रेशम पक्राउपछि राजीनामा बोकेर हिँडे अरुण, प्रधानमन्त्रीलाई बुझाउन नपाई रिहा

बुधबार बैशाख १७, २०८२/ Wednesday 04-30-25
Paschim Today

कैलाली । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आज एकाएक पक्राउ परे । ६ महिना पहिलेदेखि जनमत पार्टीसँग आन्तरिक रूपमा पार्टी एकताको छलफलमा रहेका रेशम पार्टी एकता घोषणा भएकै दिन रहस्यमय ढङ्गले पक्राउ परेका हुन् ।

सङ्घीय सरकारमा नागरिक उन्मुक्ति पार्टी सरकारमा छ । नाउपाको तर्फबाट अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री छन् । आफ्नै दलका संरक्षक पक्राउ परेलगत्तै राज्यमन्त्री चौधरीले राजीनामा दिने बताएका थिए ।

राजीनामा बोकेर डिल्लीबजार पुगेका अरुणले राजीनामा बुझाउनु भन्दा पहिल्यै रेशम रिहा भए । संरक्षक पक्राउ परेपछि उनले झन्डावाल गाडी समेत प्रयोग गरेनन् ।

 

‘विनाकारण संरक्षकलाई पक्राउ गरेपछि आजै उहाँले (राज्यमन्त्री) राजीनामा दिने तयारी गर्नु भएको थियो ’ राज्यमन्त्री निकट स्रोतले भन्यो ‘राजीनामा बुझाउनु भन्दा पहिल्यै संरक्षक रिहा हुनुभयो । पक्राउ परेपछि रिहा नहुँदासम्म झन्डावाल गाडी पछि चढ्नु भएन । ’

राज्यमन्त्री चौधरीले राजीनामा दिने बताएपनि संरक्षक रिहा भएपछि तत्काल त्यो रोकिएको छ ।

‘राजीनामा गोजीमै बोकिरहनु भएको छ । संरक्षक रिहा भएपछि फेरी झन्डावाल गाडी प्रयोग गर्नुभएको छ तर, राजीनामाको विषयमा छलफल हुन बाकी छ ’ उनी निकट स्रोतले भन्यो ‘पार्टीले केही निर्णय गर्ला त्यसपछि थप कुरा बाहिर आउँला ।’

आज नागरिक उन्मुक्ति र जनमत पार्टी एकताको मिति तोकिएको थियो तर, एकता भन्दा पहिल्यै रेशम पक्राउ परेपछि त्यो पनि भाँडिएको छ । अब नयाँ मिति तय भएको छैन ।