यौन काण्डमा जेल बसेर निस्किएपछि ‘बाबा’ बनेका जाटव, जसको खुट्टाको धुलो लिन भागदौड गर्दा सयौंले ज्यान गुमाए

शुक्रबार असार २१, २०८१/ Friday 07-05-24
Paschim Today

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लास्थित सिकन्दरराव क्षेत्रको पुलराई गाउँमा आयोजित सत्संगमा मच्चिएको भागदौडमा हालसम्म १२२ जनाको मृत्यु भएको छ । यो संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार सत्संग सकिएपछि भक्तजनबीच बाबाको खुट्टाको धुलो लिन प्रतिस्पर्धा भएको थियो र त्यही कारण भागदौड भएको थियो ।

अब प्रश्न उठ्छ त्यो सत्संग कसको थियो ?

 

 

यो सत्संग नारायण साकार हरि नामक कथाकारको थियो, जसको पोस्टर हाथरसको सडकमा टाँसिएको थियो । यी कथाकारलाई मानिसहरूले भोले बाबा र विश्वहरिको नामले पनि चिन्छन् ।

जुलाई महिनाको पहिलो मंगलबार हुने कार्यक्रमको नाम मानव मंगल मिलन र आयोजकको नाम मानव मंगल मिलन सद्भावना कार्यक्रम समिति रहेको छ ।

यस समितिका छ जना आयोजक अहिले फरार छन् ।  प्रहरीले उनीहरूको खोजी गरिरहेको छ । अलिगढका प्रहरी महानिरीक्षक शलभ माथुरका अनुसार सत्संग समारोहको आयोजक बोर्ड र बाबा विरूद्ध गम्भीर धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

आयोजक समितिका सदस्य र भोले बाबाको पनि खोजी भइरहेको छ तर, सबैले आफ्नो मोबाइल स्वीच अफ गरेका छन् ।

को हुन् भोले बाबा नारायण साकार हरि ?

सत्संग बाबाको वास्तविकता कुनै फिल्मी कहानी भन्दा कम छैन । नारायण साकार हरिको वास्तविक नाम सुरजपाल जाटव हो । उनी प्रहरी जवानको जागिर छोडेर बाबा बनेका थिए । उनले सोही क्रममा केही समयमै लाखौं भक्त बनाए ।

उनी एटाबाट छुट्टिएको कासगञ्ज जिल्लाको पटियालीको बहादुरपुर गाउँका बासिन्दा हुन् । उत्तर प्रदेश प्रहरीमा जागिरको सुरूवाती दिनमा उनी स्थानीय गुप्तचर इकाई (एलआईयू)मा कार्यरत थिए ।

भक्तजनबीच बाबाको खुट्टाको धुलो लिन भागदौड, मृत्यु हुनेको संख्या १२२ पुग्यो

उनी लगभग २८ वर्ष पहिले यौन दुर्व्यवहारको मुद्दामा आरोपित भएका कारण निलम्बनमा परेका थिए । पछि उनी प्रहरी सेवाबाट बर्खास्त भए । तर, यसअघि उनले करिब १८ प्रहरी चौकी र स्थानीय गुप्तचर निकायमा काम गरिसकेका थिए ।

इटावाका वरिष्ठ प्रहरी उपरीक्षक सञ्जय कुमारका अनुसार जाटव यौन दुर्व्यवहारको मुद्दामा लामो समयसम्म थुनिएका थिए र जेलबाट छुटेपछि मात्रै उनी बाबाको रूपमा प्रकट भएका थिए ।

प्रहरीको जागिर छोड्ने निर्णय

प्रहरी सेवाबाट बर्खास्त भएपछि जाटव अदालत गए र उनको जागिर पुनर्स्थापित भयो तर, सन् २००२ मा जाटवले आगरा जिल्लाबाट वीआरएस लिए ।

प्रहरी सेवाबाट बिदा लिएपछि जाटव आफ्नो गाउँ नगलाबहादुरपुर पुगेका थिए, जहाँ केही दिन बसेपछि उनले भगवानसँग संवाद भएको दाबी गर्दै आफूलाई भोले बाबाको रूपमा स्थापित गर्ने काम गर्न थाले ।

केही वर्षमै उनका भक्तहरूले धेरै नामले बोलाउन थाले र ठूला-ठूला कार्यक्रम आयोजना गर्न थाले, जसमा हजारौं मानिस सहभागी हुन थाले ।

जाटव आजकाल गाउँ कमै मात्रमा जाने गर्थे । तर, बहादुरपुर गाउँमा उनको च्यारिटेबल ट्रस्ट सक्रिय छ । जाटवले सत्संगमा आफूलाई सरकारी जागिरबाट यहाँ कसले ल्याएको थाहा नभएको दाबी गर्छन् ।

बिना दान र दक्षिणा धेरै आश्रम

यो पनि चाखलाग्दो कुरा हो कि जाटवले आफ्ना भक्तहरूबाट कुनै दान, दक्षिणा वा भेटी लिँदैनन् तर, पनि उनका धेरै आश्रम स्थापना भएका छन् ।

उत्तर प्रदेशका अन्य धेरै ठाउँमा स्वामित्वको जग्गामा आश्रम स्थापना गर्ने तयारी भइरहेको छ ।

जाटव आफ्नो सत्संगमा सेवादारको रूपमा आफ्ना भक्तहरूको सेवा गरिरहेको देखिन्छ । यो सम्भव छ कि उनले आफ्ना भक्तहरूमा लोकप्रिय बन्नका लागि यो सबै सोचेर गर्छन् ।

उनी सधैँ सेतो कपडामा देखिन्छन् । जाटव पाइजामा, कुर्ता, प्यान्ट सर्ट र सुटिङमा पनि देखिन्छन् । यद्यपि, उनी इन्टरनेटमा धेरै लोकप्रिय छैनन् । सामाजिक सञ्जालमा उनका भक्तको खासै उपस्थिति छैन ।

तर, तल्लो तहमा उनका भक्तहरूको संख्या लाखौंमा छ । हरेक सत्संगमा हजारौं भक्तजनको भिड लाग्छ ।

यस्ता कार्यक्रमहरूमा सयौं स्वयंसेवक हुन्छन् जसले पानी, खानादेखि ट्राफिक व्यवस्थासम्म सबै कुराको व्यवस्थापन गर्छन् ।

कार्यक्रमको वरपरका बस्तीका मानिसहरूले यसअघिको कार्यक्रममा यस्तै अराजकता देखिएकाले आगामी दिनमा बाबाको कार्यक्रमलाई अनुमति नदिन प्रशासनिक अधिकारीलाई अनुरोध पनि गरेका थिए ।

भक्तहरूको बिन्ती

बाबाका भक्तहरूमा समाजवादी पार्टीका नेता जसवंतनगरका पूर्व ब्लक प्रमुख अनवर सिंह जाटव पनि छन् । भोले बाबाले सत्संगमा मानवताको सन्देश दिने अनवरसिंह जाटव बताउँछन् ।

उनले भने, ‘उहाँले मानिसहरूलाई मायाले बाँच्ने आश्वासन दिनुहुन्छ । एकताबद्ध रहन आग्रह पनि गर्नुहुन्छ ।’ अनवर सिंहका अनुसार बाबाले सत्संगमा मोबाइल प्रयोगको आलोचना गर्छन् ।

जाटवका अनुसार भोले बाबाले जहाँ प्रचार गर्छन्, त्यहाँ समिति बनाइन्छ र समितिमा रहेका सबैलाई जिम्मेवारी दिइएको हुन्छ । सत्संग सफलतापूर्वक सञ्चालन गर्न समितिका सदस्यहरूले आपसमा चन्दा सङ्कलन गरी कार्यक्रम आयोजना गर्दछन् ।

मानव मंगल मिलन सेवा समितिको ब्यानरमा इटावामा सत्संगको आयोजना गरिएको थियो ।

समितिका अध्यक्ष राजकिशोर यादव भन्छन्, ‘बाबाको कुनै सत्संगको कार्यक्रम हुँदा त्यसको जानकारी गराइन्छ, त्यसैको आधारमा आफ्नो कमिटीमार्फत पूरै व्यवस्था मिलाइदिन्छ ।’

बीबीसी हिन्दीबाट