Close This

कतारमा नेपाली किन पर्छन् जेल ?

बुधबार चैत ७, २०८०/ Wednesday 03-20-24
Paschim Today

काठमाडौं । कतारको केन्द्रीय कारागारमा ६५ जनाभन्दा बढी नेपालीले जेल जीवन बिताइरहेका छन् ।कतारका लागि नेपाली राजदूत डा। नरेशविक्रम ढकालले ६५ जना नेपाली कतारको जेलमा रहेको जानकारी दिए । उनका अनुसार उनीहरू मादक पदार्थ सेवन गर्ने र बेच्ने, आर्थिक हिनामिना, चोरी र गाडी दुर्घटनाका कारण जेल परेका हुन् ।

‘अहिले कतारको जेलमा ६५ जनाभन्दा बढी नेपाली छन्,’ राजदूत ढकालले  भने, ‘यो अपडाउन भइरहन्छ, अधिकांश नेपाली मादक पदार्थ सेवन गर्ने र बेच्ने गरेका कारण जेल परेका छन्, केही आर्थिक हिनामिना, चोरी र गाडी दुर्घटनाका कारण जेल जीवन बिताइरहेका छन् ।’

कानुनी कारबाहीको सिलसिलामा अदालती प्रक्रिया पूरा गरी सजाय भुक्तानीका लागि उनीहरू जेलमा रहेको राजदूत ढकालले बताए । उनले नेपालीलाई कतारको कानुनलगायत सामाजिक, धार्मिक मान्यतालाई सम्मान गर्दै काम गर्न आग्रह गरेका छन् ।

कतारले मुस्लिम धर्मावलम्बीको पर्व रमजान र राष्ट्रिय दिवसका अवसरमा असल चालचलन भएका कैदीबन्दीलाई आममाफी दिँदै आएको छ । कतार नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य मुलुक हो, तर त्यहाँको कानुन कडा छ । नियम कानुन’दयगत थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा कतारमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् ।

कतारमा मादक पदार्थ सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । बिक्री वितरणको मात्राका आधारमा वर्षौंवर्षसम्म जेल सजाय हुनसक्ने तथा जरिमाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले त्यहाँ कार्यरत नेपाली समुदायलाई आग्रह गरेको छ ।

मादक पदार्थ ओसारपसार गर्ने कार्यमा जेल परेकालाई र जेल अवधि भुक्तान गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पुनः कतार फर्कन नपाउनेगरी डिपोर्ट गर्ने गरिएको छ ।

कतारमा अहिले ३ लाख १२ हजार ६ सय ५० जना नेपाली कार्यरत छन् । जसमा ११ हजार ९० जना महिला छन् । कतारमा ८० प्रतिशत नेपालीले निर्माण क्षेत्रमा काम गर्दै आएका पाइन्छ ।