Close This

एक दिनमै एप्पलले गुमायो १ खर्ब १३ अर्ब डलर

शुक्रबार चैत ९, २०८०/ Friday 03-22-24
Paschim Today

क्यालिफोनिर्या । आइफोन निर्माता कम्पनी एप्पलको समस्या घट्ने सङ्केत नै छैन । पहिला एप्पलमाथि उपभोक्ता र साना कम्पनीलाई नोक्सान पुर्‍याएको आरोप लागेको थियो । यो आरोपपछि शेयर बजारमा कम्पनीले ठुलो धक्का बेहोर्नु परेको छ ।

अमेरिकी सरकारले प्रतिस्पर्धा मिच्न नहुने कानुनको उल्लङ्घन गरेको भन्दै कम्पनीमाथि मुद्दा दायर गरेको छ । अमेरिकी न्याय मन्त्रालय र १६ राज्यका महान्यायाधिवक्ताले बिहीबार एप्पलविरुद्ध बजारमा एकाधिकार जमाएको भन्दै  मुद्दा दायर गरेका थिए । उता, युरोपमा कम्पनीमाथि त्यहाँको डिजिटल बजार ऐनको पालना गरिरहेको छ कि छैन भनेर छानबिन भइरहेको छ ।

यी खबरहरूसँगै बिहीबार एप्पलको शेयर मूल्य प्रतिकित्ता ४ दशमलव १ प्रतिशतले घट्यो । जसका कारण एकै दिन कम्पनीले करिब १ खर्ब १३ अर्ब डलर बराबरको बजार पुँजीकरण गुमाएको छ । एप्पल अनुसन्धानको दायरामा आएको यो पहिलो पटक होइन । कम्पनीमाथि पटक पटक प्रतिस्पर्धीहरूलाई दबाएर फाइदा लिएको आरोप लागेको छ । विश्वभरि नै एप्पलका उत्पादनको लोकप्रियता चुलिएको र यो धेरैको दैनिक जीवनको हिस्सा बन्न थालेपछि अधिकारीहरूले सतर्कता बढाइरहेका छन् ।

के हो आरोप ?

न्यु जर्सीको जिल्ला अदालतमा दायर गरिएको मुद्दाको अंशका अनुसार एप्पलको कार्यले उपभोक्ताहरू र उसको सेवासँग प्रतिस्पर्धा गर्ने साना कम्पनीहरूलाई हानी पुगेको छ । एप्पलको यस आचरणले पछिल्ला केही वर्षदेखि स्मार्टफोनमा उसको एकाधिकार बलियो बनेको सरकारको दाबी छ । परिणामस्वरूप कम्पनीलाई अनुचित लाभ भएको पनि बताइएको छ । मुद्दाको केन्द्रमा एप्पलको प्रमुख उत्पादन आईफोन छ ।

आलोचकहरूले तर्क छ कि एप्पलले आफ्नो उपकरणहरूमा प्रयोगकर्ताहरूको अनुभवलाई कठोर रूपमा नियन्त्रण गरेको छ । कम्पनीले प्रतियोगीहरूका प्रडक्ट र सेवालाई भन्दा बढी आफ्नै उत्पादन र सेवाहरूलाई प्राथमिकता दिएको पनि बताइएको छ । एकै साथ कयौँ मामिलाहरू बाहिरिरहँदा कम्पनीलाई क्षति हुने निश्चित छ । कम्पनीले यी मुद्दा जित्यो नै भने पनि उसलाई घाटा धेरै हुनेछ ।

अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर हुनुलाई कम्पनीले गलत भनेको छ । यो कारबाहीले कम्पनीको नवप्रवर्तन क्षमतामाथि खतरा भएको चेतावनी कम्पनीको छ । प्राविधिक डिजाइनमा सरकारी हस्तक्षेपले खतरनाक दृष्टान्त स्थापित गर्न सक्ने पनि कम्पनीको भनाइ छ । कारबाही विरुद्ध कडा प्रतिरक्षा गर्ने वाचा कम्पनीले गरेको छ । तर कम्पनीले युरोपमा भइरहेको अनुसन्धानबारे भने टिप्पणी गरेको छैन ।