Close This

सुदूरपश्चिम प्रदेश स्वास्थ आपूर्ति केन्द्रका प्रमुख डा. अर्याललाई हटाउने सरकारकाे निर्णय

बिहीबार फागुन १७, २०८०/ Thursday 02-29-24
Paschim Today

धनगढी । सुदूरपश्चिम प्रदेश स्वास्थ आर्पुति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्याललाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले बिहीबार अर्याललाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको सचिव शिवराम पोखरेलले जानकारी दिए ।

उनकाअनुसार मुख्यमन्त्रीस्तरीय बैठकले  अर्याललाई दोहोरो जिम्मेवारीबाट हटाएर दरबन्दी भएकै स्थानमा पठाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

सेती प्रादेशिक अस्पतालमा वरिष्ठ रेडियोलोजिष्ट पदमा कार्यरत अर्याल प्रदेश स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त निर्दशकको जिम्मेवारीमा थिए ।

उनलाई सामाजिक विकास मन्त्रालयले उनलाई ३० फागुन २०७९ मा  प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रको जिम्मेवारी दिएको थियो ।

तर अर्यालले भने प्रदेश सरकारले गरेको निर्णयविरुद्ध कानुनी उपचारमा जाने बताएका छन् । प्रदेशका चार अस्पतालमा एकीकृत अस्पतालजन्य फोहोर व्यवस्थापन प्रणालीका लागि उपकरण खरिद प्रक्रियामा मिलेमतो गरेको भन्दै प्रदेशसभाको सामाजिक विकास समितिले अर्यालमाथि छानबिन गरिरहेको थियो ।

छानबिन नसकिदासम्म उनलाई जिम्मेवारीमुक्त गर्न समितिले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको थियो तर मन्त्रालयले अर्याललाई पदमुक्त गर्ने अधिकार नभएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्राचार गरेको थियो ।