सफलताको चाङमा उभिएका शौभाग्य

भनिन्छ, एउटा सफलताका पछाडि कैयौं असफलता लुकेका हुन्छन् । बाटोका मोड जस्तै हुन्, असफलता । आईरहन्छन । मोडहरुलाई पार गरेर अघि बढ्नेहरु सफल हुन्छन् । नसक्नेहरु त्यही मोडमा हराउछन् ।
शौभाग्यलाल श्रेष्ठ अपवाद थिए । उनी पटक पटक असफल भए । असफलतालाई पैतालामुनी कुल्चिएर उनी अघि बढिरहे । हुन् पनि, मान्छे एउटै असफलतबाट आत्तिन्छ । निराश हुन्छ । भाग्य सराप्छ । तर उनी न निराश भए । न गले । न आत्तिए । उनले उल्टै असफलताको चाङलाई सिढि बनाए । र उभिए, सफलताको शिखरमाथि ।
बासंग पटक्कै मेल नखाने उनको केमेष्ट्रि । सफल हुन नसक्ने उनी । उनको असफलता नस्वीकार्ने पिता ।
मान्छेका जीवनमा पछाडिबाट धकेल्ने । हात तान्ने । कोही न कोही हुनपर्छ । तव मान्छे कठिन घडीमा पनि सहजै अघि बढ्छ । उनका लागि बा थिए । जसले कहिले रोकिन दिएनन् । बा भरोसा । बा तागत । बाको दरिलो आड । बाले पछाडि फर्किन दिएनन् । र त, उनले कहिल्यै पछाडि हेर्न परेन ।
२००९ साल साउन १२ गते कृष्ण पञ्चमीमा जन्मिएका उनी कनकलाल श्रेष्ठ र सावित्री श्रेष्ठका माहिला सन्तान थिए । उनीभन्दा अघि एक दाई, एक दिदी थिईन । पछि एक भाई ।
उनको जन्म तत्कालिन काठमाण्डौं – २६ कमलपोखरी (हाल– १) मा भएको थियो । हाल सिटी सेन्टर रहेको ठाउँमा गोठ थियो । त्यही गोठ उनको जीवनको पहिलो पाठशाला थियो । दिउँसो त्यहाँ पढाई हुन्थ्यो । एक जना पुरेतले पढाउथे । उनले त्यहाँ छ महिना पढे ।
२०१४ सालमा उनी मण्टेश्वरीमा भर्ना भए । हाल जहाँ विश्वज्योती हल छ । पारीपट्टि मण्टेश्वरी । मण्टेश्वरीको पूर्वपट्टि ईञ्जिनियरिङ स्कुल थियो । स्कुल जादा हरेक दिन ईञ्जिनियरिङ स्कुलको साईनबोर्ड देख्थे । त्यही साईन बोर्ड हेर्दा हेर्दै उनभित्र हुर्किएको थियो, ईञ्जिनियर बन्ने सपना ।
एउटा बहुचर्चित भाषणमा मार्टिन लुथर किङले भनेका थिए, मसंग एउटा सपना छ ।
मान्छेले बाँचेको जीवन, भोगाई, परिवेश र आवश्यकताहरुले सपनाको निर्माण गर्छ । उनको त्यो सपना जातीय समानताको थियो । अन्ततः उनले त्यो सपना पुरा गरीछाडे ।
त्यस्तै एउटा सपना शौभाग्यभित्र पनि हुर्किएको थियो । उनलाई सपनाको मूल्य थाह थिएन । देख्नलाई के को मूल्य ? उनले ईञ्जिनियर बन्ने सपना देखे ।
मण्टेश्वरी स्कुलमा थिईन, चन्द्रकला किरण गुरुआमा र दामोदर गुरुवा । गुरु आमा र गुरु बाका अगाडि को देखा परोस । डर र सम्मान उस्तै ।
उनका बा शिक्षक थिए । बाले शान्ति विद्या गृहमा लैनचोरमा भर्ना गरिदिए । योगनाथ प्याकुरेल हेडसर थिए । मण्टेश्वरीबाट सोझै ४ कक्षामा भर्ना भए । अरु कक्षा पढ्नै परेन । उनी सबैभन्दा सानो थिए । सबैले पिट्थे । लुक्न छेउको कन्या स्कुल जान्थे । कमलपोखरीबाट हिडेर ४० मिनेटमा स्कुल पुग्थे ।
२०१६ सालमा ५ कक्षामा दरवार हाईस्कुलमा भर्ना भए । स्कुलमा खाजा दिन्थ्यो । खाजामा जलेवी, स्वारी, बम्बईसन (गुँदपाक) मिल्थ्यो । सबै निशुल्क । परीक्षा शुल्क भने दुई रुपैया ।
बासको कलम । माटोको मसी भाडो । नेपाली कागज । मसीमा कलम चोप्यो । लेख्यो । अहिलेजस्तो कलम, कापी आईसकेको थिएन ।
उनी ५ कक्षा पास भए । ६ कक्षामा भने उनलाई ६ विषय लाग्यो । नेपाली र संस्कृतमा पास । अरु सबैमा फेल ।
बाले शान्ति विद्या गृह लैनचौरमा ७ कक्षामा भर्ना गरि दिए । उनी त भाग्यमानी । नामै सौभाग्य । फेल भएपनि कक्षा दोह¥याएनन् ।
विश्वम्भरनाथ प्याकुरेल उनका मिल्ने साथी थिए । उनको रोल नम्बर ५१ । प्याकुरेलको ५२ । आठ कक्षा त्यही पढे ।
परीक्षाको समय थियो । बिफर फैलियो । परीक्षा रोकियो । साउन, भदौमा पढाई पनि भएन ।
पढे शान्ति गृहमा । बाले उनलाई प्राईभेटबाट परीक्षा दिलाए, जेपी हाईस्कुल क्षेत्रपाटीबाट । बा शिक्षक हुनुको फाईदा यहाँ पनि भयो । पास भए । ९ कक्षामा भर्ना भए । पद्मोदय स्कुलमा । २०२१ सालमा ।
त्यहीबाट एसएलसी दिए । दुई विषय लाग्यो । फेल भए । उनी पास कम । फेल बढि हुन्थे । एसएलसीमा पनि त्यही भयो । माघमा जाँच हुन्थ्यो । असारमा रिजल्ट आउथ्यो । उनले पुनः परीक्षा दिए । २०२३ सालमा रिजल्ट आयो । उनी पास भए ।
न्यूरोडमा परीक्षा नियन्त्रण कार्यालय थियो । रिजल्ट आउथ्यो, राससको अफिसमा । त्यहाँ रिजल्ट हेर्नेको भीड लाग्थ्यो । भीड भडकियो । रसियन भोल्गा कारमा भीडले आगो झोस्यो । कार जलेर खरानी ।
न्हयौखा क्षेत्रपाटीमा कन्या मन्दिर हाईस्कुल थियो । विहान त्यहाँ महेन्द्र रत्न पब्लिक कलेजको पढाई हुन्थ्यो । राजा महेन्द्रले त्यो स्कुल उद्घाटन गरेका थिए । २०२४ सालमा उनी महेन्द्र रत्न पब्लिक कलेजमा भर्ना भए । रत्नका छात्रहरुले कन्या मन्दिरका छात्राहरुलाई जिस्क्यायो भनेर कलेज बसन्तपुमा सारियो । कुमारी घरको अगाडि कलेज सञ्चालन हुन थाल्यो ।
उनको घरबाट कलेज पुग्न साईकलमा २५ मिनेट लाग्थ्यो । बिहान ६ देखि ८ः४० बजेसम्म चार पिरियड पढ्थे । घर जान्थे । भात खाएर थापाथली पढ्न जान्थे । थापाथलीमा टेक्निकल टे«निङ ईन्स्टिच्यूट थियो । हाल सञ्चालित ईञ्जिनियरिङ अध्ययन संस्थान त्यही हो । क्याम्पसमा एक वर्ष बेसिक टे«निङ गरे । वेल्डिङ र फोर्जिङको ।
त्यहाँ ईलेक्ट्रिक, मेकानिकल र अटोमेकानिक्सको पढाई हुन्थ्यो । उनले ईलेक्ट्रिक ईञ्जिनियरिङ रोजे । पहिलो वर्षको पढाईमा सबैलाई एउटै काम दिईन्थ्यो ।
दोस्रो वर्ष पढ्दै थिए । तथ्यांक बिभागमा अन द जब अन्तर्गत वायरिङको काम गरे । जहाँ बिजुली बिग्रियो उनी त्यहाँ जान्थे ।
२०२५ मा प्रमाण पत्र तहको पढाई पुरा गरे । नेपाल नेशनल कलेज (हालःशंकरदेव क्याम्पस) स्नातकमा भर्ना भए । दिउँसो थापाथलीमा पढ्न जान्थे । राति शंकरदेवमा । राति छ बजेदेखि ९ बजेसम्म शंकरदेवमा पढाई हुन्थ्यो । जनकनाथ प्याकुरेल र तर्कराज ओझा शिक्षक थिए ।
२६ सालमा थापाथलीबाट तीन वर्षे डिप्लोमा ईन ईलेक्ट्रोनिक्सको पढाई सके । विषय अनुसार सम्बन्धित बिभागमा पास भएको जानकारी पठाईन्थ्यो । अनि तुरुन्त जागीर मिल्थ्यो । उनी विद्युत विभाग गए । तीन दिन हाजिर लगाए । विद्युत विभाग कर्मचारी प्रशासनमा पुण्यप्रसाद निरौला शाखा अधिकृत थिए । निरौलाले उनलाई नियुक्ति पत्र दिए । सुनकोशी । त्रिशुली । हेटौडा । सिमरा र बिरगञ्ज मध्ये एक ठाउँ जानुपथ्र्यो । उनले हेटौडा रोजे ।
त्यतिबेला लोकभक्त ट्रान्सपोर्ट र हिमालयन जनता ट्रान्सपोर्टले त्रिभुवन राजपथ बस चलाउथ्यो । काठमाण्डौं–हेटौडा । हेटौडा– बिरगञ्ज । काठमाण्डौं–हेटौडा रुटको टिकट १२ रुपैया थियो । बस चढेर हेटौडा पुगे । २०२७ साल बैशाख १७ गते उनी कार्यालयमा हाजिर भए । उनको पद थियो, सुपरभाईजर । विद्युत विभागमा सुपरभाईजर पद हुन्थ्यो । त्यही पढाईको व्यक्ति भवन विभागमा ओभरसियर हुन्थ्यो ।
उनको मातहतमा सिनियर ईलेक्ट्रिसियन मातहतमा थिए । मिटर रिडिङ र टेष्टिङको काम उनले हेर्थे । त्यो बेला हेटौडा र अमलेखगञ्जमा विद्युतका ४९५ जना ग्राहक थिए । १० युनिटको चार रुपैया शुल्क तोकिएको थियो ।
उनको मासिक तलव २५० रुपैया थियो । भत्ता ६२ रुपैया ५० पैसा पाउथे । कोठा भाडा ३० रुपैया थियो । होटलमा खाना खान्थे । एक छाक सादा दालभात तरकारीको दुई रुपैया २५ पैसा पथ्र्यो ।
खाना मन परेन । स्टोप किने । आफै बनाउन थाले । जिन्दगीमा कहिल्यै खाना नपकाएका । कहिले भात काँचो । कहिले धेरै पाक्ने । विस्तारै खाना बनाउन सिके ।
विहान १० देखि ५ जागीर थियो । बीएको पढाई छोडेर आएका थिए । हेटौडामा एउटा मात्र स्कुल थियो, भुटनदेवी हाईस्कुल । सोचे, खाली किन बस्नु ? साँझ ट्युसन पढाउन थाले । प्रति विद्यार्थी शुल्क तोके, दुई रुपैया । अरुले ३० रुपैया लिन्थे । हिसाव पढाउथे । केही समयमै टोलमा उनको चर्चा हुन थाल्यो । राम्रो चामल, दाल खान पाउन थाले ।
२०२८ साल मंसिर २७ गते विहीवार युवराजको पास्नीको विदा । शनिवार सार्वजनिक विदा । शुक्रवारको क्यावी विदा लिए । तीन दिनमा फर्किने गरी काठमाण्डौं गएका उनी बीएको परीक्षामा सहभागी भए । उनकी दिदी पनि बीएको जाँच दिदै थिईन् । दिदीको नेपालीको नोट पढेर उनी पास भए । दिदी फेल । अंग्रेजीमा भने यस पटक पनि उनी फेल भए ।
त्यसपछि हेटौडा जान मन गरेनन् । सरुवा मागे । पाएनन । विद्युत कर्पोरेशन र रेडियो नेपालमा जागीरका लागि निवेदन दिए । रेडियो नेपालमा अन्तर्वार्तामा पास भए । २०२८ साल चैत पहिलो हप्ता नियुक्ति पाए । र, प्राविधिक रुपमा काम गर्न थाले । तलव थियो, २५० रुपैया । उनी सहित नेपाल रेडियोमा ८ जना प्राबिधिक नियुक्त भए ।
त्यो बेला, रेडियो नेपालमा सरोज गोपालको देउराली उकाली चढेर, बिजयपुर खोला तरेर, ज्यानलाई पर्नुप¥यो गीत खुव बज्थ्यो ।
२०२९ सालमा बीए पास भए । त्रिभुवन विश्व विद्यालयमा एमए पढ्न थाले । बिहान र साँझ रेडियो नेपालमा काम गर्थे । दिउँसो पढ्न जान्थे । बाल कार्यक्रम रेकर्ड गर्थे । उनी कन्ट्रोल रुममा थिए ।
विहानै आएर रेडियो खोल्थे । शंखध्वनीबाट रेडियो शुरु हुन्थ्यो । सिद्धान्तराम जोशी र कल्याणी रिमालले पालैपालो भन्थे,नमस्कार यो रेडियो नेपाल हो । त्यसपछि धार्मिक कार्यक्रम शुरु हुन्थ्यो । धार्मिक कार्यक्रम सात बजेसम्म चल्थ्यो । पुरुषोत्तम सापकोटा र सहयोगी चण्डिका पौड्यालले धार्मिक कार्यक्रम चलाउथिन् । लोचननिधि तिवारीले गीता प्रबचन र खेमराज केशवशरण लक्ष्य चिन्तन चलाउँथे । तिवारी गीता प्रबचन शुरु गर्दै भन्थे, भगवान कृष्णले गीतामा भएको छ, कर्म गर फलको आशा नगर ।
भक्तराज आचार्य रेडियो नेपालमा जागीरे थिए । नारायण गोपाल, बच्चु कैलाश दिउँसो गीत रेकर्ड गर्न आउथे । दीप श्रेष्ठहरु भर्खर गीत गाउन थालेका थिए ।
बासुदेव मुनालले साँझ बाल कार्यक्रम चलाउन आउथे । २०२९ सालतिर पाण्डव सुुनुवार लोकगीतको कार्यक्रम चलाउथे ।
उदित नारायण झा एसएलसी पास भएर पढ्न काठमाण्डौं आएका थिए । झा रत्नराज्यमा आईए पढ्थे । सञ्चारमन्त्री चर्तुर्भुज प्रसाद सिंहले झालाई रेडियोमा जागीर लगाए । झा भजन र राष्ट्रिय गीत गाउँथे । उनी हरीप्रसाद रिमालका नाटक रेकर्ड गर्थे । केही नाटकमा उनले बोले पनि ।
एमएको तीन वर्षे कोर्स थियो । एक वर्ष पढाई हुन्थ्यो । एक वर्ष दुर्गममा सामाजिक सेवा गर्नुपथ्र्याे । राष्ट्रिय विकास सेवाले सामाजिक सेवा अनिवार्य गरेको थियो ।
उनी सिन्धुपाल्चोकको ज्यामिरे गाउँ पुगे । ज्यामिरे जान पाँचखालबाट हिड्नु पथ्र्यो । दुई नदी तरेर दुई दिनमा उनी त्यहाँ पुगेका थिए । एक ठाउँमा माझीको काँध चढेर नदी पार गरे ।
उनले त्यहाँ स्कुलमा पढाए । सामाजिक कार्य गरे । उनीसंगै थिए, सहपाठी केशर बहादुर बिष्ट । बिष्ट छ महिनापछि फर्के । उनी त्यही पढाउन थाले । उनलाई अझै सम्झना छ, डिल र दिल बहादुर दुई विद्यार्थी फेल हुने डरले स्कुल आउन मान्थेनन । उनले सम्झाए । फकाए । र, सबैलाई स्कुल जान प्रेरित गरे । एक विद्यार्थी थिए, बीरे सार्की । सार्कीले मकै छोएको भन्दै एक विद्यार्थीले फालेको मकै टिपेर उनले आए । दलित छोएको खानेकुरा खाए जात जान्छ भन्ने रुढीवादी विश्वास तोड्न उनले कोसिस गरे । उनले गाँउको प्रोफाईल पनि बनाए ।
राष्ट्रिय विकास सेवा कार्यालयको निर्देशक थिए, डा. राजेन्द्र कुमार रोङगोङ्ग । उनको कामको मूल्यांकनका लागि राष्ट्रिय विकास सेवा कार्यालयबाट गणेश बल्लभ शर्मा, बिरेन्द्रभक्त श्रेष्ठ र राजेशराज आचार्य आएका थिए । उनीहरुले स्थानीय बासिन्दासंग सोध्थे । मूल्यांकन फाराम भर्थे ।
राष्ट्रिय विकास सेवा कार्यालयले सामाजिक कार्य गरे वाफत प्रति महिना २५० भत्ता दिन्थ्यो । उनी प्रधानको घरमा ३० रुपैया भाडा तिरेर बसेका थिए ।
एमएमा नेपाली, अर्थशास्त्र, भाषाशास्त्र र अंग्रेजी विषय पढाई हुन्थ्यो । उनको व्याँचमा २१२ जना विद्यार्थी थिए । बिष्टसंगै कपिल श्रेष्ठ, नरहरी आचार्य, जयराज आचार्य र कयोदेवी यमी पनि उनको सहपाठी थिईन् । सबै विद्यार्थी एक वर्षे अनिवार्य सामाजिक सेवाका लागि समुदायमा गएका थिए । सबैले समुदायमा काम गरे ।
सबैको मूल्यांकनको परिणाम अनुसार हरीशंकर निरौला प्रथम भए । उनी दोस्रो भए । तेस्रो हुने थिए, शम्भुप्रसाद मुडभरी । रेडियो नेपालले त्यो समाचार निकै महत्वका साथ विहान ७ बजे, अंग्रेजीमा ८ बजे, ९ बजे नेपालीमा, दिउँसो २ः३० बजे, बेलुका ७ बजे र राति ८ बजे अंग्रेजीमा प्रशारण ग¥यो । समाचार सुनेका घरबेटीलाई लागेछ, उनी अञ्चलाधीश भए ।
राष्ट्रिय विकास सेवा कार्यालय हटेपछि विद्यार्थीले एक वर्ष अनिवार्य रुपमा सामाजिक कार्य गर्नुपर्ने व्यवस्था पनि हट्यो ।
उनले २०३२ मा रेडियो नेपालको जागीर छोडे । उनी प्रज्ञा प्रतिष्ठानमा बिजुली मिस्त्री पदमा काम गर्न थाले । उनको काम थियो, नाटकका लागि स्टेजको लाईट मिलाउने ।
दार्जिलिङबाट आएका मन बहादुर मुखियाले दोलखाको चिलाङ्खामा बसेर त्यहाँको बस्तुस्थितिमा आधारित ‘अनि देउराली रुन्छ’, नाटक लेखे । मुखियाको नाटक हाउसफुल हुन्थ्यो । ३, ५, १० र १५ रुपैयाको टिकट थियो । मान्छेहरु टिकट काटेर नाटक हेर्थे । नाटकको बीचमा खुव ताली बज्थ्यो ।
कमल पोखरी घर । प्रज्ञामा हाजिर लगायो । पढ्न गयो । बेलुका शो हुन्थ्यो । पढेर फर्केपछि उनी काममा जुट्थे । प्राबिधिक पाँचौ तहको जागीर । ५१० रुपैया तलव । उनी भत्ता सहित महिनाम आठ सय भन्दा बढि रुपैया बुझ्थे । जवकी त्यो समय सेक्सन अफिसरको तलव ५५० थियो । एमएम पास भए । १० महिनामै प्रज्ञाको जागीरबाट राजिनामा दिए ।
अमेरिकाको बाटो खोल्ने युएसएआईडीको जागीर
एमए पास भएपछि उनले प्रज्ञा प्रतिष्ठानको जागीर छोडिसकेका थिए । नयाँ जागीरका लागि त्यहीबीच थुप्रै ठाउँमा आवेदन दिए । त्यसमध्ये एक थियो, युएसएआईडी । उनलाई युएसएआईडीमा बोलायो । टाईप सिकेको छ कि छैन भनेर सोध्यो । उनले छैन भनेपछि सिकेर आउन भनियो । न्यूरोडमा साथीको पसलमा एक महिना टाईपिङ सिके । र, जागीर खान गए । उनी १९७७ फेब्रअुरी २४ मा युएसएआईडीमा जोडिए ।
शुरुवाती दिनमा तालिम शाखामा काम गरे । अमेरिकाले नेपालबाट २५० जनालाई भारत सहित बिभिन्न देशमा शैक्षिक भ्रमण तथा तालिममा पठाउथ्यो । अमेरिका, अमेरिकन युनिभर्सिटी बेरुत(एयुवी), फिलिपिन्समा पठाउथ्यो ।
उनी लगनशील र ईमान्दार थिए । हरेक वर्ष उनको गे्रड थप हुदै गयो । अवार्ड पनि पाउदै गए । त्यहीबीच उनले राप्ती परियोजनाको (राप्ती आईआरडी प्रोजेक्ट) योजना तथा अनुगमन विशेषज्ञको रुपमा काम थाले ।
तीन वर्षपछि उनी युएसएआईडीका तर्फबाट परियोजना प्रमुख भए । सरकारका तर्फबाट रामेश्वर साह प्रमुख थिए । कृषि र पशुका क्षेत्रमा परियोजनाले काम गथ्र्यो । तुल्सीपुर–सल्यान, घोराही–प्युठान, चकचके –रोल्पा सडक विस्तार शुरु भयो । उनको कार्यक्षेत्र रुकुम, रोल्पा, सल्यान, दाङ र प्युठान थियो ।
शुरुमा उनको तलव ७९० रुपैया थियो । पछि बढेर चार हजार पुग्यो । १९८३ मा उनले परियोजना कार्यान्वयन कोर्सका लागि थाईल्याण्ड जाने अवसर पाए । १९८७ अप्रिलमा युनिभर्सिटी अफ पिट्सबर्गमा प्लानिङ म्यानेजमेण्टको छ महिने कोर्सका लागि अमेरिका गए । सरकारी कोटामा त्यहाँ गएका उनले शुल्क तिर्नु परेन ।
१९८९ मा खानेपानी, सिंचाई, रेसम खेतीको अध्ययनका लागि थाईल्याण्ड र ईण्डोनेशियाका गाउँहरु घुम्ने मौका पाए ।
अमेरिकी सरकारका लागि १५ वर्ष काम गरेपछि ग्रिनकार्ड मिल्थ्यो । १९९३ मा भीसाका लागि निवेदन दिए । अमेरिकामा काम मिल्ने निश्चित नभएका कारण छ महिना नेपालमै बसे । भीसाको म्याद सकियो ।
त्यहीबेला क्लार्क एटलान्टा युनिभर्सिटीले प्रजातन्त्र सुदृढिकरण परियोजनाका लागि गोरखा, दाङ र सिराहाका प्रोजेक्ट म्यानेजर खोज्यो । बायोडाटा पठाएका उनी छानिए । १९९४ मा उनी होम अफिस प्रोजेक्ट म्यानेजर भए एटलान्टा पुगे । तीन वर्षपछि परियोजना सकियो । म्याद थपिएन । १९९६ देखि न्यूयोर्क, लसएञ्जल्स, सियाटल लगायतका अमेरिकीन अध्यागमन अदालतमामा दोभाषेको काम गरे ।
२००१ मा स्टेट डिपार्टमेण्टमा जोडिएका उनी त्यसयता फ्रिलायन्सरका रुपमा दोभाषेको काम गर्दै आएका छन् ।
भर्जिनिया र वासिङट्न राज्यको सियाटलका शिक्षण संस्थाहरुले कोर्समा विदेशी भाषाहरु पनि समावेश गरेका छन् । जसमध्ये नेपाली भाषा पनि समावेश छ । त्यहाँ अमेरिकी बाहेक अन्य विदेशी भाषा जान्ने विद्यार्थीलाई क्रेडिट दिने गरिएको छ । त्यसमध्ये नेपाली भाषा पनि एक हो । उनी विद्यार्थीहरुको भाषा परीक्षण र टेष्ट डिजाईन गर्ने भूमिका पनि निर्वाह गरिरहेका छन् ।
लामो समयदेखि अध्यागमनको आश्रय (असाइलम) का केशहरुमा उनी दोभाषेको भूमिका छन् । ईराकमा हत्या गरिएका नेपालीका साथीहरुको बयानका क्रममा उनले दोभाषेको काम गरे ।
केही महिनायता रुकुमको आठवीसकोट र दाङका डेढ सयभन्दा बढि नेपालीको दोभाषे भए । नेपालीहरुको दोभाषे हुदाका अनौठा अनुभव छन्, उनीसंग । भन्छन्, खनाल, खत्री, वली, डिसी थर छ । तर उनीहरु नेपाली भाषा बोल्न आउदैन् । थारु भाषा मात्र बोल्न आउछ भन्छन् ।
दलालले उनीहरुलाई जुन भाषाको अनुवादक छैन, त्यही भाषा बोल्न लगाउने गरेको पाएका छन् । मगरले नेपाली बुझ्छु भन्दैन्, खाम मगर अनुवादक चाहियो भन्छन् ।
दोभाषेको जिम्मेवारी भाषाको अनुवाद गर्ने मात्र होईन । भन्छन्, उनीहरुको सेन्टीमेन्ट, टोन, हाउभाउ बुझ्नु पर्छ । दुई भाषा बुझ्दैमा दोभाषे हुदैन ।
पहिले जागीर, अनि विवाह
उनी २७ वर्षका थिए । २०३६ सालमा फागुन १२ गते शिक्षा दिवस । मल्लके सुन्दरकी बहिनी गंगासंग उनको मागी विवाह भयो । मल्लके सुन्दरकी बहिनी थिईन, उनकी जन्ती लिएर बांगेमुढा जादा कमलपोखरी बस्नेलाई छोरी किन दिएको होला भन्थे । कमल पोखरीमा दिउँसै स्याल कराउथे । काठमाण्डौंभित्रै कमलपोखरी दुर्गम र डरलाग्दो मानिन्थ्यो ।
परिवारले उनलाई विवाहका लागि कर गर्थे । विवाहका लागि उनका दुई शर्त थिए । पहिलो, पढाई पुरा गर्ने । दोस्रो, दरिलो जागीर खाने । दुईटै शर्त पुरा भए । उनी विवाहका लागि राजी भए ।गंगाबाट दुई सन्तान जन्मिए । एक छोरा । एक छोरी । एमबीए पढेकी छोरी शैली बजेट विश्लेषक छन् । छोरा सगुन कम्प्युटर ईञ्जिनियर ।
असफलताको चाङमाथि सफलता
सफलता त्यस्ता मान्छेहरुले प्राप्त गर्छन्, जो लक्ष्य प्रति दृढ रहन्छन्, नेपोलियनको यो भनाई उनले सधै अवलम्बन गरे । र, त उनी एउटा असफलताबाट आत्तिएनन् । न त उनी एउटा सफलताबाट मात्तिए ।
एसएलसीमा पहिलो पटक अंग्रेजीमा फेल भए । दोस्रो पटक पास । समय बदलियो । उनी पनि । अंग्रेजको देश आईपुगे । जागीर खाए, दोभाषेको । नेपालीलाई अंग्रेजीमा । अंग्रेजीलाई नेपालीमा । जुन विषयमा फेल भए । उनी त्यही भाषामा पछि पोख्त भए । असंभव केही छैन । उनी उदाहरण हुन् ।
उनी दोभाषेका रुपमा अमेरिकी सरकारको विदेश मन्त्रालय र अध्यागमन बिभागका लागि काम गर्छन । बेलाबेलामा उनी अदालतमा पनि दोभाषेको काम गर्छन् । अमेरिकी अदालतमा चलेको ईराकमा मारिएका नेपालीहरुको मुद्दामा उनी दोभाषे थिए ।
डिपार्टमेण्ट अफ स्टेटले प्रत्येक वर्ष थुप्रै नेपालीलाई आईभीएलपीमा अमेरिका ल्याउछ । उनी आईभीएलपीका लागि पनि दोभाषेका रुपमा काम गर्दै आएका छन् ।
जव डिपार्टमेण्ट अफ स्टेट, अध्यागमन, अदालतलाई नेपाली भाषाको बीज्ञको आवश्यकता पर्छ । उनी बोलाईन्छन् । उनी दोभाषेसंगै कागजातको अनुवाद पनि गर्छन् । यद्दपि उनी एक्ला नेपाली दोभाषे भने होईनन् । यो जिम्मेवारी निर्वाह गर्ने सयजना भन्दा बढि नेपाली दोभाषेहरु छन् ।
दाईभाईलाई बाडे आफ्नो हिस्सा
राणाको पालादेखि कमलपोखरीको वैद्य परिवारको मान थियो । उनी त्यही परिवारका सन्तान थिए । कमल पोखरीमा घर र खेत थियो । मनग्गे धान उब्जनी हुन्थ्यो । राजाबाट बक्सिसमा पाएको जमीन स्वयम्भु, नैकाप, बालाजु, स्वयम्भुटारमा थियो ।
उनलाई बुवाको सम्पत्तीको लोभ थिएन । पुख्र्यौली सम्पत्ती लिएनन । दाई र भाईलाई छोडिदिए । चारखाल अड्डामा गएर सम्पत्तीमा दावी नगर्ने भनेर सनाखत गरे । सम्पत्तीमा दावी गर्दैन भनेर सनाखत गर्न पनि उनीसंग चारखाल अड्डामा घुस मागेको कुरा उनी अझै बिर्सेका छैनन् ।
उनी स्वाभिमानी थिए । अरुको कमाईमा कहिल्यै लोभ गरेनन् । आफूले जे जती कमाए । त्यसैमा रमाए । हुन् पनि २०५० सालमा उनको मासिक तलव ३० हजार रुपैया थियो । त्यतिबेला नेपाल सरकारका सचिवको तलव त्यसको आधा पनि थिएन ।
उनी सरल छन् । सहयोगी । र, मनकारी पनि । एटलान्टाको जर्जियास्थित उनको घर बेरोजगार नेपालीहरुका लागि धर्मशाला जस्तै थियो ।
जतिबेला गैर आवासीय नेपाली संघ स्थापना भएको थिएन । नेप्लिज एशोसियसयन ईन साउथ ईष्ट अमेरिका (नासा) १९९९ मा जन्मिएको थियो । दक्षिण पूर्वी अमेरिकामा आपत, विपतमा परेका नेपालीहरुका लागि काम लाग्ने यही एउटा संस्था थियो । जो दशैं, तिहारमा नेपालीहरुको एक्लोपन र नियास्रो मेट्ने अभिभावक जस्तै थियो । यो संस्था स्थापना पनि विजया दशमीमा भएको थियो ।
उनी यो संस्थामा चार वर्ष सदस्य रहे । दुई कार्यकाल कोषाध्यक्ष रहे । एक एक कार्यकाल अध्यक्ष र उपाध्यक्षको भूमिकामा रहेर काम गरे । उनी नासाका सांस्कृतिक कार्यक्रमको संयोजकका रुपमा काम गर्थे । उनले २००९ र २०१७ मा निर्वाचन आयुक्तको पनि भूमिका निर्वाह गरे । २००० को जुलाईमा भएको नासाको साधारण सभाबाटै एनआरएनको अवधारणा आएको हो ।
उनी अमेरिकामा मात्र सामाजिक कार्यमा सक्रिय छैनन् । नेपालमा पनि सामाजिक र शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । उनी दुई वर्षअघि सिन्धुपाल्चोक पुगे । आफूले पढाएको ज्यामिरे माविमा ६ लाखको शुभगंगा अक्षयकोष स्थापना गरे । अक्षयकोषको व्याजबाट हाल ६ जना विद्यार्थीले छात्रवृति पाईरहेका छन् ।
म्ह पूजा सञ्चालन गर्दै आएका उनी भाषा, संस्कृति, धर्म र परम्परा जगेर्नाका लागि सक्रिय छन् । प्रवासमा आफ्नो धर्मप्रति सबैको लगाव छ । तर उनीहरुलाई हिन्दु संस्कृति र संस्कारका बारेमा जानकारी हुदैन । उनी न्वारन, पास्नी, ब्रतबन्ध विवाह, सुवर्ण कुमारसंग विवाह लगायतका संस्कार, त्यसको बिधि पनि सिकाउछन् ।
बृद्ध काया । फूलेका केश । शिथिल हुदै गएको शरीर । तर जोश उस्तै । काम गर्ने हुटहुटी उस्तै । जीवनमा उनले फुर्सद निकालेनन । फुर्सद र विदामा पनि काम गर्न छोडेनन् । निष्काम कर्म योगी । जसले फलको आशा गरेनन् । बस्, कर्म गरिरहे । धर्म र अध्यात्ममा लगाव भएका उनमा गीताको गहिरो प्रभाव छ । भगवानको कृष्णको वाणी सम्झिन्छन्, कर्म गर, फलको आशा नगर ।
उनी कर्ममा विश्वास गर्थे । न पदको घमण्ड । न पैसाको मोह । लो प्रोफाईलमा रहेर हाईप्रोफाईलको काम गरिरहे । ।
एटलान्टाको जर्जियामा उनी कमल पोखरी खोज्छन् । उनलाई त्यो मण्टेश्वरी सम्झिन्छन् । दरवार हाईस्कुलको जलेवी, स्वारी, बम्बईसन (गुँदपाक) को स्वाद जिब्रोमा उस्तै छ । फर्किन मन छ, त्यही कमल पोखरीमा । उनी नोष्टाल्जिक हुन्छन् । रमाईला र रसिक उनी रेडियो नेपालमा उधुमसंग आफैले बजाएको हाम्रो तेञ्जिङ नोर्गे चढ्यो हिमाल चुचुरो गीत सम्झिन्छन् । सम्झनामा अझै छ, सिन्धुपाल्चोकको ज्यामिरे र बीरे सार्की ।
हेर्न मन छ, अनि देउराली रुन्छ नाटक । कुटाई खाएका बाल्यकालका सम्झनाहरु पनि कति मिठा हुन के ? उनी पीडा सम्झेर मुस्कुराउछन्, भित्रभित्रै ।
कमल पोखरीको बाटो २०२४ सालमा कालोपत्रे भएको सम्झना ताजै छ । निकै धुलो उड्थ्यो, त्यो सडकमा, उनी फर्किएर अतित सुनाउछन्, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु बिमानस्थलबाट त्यही धुलाम्ये बाटोमा विस्तारै गाडी गुडाएर शितल निवास गएका थिए ।
उनकी आमा स्कुल जान पाईनन । तर छोरा पढोस भन्ने चाहन्थिन् । उनलाई पढ्न उत्प्रेरित गरिरहिन । कतिसम्म भने, उनलाई पढाउन गहनासम्म बेचिन । उनी कसरी बिर्सिउन आमाको प्रेम ? आमाको त्यही प्रेमले उनलाई तानिरहन्छ । र त, केही वर्ष विराएर पुग्छन्, काठमाण्डौं । जस्तो सुकै कठिन परिस्थितिमा उनी बिचलित हुदैनन् । १९९०, २०१८ र २०७२ को भूकम्प भोगेकी आमाबाटै उनमा बिचलित नहुने गुण सरेको हो ।
महात्मा गान्धीले भनेका छन्, सफलता तपाईको प्रयासमा निर्भर गर्छ, न कि नतिजामा ।
उनले जीवनमा एउटा असफलतापछि अर्को असफलता हात पारे । उनी दुःखी भएनन् । गलेनन । निराश भएनन । गान्धीले भने झै उनले प्रयास गर्न छोडेनन् । र त, उनी असफलताको चाङ पार गरेर सफलताको चुचुरोमा पुगे ।
तपाईको प्रतिक्रिया