धनगढीमा सार्वजनिक पुस्तकालयको पुनरुत्थान

सोमबार बैशाख ३१, २०८१/ Monday 05-13-24
-प्रेम राज अवस्थी

 

स्थानीय, प्रदेश र सङ्घीय सरकारहरू अहिले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट निर्माणमा जुटेका छन् । यही बेला यसो धनगढी उप-महानगरपालिकाको नीति कार्यक्रम र बजेट तर्जुमा गर्ने व्यक्तिहरूले यो लेख पढे र प्रभावित भए भने आउने आर्थिक वर्षको बजेट मा धनगढी जन-पुस्तकालयको पुनरुत्थानको विषय ले फ्याट प्रवेश पाउँथ्यो कि ?  स्थानीय नीति निर्माताहरू सुदूर-पश्चिमको धनगढीमा आधुनिक र नमुना पुस्तकालय बनाउन पहल गर्नेछन् भन्ने आशामा केही विचार प्रस्तुत गरेको छु।            

 करिब १९८,७९२ स्थायी जनसङ्ख्या र केही हजार अस्थाई बसोबास पनि भएको  सुदूरपश्चिम प्रदेशको मुख्य सहर धनगढीमा पुस्तकालय र पठन संस्कृति सम्बन्धी उदाहरणीय कार्य भए प्रदेश भरि र देश भरि नै भाइरल हुने ठुलो सम्भाबना छ । हाल प्रदेश राजधानी भएको र सुदुर-पचिम मा आउने आन्तरिक र बाह्य पर्यटकहरू (विशेष गरी छिमेकी भारतका ) धनगढी यसो एक दिन भए पनि बस्ने भएकाले सहर लाई चलायमान बनाएको छ। बेला बेला मा हुने साहित्यिक मेला महोत्सव ले धनगढीलाई थारु र डोटेली संस्कृति जान्न र बुझ्नको लागि सजिलो बनाएको छ। धनगढी सुदूर पश्चिमका लगायत नेपालका अन्य प्रदेशहरू सँग पनि सामाजिक, आर्थिक रूपमा जोडिएको हुनाले  धनगढी उप-महानगरपालिकाको प्रयास तथा कामहरूले राम्रै चर्चा परिचर्चा पाउने गरेको छ ।   

धनगढीले के अब ठुला  सपिङ मल, चौडा सडक र  झिलिमिली बत्तीले मात्रै चर्चा पाउने ? कसरी सुदूर नेपालको प्रमुख सहर लाई चिनाउने ? के  सहर को परिचय खालि रङ्गीचङ्गी र विलासीताका बस्तुहरू मा मात्र  सीमित राख्ने ? कसरी धनगढी लाई  बौद्धिक, सांस्कृतिक र प्राज्ञिक सहरको रूपमा पनि ब्रान्डिङ गराउने ? आगामी  पुस्ता जसको ज्ञान लिने तरिका फरक छ लाई परापूर्व काल देखिको ज्ञान हस्तान्तरण गर्ने ? यी र यस्ता प्रश्नहरू को उत्तर खोज्दा, भविष्यको परिकल्पना गर्दा र  ज्ञान लाई फलाउन, फुलाउन र धनगढी लाई र ज्ञानको भण्डारण र  बौद्धिक बहसको थलो बनाउन नयाँ संरचना वा भएका संरचनाहरु लाई पुनरुत्थान गर्न अति नै  जरुरी भइसक्यो। दसकौ देखि को कैलाली जन-पुस्तकालय जसमा  पुस्तकहरू पर्याप्त छैनन् र भवन पनि पुरानो, केही थान पुराना पुस्तक र पत्रपत्रिका मात्र छन्।  यसलाई लाई पुनरुत्थान, स्तरोन्नति गरी सो पुस्तकालय लाई रिब्रान्डिङ गर्दै नयाँ फराकिलो ठाउँमा बनाउने अथवा नगर भित्र कुनै नयाँ ठाउँमा नयाँ पुस्तकालय बनाउन विलम्ब गर्नु हुँदैन।

अत्याधुनिक सार्वजनिक पुस्तकालय ले पढ्ने संस्कृतिको विकास, शैक्षिक, सांस्कृतिक र सामाजिक गतिविधि लाई चलायमान बनाउन इन्जिन को काम गर्न सक्छ। नयाँ नयाँ पुस्तकको उपलब्धता ले युवा तथा अन्य उमेर समूहको भेटघाट र छलफल हुने  केन्द्रबिन्दु बन्न सक्छ। मानिसहरू सुपर-मार्केट, मल, मल्टिप्लेक्स, रेस्टुरेन्ट आदि संस्कृति लाई राम्रै सँगै स्वागत गरिराखेको बेला, पुस्तकालयमा जाने पढ्ने, विमर्श गर्ने र पुस्तक को आनन्द लिने संस्कार बसाल्न पनि धनगढी मा एउटा सुविधा सम्पन्न पुस्तकालय को जरुरत छ। जन स्तर बाट पनि अब खाली ठुला होटेल, रेस्टुरेन्ट, सम्मेलन केन्द्र को आवश्यकता को मात्र कुरा माग राख्ने हैन, साथ साथै बाल तथा ज्येष्ठ नागरिक उद्यान, सहरी वृक्षारोपण, पुस्तकालय, हिँड्न लायक सहर, पैदल यात्रु को लागी उचित बाटो, हरित यातायात लगायत मा अझ चासो बढाउनु पर्छ। 

विकास निर्माण लाई मानव विकास, दिगो र भविष्य केन्द्रित बनाउन र देश भरि दुई वर्ष अघिको भ्यू टावरको लहर र आजकल देशै भरका सहरहरुको झिलिमिली भाइरल रोडले सामाजिक संजाल रंगाई रहेको बेला धनगढीमा एउटा अत्याधुनिक पुस्तकालय बनाउने निर्णय र सो को कार्यान्वयन हुन् सके सारा प्रदेश र  देश भरि नै राम्रो सन्देश जाने छ र धनगढीले लाई पुस्तकालय प्रवर्द्धन संस्कृति मा अग्रणी भूमिका निर्बाह गर्न सक्ने छ। 

थप चर्चा गरौँ धनगढीमा आधुनिक पुस्तकालय को आवश्यकताको बारेमा।     

डिजिटल प्रविधिको बाबजुद पनि धनगढीका पढ्ने तथा पढ्न लेख्नमा रुचि राख्न सक्ने समूह लाई पुस्तकको सहज पहुँच छैन। बिभिन्न  विधाका किताबहरू उपलब्ध पनि छैन र अन्त बाट मगाउन सबै लाई पहुँच र श्रोत छैन। अब रह्यो कुरा इन्टरनेट को उपयोग गर्ने, खास मा किताब पढे जस्तो डिजिटलमा पढेको हुँदैन र डिजिटल किताबहरू पनि किन्ने पर्छ र सबै ले सो सामर्थ्य राख्दैनन्। बालबालिका हरू मा त इन्टरनेटको नकारात्मक प्रभाव बढी छ भन्ने अध्ययन ले भनिराखेको छ।  त्यसैले  एक सार्वजनिक पुस्तकालय जहाँ बालक, वृद्ध र विद्यार्थी  लाई कथा, साहित्य, सन्दर्भ सामग्री, र डिजिटल स्रोतहरूको विविध सङ्ग्रहमा निःशुल्क पहुँच होस् र थप ज्ञान हासिल गर्न, सिक्न, मदत पुगोस्।  

धनगढीमा थारु, डोटेली, नेपाली र केही हद सम्म छिमेकी उत्तर भारत तथा  कुमाउको सांस्कृतिक प्रभाव छ। सार्वजनिक पुस्तकालयले थारु, डोटेली  नेपाली, हिन्दी, अङ्ग्रेजी र अन्य यस भेगका बोली लगायतका विभिन्न भाषामा साहित्य उपलब्ध गराएर विविधता थप सशक्त बनाउन मदत गर्न सक्छ। साथै पुस्तकालयले सांस्कृतिक केन्द्रको रूपमा पनि काम गर्न सक्छ।  

पुस्तकालयमा बालबालिकाको लागि खेल्ने बगैँचाको साथ पुस्तकहरू हुँदा सानैदेखि पढ्ने र सिक्ने बानी बस्न सक्छ  र विभिन्न शैक्षिक कार्यक्रमहरू, कथा वाचन र अन्तरक्रियात्मक कार्यशालाहरू आयोजना गर्दा  युवाहरूमा जिज्ञासा, आलोचनात्मक चेत, र रचनात्मक सोच लाई प्रेरित गर्नेछ र भविष्यको जग खडा गर्नेछ र र धनगढीका  युवा र प्रौढ अब्बल होउन्। र सबैले भनुन् कि धनगढीका बालबालिका, युवा तथा ज्येष्ठ नागरिकहरू को कस्तो राम्रो पढ्ने बानी।   

पुस्तकालय परिसरमा साहित्यिक उत्सव र महोत्सव, पाठकहरूको समीक्षा लगायत  कार्यक्रमहरूले धनगढी जीवन्त सहर  बनोस् र लेखकहरू, कविहरू र पाठकहरू विचार आदानप्रदान गर्न संस्कार र वातावरण होस्। र बेला बेलामा स्वयंसेवकहरूले  लेखन कार्यशालाहरू सञ्चालन गरुन्, लेखनमा सरिक हुनेहरूले निरन्तर  सल्लाह र प्रेरणा लिन पाईराखुन। पुस्तकालय   सहजै ज्ञान लिने र  बाँड्ने थलो होस्।   

कोलाहल र विचलनले भरिएको यो समयमा पुस्तकालयले बौद्धिक प्रवचन र चिन्तनका लागि शान्त वातावरण गरोस् । निसासिँदो सहरी जीवनको माहौलमा पुस्तकालय परिसर थकित मानिसहरू लाई  स्फूर्ति र प्रेरणा दिन सकोस्। यहाँ, हरियाली र चराहरू को  सुमधुर आवाजको बिचमा, मानिसहरू आराम पूर्वक पढ्न सकुन् ।

अब त पहिले भन्दा अध्ययन गर्ने समुदाय बालक देखि वृद्धा सम्म तयार छ।  धेरै भन्दा धेरै जनसङ्ख्या पुस्तक पढ्न र साहित्य तथा अन्य प्राज्ञिक काममा संलग्न हुन खोजिराखेको छ। यदि सुदूर-पश्चिमको केन्द्र धनगढीमा आधुनिक  पुस्तकालय स्थापन गर्ने हो भने स्थानीय बासिन्दा लगायत पर्यटकहरू पनि  ३- ४ घण्टा पुस्तकालयमा चिया, कफी, लसी पिउँदै  सुदूरपश्चिम को संस्कृति को मज्जाले अध्ययन गर्न सक्छन् र नयाँ गन्तव्य र प्रदेशको आकर्षण केन्द्र हुन् सक्छ । यसका लागि अलि बृहत् सोच सहित जग्गा पनि उपलब्ध गराउन सक्नु पर्छ।    

जहाँ सम्म लाग्छ सार्वजनिक पुस्तकालय को लागि धनगढी उपमहानगरपालिका मा सार्वजनिक जग्गा उपलब्ध हुनु पर्ने हो। कम्तीमा पनि एक  बिघा जग्गा मा  पुस्तकालय सहित बगैँचा, बाल उद्यान, एउटा डबली-पुस्तक चर्चा गर्ने थलो, साहित्यिक मेला, नाट्य प्रहसन गर्न मिल्ने ठाउँ पनि बनाउन  सकिन्छ।  

यी उल्लेखित सेवा र सोच सहितको पुस्तकालय स्थापनको लागि लागि धनगढी उप-महानगरपालिकाले प्रदेश सरकार र सङ्घीय सरकार सँगै सहकार्य गर्न सक्छ। र स्तरीय पुस्तकालय स्थापना धनगढी को गौरवको आयोजना हुन् सक्छ।   पुस्तकालय सञ्चालन र दिगोपन को लागि विभिन्न मोडेलहरूको अवलम्बन गर्न सकिन्छ, यदि साच्चै  स्तरीय पुस्तकालय स्थापनाको लागि उप-महानगरपालिका देखि जन-समुदाय सम्म तयार हुने हो भने, पुस्तकालय सञ्चालनको उचित मोडेलमा  चर्चा र बहस गर्न सकिन्छ।  

अहिले लाई हामी सबै धनगढीका बासिन्दा करदाताको हैसियतले आधुनिक पुस्तकालय आवश्यकता लाई मनन गर्दै र  झिलिमिली वाला धनगढी सहित अब पुस्तक, पुस्तकालय तथा अध्ययन गर्ने बगैँचा सहितको धनगढी बनाउन लागौँ र नगर को आउने आर्थिक वर्षको बजेट बनाउन अघि नै भनौँ, धनगढीमा आधुनिक पुस्तकालय बनाउनै पर्छ। 

( प्रेम राज अवस्थी, संयुक्त राष्ट्र संघमा कार्यरत छन्। यी उनका निजी विचार हुन् )