पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल

शनिबार जेठ २५, २०८२/ Saturday 06-07-25
Paschim Today

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको दाबी गरेका छन् ।

पार्टी निकट मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको भूमिका देखेर आत्तिएकाहरूले भ्रष्टाचारको मुद्दा लगाउन खोजेको बताए ।

‘नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ, पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका छन्’, उनले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै भने, ‘पूर्वाग्रह राखेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको छ ।’

नेता नेपालले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको दाबी गरे ।

उनले भने, ‘मैले भन्ने गरेको छु नबिराउनु, नडराउनु । आफ्नो स्वार्थको लागि कुनै काम भएको छैन भनेर आत्तिनुपर्ने छैन । गलत आरोपमा दृढतासाथ उभिन्छौँ । मलाई विश्वास छ न्यायपालिकाले मलाई न्याय दिनेछ, हामीले न्यायालयलाई विश्वास गर्नुपर्छ ।’