गृहमन्त्रीको राजीनामा नआएसम्म माओवादीले संसद चल्न नदिने

काठमाडौं : माओवादी केन्द्र भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिए संसद चल्न नदिने निर्णयमा दृढ देखिएको छ।
सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसद अवरोध कायम राख्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।‘भोलिको संसद अवरुद्ध नै हुन्छ,’ उनले भने, ‘गृहमन्त्रीको राजीनामा माग विपक्षी मात्रै होइन, आम जनसमुदाय र मिडिया पनि उठाइरहेका छन्। भिजिट भिसा प्रकरण सेटिङ भएको देखिन्छ। को–को संलग्न छन् भन्ने कुरा छानबिनले देखाउँछ, त्यसको लागि लेखकले बाटो खाली गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो।’
बैठकमा सहभागी नेताहरूले लेखकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने धारणा राखेका थिए। त्यस्तै, माओवादी केन्द्रले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले निम्न वर्ग र किसानजस्ता आधारभूत तहलाई छुन नसकेको निष्कर्ष पनि निकालेको छ।
तपाईको प्रतिक्रिया