Close This

खानेपानीको एक महिनाको बील १३ हजार पाँच सय आएपछि....

शुक्रबार चैत १६, २०८०/ Friday 03-29-24
Paschim Today

धनगढी, १६ चैत ।
चार जनाको एउटा परिवारले मासिक कति रुपैया बराबरको पानी खपत गर्ला ? पाँच सय, हजार अथवा दुई हजार रुपैया बराबर । न तरकारी र कृषि प्रयोजनमा खानेपानी प्रयोग हुन्छ । न त धारा खुल्छ । धनगढीमा खानेपानीको बील १० हजारभन्दा बढि आउन थालेपछि ग्राहकहरु आश्चर्यचकित भएका छन् ।

धनगढी उपमहानगरपालिका-१ एलएनचौक नजिकै रहेको करन साँउदको घरमा फागुन महिनाको खानेपानीको बील १३ हजार पाँच सय रुपैया आएको छ । त्यही छेउको भुवन जोशीको घरमा फागुन महिनाको खानेपानीको बील नौ हजार नौ सय ८७ आयो ।

अझ जुन दिन बील आयो, त्यही दिनदेखि धारामा पानी आएन । जोशीले धारा जडानका लागि निवदेन दिएको एक वर्षपछि नेपाल खानेपानी संस्थान धनगढीले धारा जडान गरेको थियो । र, धारा जडान गरेकै पहिलो महिनाको बील झण्डै १० हजार रुपैया आएको हो ।

नेपाल खानेपानी संस्थान धनगढीमा यस सम्बन्धमा दुबै परिवारले गुनासो गरे । कार्यालय प्रमुखले सो सम्बन्धमा सुनुवाईका लागि निवदेन दिन सुझाव दिए । दुबै परिवारले निवेदन समेत दिईसकेका छन् ।

साँउद चौलानी होटलका सञ्चालक समेत हुन् । होटलमा दैनिक ५० जना भन्दा बढि ग्राहकले पानी उपयोग गर्छन । र, फागुन महिनाको होटलको बील दुई हजार पाँच सय रुपैया मात्र आएको छ, साउँद भन्छन्, जुन घरमा मान्छे नै बस्दैनन । त्यो घरको खानेपानीको बील १३ हजार पाँच सय रुपैया आयो ।