एक पायलटको उडानको टर्निङ

दीर्घराज उपाध्याय ।
भनिन्छ, सपना देख्ने आँखा थुप्रै हुन्छन्, तर सपनामा उड्ने साहस पाइलटसँग मात्र हुन्छ ।
साहस भएका सबै मान्छे पायलट बन्न भने पाउदैनन् । विरलै मान्छेका आँखाले देखेका सपना पुरा हुन्छन् । सुनिल शाक्य, तिनै विरलै मान्छेमध्ये एक थिए । जसले आकाशमा उड्ने सपना मात्र देखेनन् । पुरा पनि गरे ।
राणाकालमा काठमाण्डौं असनमा कहलिएका सुन व्यवसायी थिए, सिद्धि बहादुर शाक्य । असन व्यापारको हव थियो । सिद्धि असनको रैथाने नेवार । नून पनि सहजै नपाईने त्यो समय । उनी सुनको मूल्य निर्धारण गर्थे । सिद्धीका दुई छोरा थिए । एक थिए, कर्ण ।
देहरादूनमा पढेका कर्णले केही वर्ष वन विभागमा जागीर खाए । जागीरको मोह टुट्यो । पर्यटनमा हात हाले । र १९६८ मा ठमेलमा खोले, काठमाण्डौं गेष्ट हाउस । जन्मियो, केजीएच ग्रुप ।
कर्णकी पहिलो पत्नी सानोछोरी शाक्यबाट चार सन्तान जन्मिए । १९६२ मा जन्मिएका सुनिल जेठा थिए । उनीपछि थिए, एक भाई । दुई वहिनी । पहिलो पत्नी वितेपछि कर्णले दोस्रो विहा अमेरिकन महिलासंग गरे ।
सुनिल दुई कक्षामा सेन्टी जेभियरमा भर्ना भए । एसएलसी त्यही गरे । त्रिचन्द्रबाट आईएस्सी सके । १९८१ मा पाईलट कोर्स गर्न पुगे क्यानडा । १६ महिनामा कोर्स पुरा गरे । र, नेपाल फर्किए ।
१९८३ मा उनी टे«नी पाईलटका रुपमा तत्कालिन शाही नेपाल वायु सेवा निगममा जोडिए । । केही समयपछि को–पाईलट भए । अनि पाईलट ।
त्यो समय निगमसंग ९ वटा ट्वीनटर थिए । दुई वटा एचएस ७४८(एभ्रो) । उनी नन स्टल रुटबाट बिराटनगर उडान भर्थे । गाह्रो मानिने ट्रंक रुट अन्तर्गत लुक्ला र मनाङ ।
एउटा बेस नेपालगञ्ज । अर्को बिराटनगर । नेपालगञ्जबाट सुदूर र मध्यपश्चिममा जहाज चल्थ्यो । सिमिकोट, बाजुरा, साँफेबगर । डोटी, बझाङ र महेन्द्रनगर । डोल्पा, दाङ, र रुकुमको चौर जहारी ।
काठमाण्डौंबाट धनगढीको उडान दुई घण्टाको हुन्थ्यो । ककपीटमा चढ्नु अघि बाथरुम जान्थे । अनि उडाउथे । सुदूर पश्चिमका विमानस्थलमा शौचालय थिएन ।
धर्तीबाट देखिने चन्द्रमा । त्यसैलाई हेरेर हुर्किएका सपनाहरु । चन्द्रमाको मुन्तिर भएर उड्ने जहाज । लगेर छेवैमा । चन्द्रमाको दाग हेर्ने रहर हुदो हो कि नाई ? प्रियसीसंग किशोरावास्थामा गरेका आकाशका तारा टिपेर ल्याउने बाचाहरु । पायलटले ती बाचा बिर्सिन्छन् होला की ? तारा टिप्ने रहर राखिरहदा हुन्, मन भित्र । एक पायलटसंगको संवादमा यस्ता तमाम प्रश्नहरु जन्मिएका थिए, पंक्तिकारभित्र ।
वाल्यवयमै हुर्किएको उडान भर्ने सपना । ओहो ! पखेटा बिना आकाश छुने सपना ? त्यो सपना त पायलट भए मात्र संभव थियो । भनिन्छ, पखेटा बिना आकाश छुने कला पाइलटको हो — जहाँ हरेक उडान आत्मविश्वास र अनुशासनको मिश्रण हो ।
उनका परिवारमा कोही पनि चाहदैनथे– उनी पायलट बनुन । हजुरआमा, बुवा र श्रीमती सबै बर्खिलाप थिए । उनी परे जिद्दी । उनको जिद्दीका अगाडि कसैको चलेन । पिताले पायलट कोर्सका लागि क्यानडा पठाए ।
काठमाण्डौंमा जन्मिएका उनी नेपाल हेर्न चाहन्थे । अझ दूर दराज । त्यहाँको कठिनाई । चुनौती । गरीवी । प्रकृति । सुन्दरता । संघर्ष । समस्या । संस्कृति । सबै सबै हेर्न चाहन्थे । उनको त्यो ईच्छा पुरा भयो । शुरु भयो, उनको हवाई उडान ।
उनको दिनचर्या विहान पाँच बजे शुरु हुन्थ्यो । पेपरमा साईन ग¥यो । ककपीटमा उक्लियो । पर्खिरहेका यात्रुहरुलाई उडायो । गन्तव्यमा पु¥यायो । फर्कियो । सिमिकोट र डोल्पामा १० बजेपछि तिव्र गतिमा हावा चल्थ्यो । विहानै सिमिकोट र डोल्पाको उडान भर्थे । दिउँसो जुम्ला । चार पाँच बजेसम्म उडान । त्यसपछि आराम ।
क्याप्टेन दीपक पोखरेलका शब्दमा ‘पाइलट बन्ने सपना केवल आकाशमा उड्ने होइन, जिम्मेवारी र धैर्यको यात्रा हो ।’
उनी जिम्मेवार थिए । धैर्य पनि । उनको हातमा हरेक दिन सयौं यात्रुको जीवन हुन्थ्यो । सुरक्षित रुपमा यात्रुलाई गन्तव्यमा पु¥याउनु उनको जिम्मेवारी थिए ।
मनसुनको समय । हिमाल, पहाड, तराई । धेरै परसम्म केही नदेखिने गरी लाग्ने बाक्लो हुस्सु । बादलका गुजुल्टाहरु । त्यही गुजुल्टाभित्र हराउने जहाज । जहाज कुहिरो र हुस्सुभित्र पस्थ्यो । आँखा च्यातेर पनि केही नदेखिने । एकछिन अलि आतिन्थे । उही आकाश । उही हुस्सु । उही कुहिरो । पछि सब नर्मल लाग्न थाल्यो ।
आकाशको यात्रा । मान्छेले बनाएको जहाज । बेलाबेलामा हुने हवाई दुर्घटना । त्यसमाथि साथी गुमाएको सिमिकोटको दुर्घटना । स्तब्ध भए । झस्किए । तर डराएनन् । उडान भर्न छोडेनन । सावधानी अपनाए । सतर्क भए । उडान जारी राखे ।
अनौठो अनुभूति ? डर । रोमाञ्चकता । बादल पारीको देश । रुमानी सपना । सपनाहरुको खुट्टा हुदैन् । उड्नलाई पखेटा चाहिदैन । निस्फ्रिकी उड्यो ।
ईलाम हेर्थे । बझाङ पुग्थे । तुलना गर्थे । किन बझाङ ईलाम भएन ? असमानता । विकास र सम्पन्नतामा । भूगोल उस्तै । काठमाण्डौंबाट दूरी उस्तै । सोच्थे । कहिले होला ईलामजस्तै ? उनी पायलट मात्र थिएनन् । उनीभित्र थियो एउटा नागरिक । र, त्यो नागरिकभित्र थियो, देश प्रेम । उडान भ¥यो । तलव लियो । जागीर खायो । त्यतिमात्र त होईन जिन्दगी ? उनीभित्र कर्णाली दुख्थ्यो । काली दुख्थ्यो । आँखा र मन दुबै थिए, उनीसंग । जोभित्र थियो, संवेदना, चेतना र भावना । त्योभन्दा धेरै थियो, माया ।
काठमाण्डौंबाट नेपालगञ्जको एक घण्टा २० मिनेट लामो उडान । त्यहाँबाट थप ४० लामो धनगढीको उडान । धनगढीबाट महेन्द्रनगर । महेन्द्रनगरबाट बझाङ । बझाङबाट त्यही रुटमा फर्केर काठमाण्डौं ।
प्रकृतिले दिएको सबै थियो । हिमाल । पहाड । जंगल । जडिबुटी । नदी । तर विकास थिएन । मैलो कछाड । वर्षौ ननुहाएका अनुहारहरु । जसको निश्चल र निर्दोष हेराई । काठमाण्डौं पुगेपछि सोच्थे, किन यस्तो छ, सुदूर पहाड ?
बझाङबाट काठमाण्डौं जहाज उड्थ्यो । सोझै जादैनथ्यो । नेपालगञ्ज झथ्र्यो । ईन्धन भरेर लाग्थ्यो, काठमाण्डौं । ईन्धन भर्न पनि त्यहाँ झर्नैपथ्र्यो । त्यसमाथि यात्रु पनि लाने ।
एक दशक आरएनएसी काम गरे । केही समय युएनको जहाज उडाए । झण्डै ६ हजार घण्टा आकाशमा विताए छन् । आरएनएसीमा ४५ हजार तलव थियो । युएनले एक हजार डलर दिन्थ्यो । युएनको जहाजमा खाद्यान्न लिएर सिमिकोट र डोल्पामा उड्थे ।
पिताको उर्दी भयो, ‘ईनफ टु फ्लाई । कम टु वर्क ।’
उडान स्थगित गरे । होमिए, होटल तथा पर्यटनमा । चुपचाप पछ्याए, पिताको पद्चाप ।
उनको उडानसंगै सपनाको टर्निङ प्वाईन्ट बन्यो, १९९२ ।
उनका बुवाका चार होटल थिए । काठमाण्डौै गेष्ट हाउस । क्लव हिमालय । एम्बसडेर । र, मार्कोपोलो ।
बुवा र भाईसंग उनी होटल र पर्यटनमा होमिए । २००२ माया म्यानर होटल थपियो । वाल्यकालमा हुर्किएको हात्तिसारको घरलाई बुटिक होटल बनाए । त्यसै वर्ष बुढानिलकण्ठमा सेप्टेम्बर १७ मा पार्क भिलेज सञ्चालनमा ल्याए । ४० रुमबाट शुरु गरेको पार्क भिलेजमा हाल ११४ रुम छन् । त्यसैदिन लुम्बिनीमा १७ रुमबाट शुरु गरेको होटलमा ८० रुम पु¥याए ।
त्यसपछि पोखरामा वाटर फ्रन्ट खोले । सराङकोटमा हिमालयन फ्रन्ट । केजीएच गु्रपका सबै होटलमा उनको पारिवारिक लगानी थियो । हिमालय फ्रन्ट र वाटर फ्रन्टमा साझेदारका रुपमा थपिए, दिवाकरराज कर्णिकार ।
चितवनमा मारुनी सेञ्चुरी लज थपे । दुई वर्ष अघि पाटनमा हेरिटेज होटल सञ्चालनमा ल्याए । नाम दिए, केजिएच पाटन होटल । केजीएच गु्रपको होटल खोल्ने क्रम जारी छ । धुुलिखेलको दाप्चामा दुई वर्षभित्र होटल सञ्चालनमा ल्याउने तयारी छ ।
नेपालको होटल तथा पर्यटन क्षेत्रमा केजिएच ग्रुपको ठूलो योगदान छ । होटल तथा पर्यटनका क्षेत्रमा पुरानो र प्रतिष्ठित नाम हो, केजिएच ।
केजीएच ग्रुपले रुम बेच्दैन । आतिथ्यता बेच्छ । सात होटल । छ सय रुम । सात सय कर्मचारी । त्यसै हुर्किएका होईनन्, भन्छन्, हामी हस्पिटालिटीमा सम्झौता गर्दैनौ ।
सरकारले पर्यटनको अर्थशास्त्र बुझेन् । भन्छन्, आपूर्ती र मागलाई सरकारले नियमन गर्न नसक्दा पर्यटन व्यवसाय फष्टाउन सकेन ।
होटलमा अस्वस्थ प्रतिस्पर्धा भयो । दुई सय डलरमा बेचिनु पर्ने रुम । ४० डलरमा बेचिन थाले, उनी प्रश्न गर्छन्, अनि कसरी उभो लाग्छ, पर्यटन ? कसरी बाँच्छन्, व्यवसायी ?
उनले पढेर हवाई जहाज बुझे । परेर होटल तथा पर्यटन । उनको बुझाईमा, नेपाली होटलहरु अन्तर्राष्ट्रिय ब्राण्डसंग त जोडिए । तर पर्यटनको बजार नबढ्दा सकसमा छन् ।
एउटै अन्तर्राष्ट्रिय बिमानस्थल । सिमित अन्तर्राष्ट्रिय उडान । महंगो हवाई भाडा । अनि कसरी भित्रिन्छन् पर्यटक ? कसरी चल्छन्, ठूला होटलहरु ? पर्यटक भित्र्याउन उनको फर्मुला छ, पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडान शुरु गर्ने । त्यो पनि सहुलयित भाडामा ।
झञ्झटिलो भिसा प्रकृया । सिमित अवधिको भीसा । महंगो हवाई भाडा । अनियमित उडान । पर्यटक धेरै नभित्रिनुका केही कारण केलाए । उनले समाधानको उपाय सुझ्याए, मलेशिया र श्रीलंका झै लामो समयको भिसा सहजै दिने ।
मौसमको दृष्टिकोणले काठमाण्डौं स्वर्ग हो । दिल्ली ४० डिग्री तापक्रम हुदा काठमाण्डौंमा १५ डिग्री हुन्छ । हाम्रा रुमहरु मात्र होईनन्, आकाश नै वातानुकूलित छ । तर त्यही हवाई आकाश कालो सूचिमा छ । कसरी भित्रिन्छन्, पर्यटकहरु ?
तीन दशक भएछ । सुदूर नटेकेको । तीन वर्ष अघि जेठी छोरी एमीसंगै धनगढी झरे । ओहो ! धनगढी विमानस्थल कस्तो भएछ ? फेरिएछ धनगढी । उनले खुशी व्यक्त गरे । यो त्यही विमानस्थल थियो । जहाँ भरेका थिए, दर्जनौ उडानहरु । ककपीटबाटृट देखेको त्यो सुदूर । र, यात्रुका रुपमा टेकेको त्यही भूमि । कस्तो परिवर्तन भएछ है ? उनले प्रश्न गरे ।
उनी हेलिकोप्टरमा खप्तड पुगे । आकाशबाट हेरे सुदूरको भूगोल । पहाड । नदी नाला । उनले अनुभव सुनाए, सुदूर पश्चिम त अझै भर्जिन रहेछ ।
उनलाई लाग्छ, सुदूरको हावापानी मात्र होईन । मान्छे पनि आग्र्यानिक छन् । जसमा मिसिएको छैन्, कुनै रसायन ।
नीति, नेतृत्व र भीजन नभएर धेरै चिज गुमायौ । स्वागत गर्नुपर्नेलाई लखेट्यौ, उनले आग्रह गरे, बाह्य लगानीकर्ता र पर्यटकलाई रेड कार्पेछ बिछ्याउनु पर्छ । अव ढिलो गर्न हुदैन् ।
मृगौला प्रत्यारोपण गरेर जोगाएकी पत्नीले बबिताले २०७२ मा संसार छोडिन् । उनका लागि त्यो समयको विनाशकारी भूकम्पले निम्त्याएको पीडा भन्दा ठूलो क्षति थियो ।
उनकी दुई छोरी छन् । जेठी अमृताञ्जली एमी । कान्छी माया । स्वीट्जरल्याण्डबाट टुरिज्म र हस्पिटालिटिमा बीबीए गरेकी एमीले होटल व्यवसायमा उनलाई सघाईरहेकी छन् । कान्छी छोरी मायाले अमेरिकाबाट डिजिटल मार्केटिङमा बीबीए पुरा गरिन् । उनले के गर्छिन् ? उनैलाई जिम्मा छोडिदिएका छन् ।
व्यवसायसंगै सामाजिक क्षेत्रमा उनी सक्रिय छन् । मियामोटो रिलिफमा अध्यक्ष छन् । मियामिटोले पुरातात्विक सम्पदाको संरक्षणका क्षेत्रमा काम गर्छ । उनी हनुमान ढोकाको गद्दी, आनन्दकुटी, सेन्ट जेभियरको भत्किएको बनाउदै छन् । स्वयम्भुको मर्मत संभार गरिरहेका छन् । बुद्ध धर्मसंग उनको विशेष लगाव छ । रिपोञ्छेसंग काम गरिरहेका छन् । लुम्विनीमा बुद्धको संग्रहालय बनाउने उनको धोको छ ।
विगतमा पर्यटन बीज्ञका रुपमा सरकारलाई सहयोग गरेको उनी पाटामा पूर्व अध्यक्ष हुन् ।
उनी सेन्टिजेभियरको १९७९ व्याचका विद्यार्थी हुन् । सहपाठीहरुले विदेश रोजे । व्याचीहरु कोही डाक्टर । कोही ईञ्जिनियर । कोही व्यवसायमा छन् । उनले विदेशको सपना देखेनन् । सोचनन पनि । पायलट बन्ने सपना थियो । बने । उडान भरे । एक समय आयो । उनले पायलटको सपना स्थगित गरे । र, होटल र पर्यटनमा जोडिए ।
उनी उमेरले ६३ नाघे । समकक्षीहरु आराम गर्दैछन् । उनी भने सक्रिय छन् । उनका लागि उमेर संख्या मात्र हो । र त, उनले योजना बनाउन छोडेका छैनन् ।
होटलहरुको स्तर सुधार गर्ने । र, एउटा रेष्टुरेण्ट थप्ने । यी निकटका योजना हुन् । धनगढी र जनकपुरमा होटल थप्न मन छ । यी उनका अलिपछिका योजना हुन् ।
हरेक सफल उडान एउटा अनुशासन, तयारी र निर्णय क्षमताको जीत हो । यो नियम पायलटका हकमा मात्र लागु हुदैन् । हरेक पेशामा लागु हुन्छ । उनले पेशा पो बदलेका हुन् । अनुशासन, तयारी र निर्णय क्षमता उस्तै छ । र त, उनी जहाजको उडानमा झै सफल छन्, होटल व्यवसायमा पनि ।
तपाईको प्रतिक्रिया