८ अंकले घट्यो नेप्से

बुधबार बैशाख १७, २०८२/ Wednesday 04-30-25
Paschim Today

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन पनि गिरावट आएको छ । सोमबार र मंगलबार घटेको बजार बुधबार पनि ८.१४ अंकले घट्दै २६२३.८३ विन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से १५.०८ अंकले घटेको थियो भने सोमबार १४.५३ अंकले घटेको थियो । तर, आइतबार भने नेप्से ३.५८ अंकले बढेर २६६१.६० विन्दु कायम भएको थियो ।

बुधबार सूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्सेमा कुल ९ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल ७ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये १०७ कम्पनीको सेयर मूल्य बढ्दा १३६ कम्पनीको घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

बुधबार समाज लघुवित्त वित्तीय संस्था, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.७७ प्रतिशतले उकालो लागेको छ । आज भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

बुधबार राधी विद्युत् कम्पनीको कारोबार सर्वाधिक भएको छ । राधी विद्युत्को ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदा ङादीको ५२ करोड ९९ लाख, सानिमा माई हाइड्रोपावरको ५० करोड ९४ लाख र अरुन भ्याली हाइड्रोपावरको ४२ करोड ३० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।