भवनको अभाव छ । अस्पतालले निर्माणाधीन अधुरो भवनका केही कोठाबाट ओपिडी सेवा सुरु गरेको छ ।