प्रमुख दलहरूमा बढ्दै पुस्तान्तरण बहस

आइतबार भदौ २९, २०८२/ Sunday 09-14-25
Paschim Today

काठमाडौं २९ भाद्र । सत्ता ढाल्ने गरी भएको जेन–जी आन्दोलनपछि प्रमुख दलहरूमा पुस्तान्तरणको बहस अघि बढेको छ । कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीका दोस्रो र तेस्रो तहका नेताहरूले नेतृत्व हस्तान्तरणको माग गर्न थालेका छन् । तर, शीर्ष नेताहरू भने अझै मौन छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवा अस्पतालमा उपचाररत छन् । एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अझै सेनाको सुरक्षामा छन् । ठूला दलका शीर्ष नेतृत्वप्रति जेन–जी पुस्ताले आक्रोश पोखे पनि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणबारे मौन रहेपछि दोस्रो र तेस्रो तहका नेताहरू खुलेर बोल्न थालेका हुन् ।

जेन–जी पुस्ताको माग सम्बोधनको सट्टा नृशंस दमनको बाटो अख्तियार गरेको र देश चलाउन सत्तापक्ष कांग्रेस–एमाले शीर्ष नेतृत्व असफल भएको भन्दै ती पार्टीहरूमा पुनर्गठनको आवाज मुखरित बन्न थालेको हो । संसद् विघटनप्रति असहमति जनाउँदै प्रमुख पार्टीभित्र दोस्रो तह र तलतलका नेता–कार्यकर्ताले पुनर्गठनको मुद्दालाई मुखर बनाउँदै गएका छन् । दोस्रो तहका नेताहरूले मिलेर वक्तव्य जारी गर्दै असफल पूर्वप्रधानमन्त्रीहरू सबैले नेतृत्व हस्तान्तरण गरेर राजनीतिबाट अवकाश लिन माग गरेका थिए । कांग्रेस र एमालेले पछिल्लो घटनाक्रमको गम्भीर समीक्षा गरेर अगाडि बढ्ने बताएर पुनर्गठनमार्फत अगाडि बढ्ने संकेत गरेका छन् । 

कांग्रेस नेता शेखर कोइरालाले देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको भन्दै कांग्रेसभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउनुपर्ने धारणा सार्वजनिक गरेका छन् । त्यस्तै, माग महामन्त्री गगन थापाले बिहीबारै सार्वजनिक गरेका थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि शनिबार भिडियो वक्तव्यमार्फत नेतृत्व फेर्नुपर्ने सन्देश सम्प्रेषण गरेका छन् ।

महामन्त्री शर्माले सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् । ‘मैले पार्टीमा पनि कुरा राखेको हुँ, तर निर्णय गराउन सकिनँ, चुनाव हुन्छ । नयाँ सरकार बन्छ प्रधानमन्त्री उनीहरू नै । उहाँले अहिले छोड्नुहुन्छ भनेर पर्खिनुपर्ने, छाडिदिनुस् भनेर अनुरोध गर्नुपर्ने, त्यसैले अब यसलाई सिस्टममा ल्याऔँ । विधिमा ल्याऔँ । ताकि भोलि गगन–विश्वको पुस्ताले नेतृत्व गर्दैगर्दा पछि कसैले छाडिदिनुस् भन्न नपरोस्,’ शर्माले भिडियो सन्देशमा भनेका छन् ।