Close This

सुदूरपश्चिम सरकारको समर्थन फिर्ता लिने निर्णय गरेका छौँ :दामोदर पण्डित

बुधबार चैत १४, २०८०/ Wednesday 03-27-24
Paschim Today

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाले काङ्ग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको संस्थापक केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी दिए ।

पार्टीले समर्थन फिर्ता लिने निर्णय गरे पनि तत्काल सरकार ढाल्ने प्रयास नगर्ने उनले बताए । ‘अहिले यो सरकार ढालिहाल्ने हामी पक्षमा छैनौँ’ उनले भने, ‘समर्थन फिर्ता लिने निर्णय गरेका छौ । तर काठमाडौं गएर छलफल गरेपछि मात्रै अगाडि बढ्छौ ।’

२१ जना संस्थापक केन्द्रीय सदस्यहरू मध्ये बहुमत सदस्यहरूले केन्द्रमा तयार भएको नयाँ गठबन्धन अनुसार प्रदेशमा पनि जाने निर्णय गरेको उनले बताए ।

‘माथि संघमा जुन गठबन्धनलाई साथ दिएको छ त्यहीँ गठबन्धनलाई प्रदेशमा पनि लैजाने निर्णय भएको छ’, उनले भने ‘आजको निर्णयलाई प्रधानमन्त्री शीर्ष नेताहरूसँग छलफल गरेर मात्रै समर्थन फिर्ता लिने कुरा अगाडी बढ्छ ।’

अहिले नाउपाका ७ सांसद मध्ये बहुमत काङ्ग्रेस नेतृत्वकै सरकारमा सहभागी हुन चाहन्छन् । नाउपाका ७ मध्य अहिले ५ जना मन्त्री छन् । उनी अर्को गठबन्धनमा त्यति मन्त्री हुने सम्भावना नरहेको बताउँछन् ।

पण्डितले भने पार्टीले नयाँ गठबन्धनमा जाने निर्णय गर्दा पार्टीले गरेको निर्णय पार्टी सांसदले मान्नु पर्ने बताउँछन् ।